उदयपुर । उदयपुरमा कोरोना संक्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएकोा छ । त्रियुगा नगरपालिका २ खैजनपुरका २२ दिनको अन्तरालमा एकै परिवारको तीन जनाको मृत्यु भएको हो ।
दुई पुरुष र एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ दिन अघि वर्ष ४३ को रमण पोखरेल, ११ दिन अघि हेमराज पोखरेल र शुक्रबार राति १०ः३० बजे देवी पोखरेलको मृत्यु भएको छ । मृत्यु हुनेमा दाजुभाई तथा भाउजु रहेका छन् ।

रमण पोखरेल हेमराजको काकाको छोरा हुन । रमण र हेमराजको भाउजु देवी पोखरेल हुन । उनीहरुको परिवारमा ११ दिन अघि २० जनामा एन्टिजेन कोरोना परिक्षण गर्दा ६ जनामा संक्रमण देखिएको थियो । यस्तै देवीको श्रीमान, छोरा, छोरीमा पनि कोरोना संक्रमण देखिएको छ । श्रीमानको अवस्था गम्भिर रहेकोले थप उपचारको लागि बाहिर लैजाने तयारी रहेको त्रियुगा नगरपालिका २ का वडाध्यक्ष घमानसिंह खत्रीले जनाएको छ ।त्रियुगा नगरपालिका २ का वडाध्यक्ष खत्रीले एक सूचना जारी गर्दै खैजनपुरमा गाउँमा एकै परिवारमा तीन जनाको मृत्युसँगै गाउँमा अधिकांशमा रुघा खोकी, ज्वरो आउने विरामीको संख्या वृद्धि भएपछि तीन वटा टोल विकासलाई सिल गरिएको जनाएको छ । उनका अनुसार मृतक परिवारमा अरुलाई समेत कोभिड १९ संक्रमण देखिएको र छिमेकीमा समेत विरामीहरु देखिएकाले विरामीहरुको चेक ँजाच तथा पि.सि.आर.रिर्पोटमा नेगेटिभ नआउनजेल बरगाछीटोल, नमुना थारु, नयाँ बस्ती र वविया टोल विकास सिमा क्षेत्र र गाईघाट फत्तेपुर सडकदेखि दक्षिण तर्फको गाउँ सिल गरिएको छ ।

वडाध्यक्षका अनुसार सिल गरिएको क्षेत्रमा चिया पसल, होटल तथा मदिरा पसल, सैलुन पुर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ । सिल गरिएको क्षेत्रमा आवत जावतमा रोक, भिडभाड हुनमा रोक, भोज भत्तेर, पाटी गर्न बन्द पनि रोक लगाएको छ । गाउँ सिल श्रावण १६ गते राति १२ बजेदेखि श्रावण २४ गते राति १२ बजेसम्मलाई गरिएको छ ।

वडाध्यक्ष खत्रीका अनुसार खाद्यान्न पसल विहान ७ बजेदेखि ९ बजेसम्म र बेलका ५ बजेदेखि ७ सम्म खोल्न पाउने छन भने खाद्यान्न सामग्री, कृषि तथा पशुपक्षी जन्य दुग्ध जन्य ओसारपसार गर्न सवारी साधन संचालनमा कुनै रोक लगाईएको छैन । यस्तै अतिआवश्यक एम्बुलेन्स, बारुणयन्त्र, औषधिको गाडी संचालनमा कुनै रोक लगाएको छैन् ।

उदयपुरमा शनिबार २४ घण्टामा ७ महिला सहित २४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित हुनेमा बेलका नगरपालिकामा ७ जना, चौदण्डीगढी नगरपालिकामा ३ जना र त्रियुगा नगरपालिकामा १४ जनाको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । पछिल्लो चरण उदयपुरमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ११४ महिला सहित २४६ जना रहेको छ । एक हजार दुई सय १३ जना महिला सहित दुई हजार ६ सय २८ जना कोरोनामुक्त भएका छन भने १६ महिला सहित ५२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया