उदयपुर । उदयपुरको कटारी नगरपालिका १३ घर भई हाल मिनभवनस्थित निजामती अस्पतालमा ब्लड क्यान्सर उपचाररत बाल कुमारी जोगीको उपचारका लागि कटारी नगरपालिकाले १ लाख सहयोग गर्ने निर्णय गरेको छ ।गत सोमबार उनको उपचारको बारेमा बुझ्न कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ सहित कटारी– २ वडा अध्यक्ष प्रेम बहादुर थापा क्षेत्रीले अस्पताल पुगेर बिरामीको अवस्था बारे जानकारी लिएका थिए । विहिबार बसेको नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको वडा नं २ का अध्यक्ष प्रेम बहादुर थापाले बताएका हुन ।

केही दिन अघि बिरामीका श्रीमान् खेमबहादुर जोगीले सहयोगको लागि सरकार र सर्वसाधारणसंग अपिल गरेको समाचार प्रकाशन भएपछि उनलाई कतार च्यारीटीको सहयोगमा हिल नेपालले उपलब्ध गराएको ९३ हजार तीन सय रकम सामाजिक अभियान्ता तथा मिडियाकर्मी बुद्धि कटेल मार्फत अस्पतालमै गएर हस्तान्तरण गरिएको थियो ।

स्थानिय समाजसेवी भिम जोशीले उनको उपचारमा सहयोगको लागी विभिन्न ब्यक्ति तथा संघ संस्था हरुसँग समन्वय गरिरहेका छन् ।
साउन १ गते देखि उपचार गराइरहेकी २८ वर्षीया जोगीको उपचार राम्रो हुँदै गएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । तर अस्पतालमा लामो समय राखेर उपचार गर्नु पर्ने रोग भएको र आफन्तसँग ऋण गरेर ल्याएको पैसा सकिएकोले अब उपचार कसरी गर्ने भन्ने दुविधामा आफू रहेको खेम बहादुरले बताएका थिए ।

असारको अन्तिम साता बाल कुमारीको दाँतबाट रगत आयो भनेपछि काठमाडौं बोलाई बसुन्धराको कान्तिपुर डेन्टल कलेजमा उपचार गराउन लगेका थिए । शरीरमा सेतो रक्तकोषको पनि कमि देखिए पछि क्यान्सर पनि हुनसक्छ भन्दै निजामती अस्पतालमा पठाउदा २८ वर्षीया जोगीलाई ब्लक क्यान्सर देखिएको थियो ।

थप सहयोग गर्न चाहनेले आफूलाई ९८६३८७९९३४ नम्बरमा फोन गरेर वा माछापुच्छ्रे बैकको खाता नं ०४४०९३३७७९७०१३५२ खेम बहादुर जोगीका नाममा बैकमा जम्मा गरेर पनि सहयोग गर्न सकिने छ ।

तपाईको प्रतिक्रिया