उदयपुर । नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन सरकारले नयाँ प्रविधिको प्रयोगलाई जोड दिनु पर्ने त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए । त्रियुगा नगरपालिका कृषि विकास शाखाद्वारा संचालित ३ दिने नगर स्तरीय कृषि तालिममा यस्तो बताएका हुन् ।
निर्वाहमुखी खेती प्रणालीलाई अब व्यवसायिक बनाउने र त्यसका लागि सरकारले नयाँ प्रविधीको प्रयोगलाई विषेश महत्व दिनु पर्ने मेयर चौधरीले बताए ।
सरकारले अहिले सहजै कम लगानीमा बढी उत्पादन गर्न सहयोग पुग्ने खालका औजारहरु कृषकलाई उपलब्ध गराउन सके कृषि पेशाबाट समृद्ध नेपाल बन्न सक्ने बताए । परम्परागत कृषि उत्पादनलाई प्रविधिमैत्री बनाउन सके उत्पादन पनि अधिक लिन सकिने बताए ।
मेयर चौधरी जेटिए स्टरका प्राविधिक वडा वडामा पुर्याउन सके कृषकले अधिक फाइदा लिन सकिने बताए ।

तालिमका सहभागीहरुलाई प्रमुख अतिथि चौधरीको हातबाट प्रमाण पत्र प्रदान गरेको थियो । कार्यक्रमको विशेष अतिथिमा प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम ढकाल लगायतले पनि तालिममा सहभागीहरुलाई बधाई तथा शुभकामना दिँदै तालिममा सिकेको कुरालाई व्यवहारमा उतार्न अनुरोध गरेका थिए ।
कृषक तथा कृषि उद्यमीहरुले अनुदानको लोभमा कृषि कर्ममा लाग्ने नक्कली किसान आफैलाई घात हुने भन्दै त्यसो नगर्न तालिममा सहभागी मिरा कार्कीले बताईन् । सरकारले वितरण गर्ने अनुदान उत्पादनमा आधारित नहुँदा दुरुपयोग बढेको उनले बताईन् ।

किसानका लागि कृषि ऋण झन्झटिलो हुनुका साथै कृषि बीमा किसानलाई नभई बिमा कम्पनीलाई नाफा मात्र रहेको शान्ता दाहालले बताईन् । कृषकको वर्गीकरण गर्नुपर्ने, परिचयपत्र वितरण गर्न र व्यवहारिक तालिम गराउनु पर्ने र उत्पादनमा आधारित अनुदान तथा ऋण सहजीकरण गर्नु पर्ने उनको भनाई छ ।

तालिममा बेमोसमी तरकारी खेती प्रविधि बारे तालिम हुनुको साथै नर्सरी व्यवस्थापनको, बाली विरुवामा लाग्ने किरा व्यवस्थापन, माटो व्यवस्थापन, एकिकृत शत्रुजीव व्यवस्थापन, पोष्ट हार्भेष्ट लगायतको विषयमा तालिम संचालन भएको कृषि विकास शाखा प्रमुख माधव राउतले जानकारी दिए ।

खाद्यतत्व व्यवस्थापन, च्याउ खेती प्रविधि, कृषि बजार तथा बजारीकरण, बाली विमा र बचत तथा ऋण परिचालन सम्बन्धि तालिम दिइएको प्रमुख राउतले जानकारी दिए ।

त्रियुगा नगरपालिका भित्रका प्रत्येक वडाबाट ३÷३ जनाको दरले कृषक समूह, कृषि सहकारी, कृषि उद्यमीलाई तालिम दिईने प्रमुख राउतले बताए । उनका अनुसार दुई चरणमा तालिमको आयोजना गरिएको छ । पहिलो चरणमा २८ जना सहभागी रहेको छ भने बाँकीलाई दोस्रो चरणमा सहभागी गराईने उनले बताए ।

तालिमको अध्यक्षता त्रियुगा नगरपालिका १३ की वडाध्यक्ष तथा कृषि संयोजक पशुपति चौधरी रहेको थियो । उनले तालिमलाई निरन्तरता दिनु पर्ने बताईन् । उनले कृषि क्षेत्रमा गरेको कामको प्रचार प्रासर गर्नु पर्ने र प्राविधिक रुपमा अगाडी बढ्न अनुरोध गरेकी थिईन् ।

तपाईको प्रतिक्रिया