गाईघाट । उदयपुर सदरमुकाम गाईघाट स्थित त्रियुगा नगर च्याउ उत्पादनमा आत्म निर्भर बन्ने दिशामा अघि बढेको छ ।
त्रियुगा नगरपालिकाले चालु आ.व.२०७८/०७९ मा च्याउ खेती प्रविधि विस्तार कार्यक्रम लागू गरेपछि च्याउ उत्पादनमा आत्मनिर्भर बन्ने तर्फ अघि बढेको हो । त्रियुगा नगरपालिका कृषि विकास शाखाले नगरका १६ वटै वडामा च्याउ खेती गर्ने कृषकहरुको पहिचान गरि च्याउको विउ वितरण गरेको छ ।
च्याउ खेती प्रविधि विस्तार कार्यक्रमबाट विनियोजित तिन लाख लागतबाट कन्य जातको ५३०० पोका च्याउको वीउ र आवश्यक च्याउ पोका बनाउने प्लाष्टिक १६ वटा वडाका ९६ जना कृषकलाई वितरण गरिएको कृषि विकास शाखा प्रमुख माधव राउतले जानकारी दिए । प्रमुख राउतका अनुसार च्याउ खेती व्यवसाय शुरु गर्ने नयाँ कृषकलाई ५० पोका र च्याउ खेती व्यवसाय पहिले देखि गर्दै आएकालाई पुराना कृषकहरुलाई १५० पोका सम्म वितरण गरिएको छ ।

‘वडा कार्यालयको सिफारिसमा वडा कार्यालयले च्याउ खेती व्यवसाय कृषक छनौट गरी पठाएका कृषकहरुलाई मात्र वितरण गरिएको छ ।’ प्रमुख राउतले भने, ‘कृषि शाखाबाट वितरण भएको च्याउको विउबाट उत्पादन भए नभएको बारेमा निरन्तर अनुगमन र कृषकहरुलाई प्राविधिक सहयोग गरिने छ ।’

निरन्तर च्याउ खेती व्यवसाय गर्ने कृषकहरुलाई आगामी बर्ष च्याउको सुकुटी बनाउने र च्याउकोे अचार बनाउन प्रविधि विस्तार गर्ने त्रियुगा नगरपालिका कृषि विकास शाखाको योजना रहेको छ ।

तपाईको प्रतिक्रिया