उदयपुरगढी । नेपाल राष्ट्र बैकको प्रत्येक पालिकामा बाणिज्य बैकका शाखा खोल्ने निर्देशन दिएको चार बर्ष पछि उदयपुरगढी गाउपालिकामा सानिमा बैकले शाखा संचालनमा ल्याएको छ ।
उदयपुरगढी गाउँपालिकाको केन्द्र उदयपुरगढीमा आज एक समारोह विच गाउँपालिकाका अध्यक्ष मानवहादुर केप्छाकी मगरले शाखाको औपचारिक उद्घाटन गर्नु भयो ।
राष्ट्र बैकले प्रत्येक पालिकामा बाणिज्य बैकको शाखा खोल्नै पर्ने वाध्यकारी निर्देशन दिएपनि सानिमा बैकले राष्ट्र बैकको निर्देशनलाई पालना गरेको थिएन ।
बैकको शाखा उद्घाटन गर्दै पालिका अध्यक्ष मगरले ठूलो मेहनतपछि पालिकाको केन्द्रमा शाखा ल्याउन सफल भएकोले अब तिहार लगतै पालिकाको कारोबार सुरु गरिने जानकारी दिनुभयो ।
‘अब सामाजिक सुरक्षा भत्ता र गाँउपालिकाको कारोबारहरु सबै सानिमा बैकबाट नै गरिने छ ।’ अध्यक्ष मगरले भने ‘उदयपुरगढी गाउँपालिकाको केन्द्र भन्दा ९ किलोमिटर टाढा नेपालटार बजारमा शाखा खोले पछि पालिकालाई कारोबार गर्न समस्या भएको थियो ।’
अब सानिमा बैकले पालिकाको केन्द्रमा शाखा संचालनमा ल्याएपछि पालिकाको सबै कारोबार यहीबाट हुने अध्यक्षको भनाई छ । उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सानु कुमारी राउत, वडाध्यक्षहरु, कर्मचारी, शिक्षक तथा स्थानीयबासीको उपस्थित रहेको थियो ।
कोष लेखा तथा नियन्त्रण कार्यालय गाईघाट सँग समन्वय गरेर चाढै नै पालिकाले सानिमा बैकबाट संचालन गर्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव सुवेदीले बताउनु भयो ।
प्रमुख प्रशासकीय अधिकृत सुवेदीका अनुसार बैक नहुँदा पालिकाका आर्थिक कारोबार गर्न समस्या थियो तर अब पालिकाकै केन्द्र मै शाखा भएपछि सहज हुनेछ ।