उदयपुर । उदयपुरको ऐतिहासिक तथा महत्वपूर्ण पर्यटकीय क्षेत्र चौदण्डीगढी घुम्न आउने पर्यटकको संख्या बढेको छ । कोरोनाको कहरले सुनसान जस्तै बनेको चौदण्डीगढी दरबार क्षेत्र अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ।

ऐतिहासिक चौदण्डीगढी दरबार क्षेत्रमा पनि दसैँको टिकाको दिनदेखि दैनिक ५०० भन्दाबढीको संख्यामा पर्यटक घुम्न आउन थालेको चौदण्डी पर्यटन विकास समितिका संयोजक रोहित तामाङले बताए ।

मौसम सफा रहेको र अहिले चौदण्डी क्षेत्रबाट चारैतिरको रमाइलो दृश्य अवलोकन गर्न सकिने भएका कारण धेरै पर्यटक आउन थालेको संयोजक तामाङले बताए । चौदण्डी क्षेत्रमा आउने पर्यटक अधिकांश सुनसरी, मोरङ, झापा, इलाम, सप्तरी क्षेत्रबाट आउने गरेको छ ।

चौदण्डीगढी दरबारबाट करिव १ किलोमिटर पश्चिम रहेको भ्युटावरबाट एकै पटकमा ४० जनासम्मले दक्षिणतिर सुनसरी, मोरङ, झापा, सप्तरी, सप्तकोशी नदीको अवलोकन गर्नुको साथै भारतको विहार उत्तर प्रदेश र पश्चिम बंगालका विभिन्न स्थानसहित उत्तरतर्फ कञ्चनजंघा, मकालु, सगरमाथा सहित थुप्रै हिमशृङ्खलाको दृष्यावलोकन गर्न सजिलै सकिने भएकाले दसैँका समयमा धेरै पर्यटक आउने गरेको छ ।

चौदण्डीगढी समुद्री सतहदेखि अठार सय मिटरको उचाइमा अवस्थित छ । ३ सय वर्षअघि सेन वंशीय राजाले राज्य गरेको भग्नावशेषका रुपमा रहेको दरबार क्षेत्रको संरक्षणको लागि नगरपालिकाको सक्दो सहयोग रहेको चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राईले बताए । ऐतिहासिक तथा पर्यटनको हिसावले चौदण्डीगढी क्षेत्र अत्यन्तै सुन्दर, रमनिय स्थान भएकोले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सके स्थानीयको जीवन स्तर उकास्न सहयोग पुग्ने नगर प्रमुख राईले बताए ।

सेन वंशीय राजाको एतिहासिक दरबारलाई संरक्षण गर्न नगरपालिकाको मात्रै नभएर प्रदेश सरकार र नेपाल सरकारको पनि उत्तिकै दायित्व भएकोले गुरुयोजना बनाएर बजेट विनियोजन गर्नु पर्ने मेयर राईले बताए ।

त्यस क्षेत्रमा विद्युत्, खानेपानी, यातायातका सुविधाको व्यवस्था गरिएपछि र लामो समयसम्म कोरोनाको कहरमा सुधार हुँदै गएका बेला दसैँका समयमा अहिले यी क्षेत्रमा घुम्न आउने पर्यटकको संख्यामा वृद्धि हुन थालेको हो ।

यस ठाउँले तनाव कम गर्ने, मनोरन्जन लिन मनोरम दृश्यावलाकोन भएको ठाउँ रहेको भ्युटार घुम्न आई पुगेकी मौसम राईले बताईन् । उनले भनिन्, ‘आफुहरु दुई वटा अटो रिक्सा रिजर्भ गरेर ६ जना आएको छौं, वास्तवमा घुम्न लायक ठाउँ रहेकोले छ ।’

तपाईको प्रतिक्रिया