उदयपुर । धान काट्ने तयारी गर्दै गर्दा एक्कासी आएको वर्षात र हावाले उदयपुरमा २१ करोड ५३ लाख मूल्य बराबरको धानबाली नष्ट भएको छ । सरकारले धानबालीको तथ्याङ्क संकलन गर्न दिएको निर्देशन बमोजिम संकलित तथ्याङ्क अनुसार उदयपुरमा २१ करोड ५३ लाख मूल्य बराबरको धान नष्ट भएको छ ।
कृषि ज्ञान केन्द्र उदयपुरमा वडा वडाबाट संकलित तथ्याङ्क अनुसार १ हजार ३ सय ३८ मेट्रिक टन धान पूर्ण क्षति भएको छ । जसको सरकारले तोकेको मूल्य बमोजिम ३ करोड ६१ लाख २६ हजार मूल्य बराबरको क्षति भएको छ ।
तथ्याङ्क अनुसार ३ हजार २ सय १२ मेट्रिक टन धान मध्यम क्षति भएको छ । सरकारले तोकेको प्रचलित मूल्य अनुसार ८ करोड ६७ लाखको क्षति भएको छ ।
यस्तै उदयपुरमा ४० प्रतिशत मध्ये २५ प्रतिशत धान आंशिक क्षति भएको छ । ९ करोड २५ लाख बराबरको आंशिक क्षति भएको तथ्याङ्कले देखाउँछ । उदयपुरमा यस वर्ष १३ हजार ३ सय ८० हेक्टर क्षेत्रफलमा धान लगाएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख महेश चौधरीले जानकारी दिए । उनका अनुसार पूर्ण, मध्यम वा आंशिक गरी ५ हजार ३ सय ६५ हेक्टर क्षेत्रफलको धानमा क्षति पुगेको छ ।
यस्तै तथ्याङ्क अनुसार २८ लाख बराबरको कोदो र ३० हजार बराबर फांपरमा पनि क्षति पुगेको छ । पाक्नै लागेको कोदो र फापरलाई हावाले लडाएको कृषि ज्ञान केन्द्र उदयपुरका निमित्त प्रमुख चौधरीले जानकारी दिए ।
यस्तै ३३ हेक्टर क्षेत्रफलको तरकारी बाली पनि हावा पानीले नष्ट गरेको तथ्याङ्कले देखाउँछ ।
कटारी नगरपालिकामा धान, कोदो, फापर र तरकारी गरी ७ सय ७३ हेक्टर, त्रियुगा नगरपालिकामा ८ सय ९८ हेक्टर, बेलका नगरपालिकामा धान र तरकारी गरी १ हजार ७ सय २४ हेक्टर, चौदण्डीगढी नगरपालिकामा १ हजार पाँच सय हेक्टर क्षेत्रफलको धानमा क्षति गरेको छ ।
लिम्चुङबुङ गाउँपालिकामा ६० हेक्टर, ताप्ली गाउँपालिकामा ४० हेक्टर, उदयपुरगढी गाउँपालिकमा ३ सय हेक्टर र रौतामाई गाउँपालिकामा धान, कोदो र जुनेलो गरी २ सय ६२ हेक्टरमा क्षति पुर्याएको छ ।