उदयपुर । उदयपुरको एक स्वास्थ्य चौकीद्वारा संचालित एम्बुलेन्सको भाडामा विरामीलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । उदयपुरको विकट लिम्चुङबुङ गाउँपालिका वडा नं. १ स्वास्थ्य चौकी बाँसबोटेबाट संचालित एम्बुलेन्सले प्रसुती गराउने विरामी बोक्दा विरामीको आफ्न्तलाई ५० प्रतिशत छुट दिइने व्यवस्था गरिएको छ ।
लिम्चुङबुङ गाउँपालिकाको प्रत्येक वडाका गर्भवती महिलालाई स्वास्थ्य संस्थाले सुत्केरी गराउनको लागि रेफर गरेमा स्वास्थ्य चौकीको रिफर कागज वापत लिम्चुङबुङ गाउँपालिकाले भाडाको ५० प्रतिशत व्यहोर्ने सार्वजनिक सेवा प्रवाह सुशासन तथा क्षमता विकास समितिका संयोजक गुरुमणी कुमाइँले जानकारी दिए । उनका अनुसार कार्यपालिकाको बैठक बसेर नै सुत्केरी गराउन स्वास्थ्य चौकी आएका महिलालाई जटिल्ताले सुत्केरी हुन नसके बाहिर रेफर गरेमा एम्बुलेन्स भाडा वापतको ५० प्रतिशत गाउँपालिकाले व्यहोर्ने निर्णय भएको कुमाइँले जानकारी दिए ।
आमा र बच्चाको जीवन रक्षाको लागि एम्बुलेन्स भाडामा स्वास्थ्य चौकीको रेफरमा गाउँपालिकाले ५० प्रतिशत छुट दिइने विषयमा सर्वपक्षीय छलफल भएको र चाँडै नै गाउँ कार्यपालिकाले निर्णय गरेर कार्यान्वयनमा ल्याउने गाउँपालिका अध्यक्ष मेजर राईले बताए । मातृशिशु मृत्यु दरलाई कम गर्न यस्तो निर्णय गर्नु परेको अध्यक्ष राईले जानकारी दिए ।
यस्तै स्वास्थ्य चौकीबाट संचालित एम्बुलेन्सले हेलचेक्राई गरेमा गाउँपालिकामा सम्पर्क गर्न पनि आम जनतालाई अनुरोध गरिएको छ ।









