उदयपुर । नेपालमा पहिलो पटक बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । उदयपुरमा ४२ हजार बालबालिकालाई लक्षित गरी कोरोना भाइरस विरुद्धको मोडर्ना खोप लगाउने भएको छ ।

मंगलबार बसेको जिल्ला कोभिड १९ खोप समन्वय तथा अनुगमन समितिको संयोजक तथा प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवको अध्यक्षतामा बसेको बैठकले उदयपुरमा पुस ८–१५ गतेसम्म ४२ हजार बालबालिकालाई लक्षित गरी खोप अभियान संचालन गरिनेछ । २८ दिनको फरकमा लगाइने मोडर्ना खोप १२ देखि १७ वर्षसम्म उमेरका बालबालिकालाई लगाइने स्वास्थ्य कार्यालय उदयपुरका खोप सुपरभाइजर तथा सूचना अधिकारी चिरन्जिवी निरौलाले जानकारी दिए । उनले खोप सुरक्षित रहेको र ९४ प्रतिशत प्रभावकारिता रहेको बताए । खोपको दोस्रो डोज एक महिना पश्चात संचालन गरिने निरौलाले जानकारी दिए ।

ताप्ली गाउँपालिका र उदयपुरगढी गाउँपालिकाका विद्यालयका विद्यार्थीहरुलाई पौष ८ गतेदेखि पौष ११ गतेसम्म खोप संचालन हुने छ । ताप्ली गाउँपालिकाका विद्यालयहरुमा १ हजार पाँच सय र उदयपुरगढी गाउँपालिकाका विद्यालयहरुलाई एक हजार ८ सय बालबालिकाहरुलाई खोप लगाउने कार्यक्रम रहेको छ ।

कटारी नगरपालिकामा पौष ९ गतेदेखि पौष १२ गतेसम्म खोप लगाउने कार्यक्रम रहेको छ । कटारी नगरपालिकाका विद्यालयहरुमा ७ हजार बालबालिकाहरुलाई खोप लगाउने कार्यक्रम रहेको छ ।

बेलका र चौदण्डीगढी नगरपालिकामा पौष १० गतेदेखि पौष १३ गतेसम्म खोप संचालन हुने छ । बेलका र चौदण्डीगढी नगरपालिकालाई बराबरी ५ हजार पाँच सयका दरले बालबालिकालाई खोप लगाउने छ ।

यस्तै रौतामाई गाउँपालिकामा पनि पौष १० गतेदेखि पौष १३ गतेसम्म खोप संचालन हुने छ । रौतामाई गाउँपालिकामा एक हजार पाँच सय बालबालिकालाई खोप लगाईने छ । लिम्चुङबुङ गाउँपालिकाका एक हजार पाँच बालबालिकालाई खोप लगाईने छ । खोप ११ गतेदेखि १४ गतेसम्म संचालन हुनेछ ।

त्रियगा नगरपालिका अन्तर्गतका विद्यालयहरु र उदयपुर जिल्ला अस्पतालमा पौष १२ गते देखि पौष १५ गतेसम्म ओप संचालन हुने छ । त्रियुगा नगरपालिकाका अन्तर्गतका विद्यालयहरुमा १६ हजार बालबालिकालाई खोप लगाउने छ भने बाँकी जिल्ला अस्पतालबाट खोप लगाईने कार्यक्रम रहेको छ ।

उदयपुरमा १८ वर्षमाथिका एक लाख २० हजारले पूर्ण खोप लगाएका छन् । अहिले उदयपुरको जिल्ला अस्पतालमा सार्वजनिक विदा र आइतबार र बुधबार बाहेक हप्तामा ४ दिने कोरोना विरुद्धको भेरोसेल खोप संचालन भईरहेको स्वास्थ्य कार्यालय प्रमुख राम नरेश ठाकुरले जानकारी दिए । उनका अनुसार खोप लगाउनेको संख्या घटदै गएको जानकारी दिए । “हिजो खोप लगाउन पाउँ भन्दै नारा, जुलुस हुन्थ्यो अहिले खोप लगाउन आउनुस् भन्दा आउँदैनन्,” प्रमुख ठाकुरले भने, “कोरोना विरुद्धको खोप अभियान सफल बनाउन सबै क्षेत्र र पक्षको बीच सहकार्य, समन्वय र सहयोग आवश्यक छ ।”

तपाईको प्रतिक्रिया