कटारी । उदयपुरको कटारी नगरपालिकाले कृषकहरुलाई ७५ प्रतिशत अनुदानमा कृषि औजार वितरण गरिएको छ । नगर भित्रका कृषि समूह, कृषि सहकारी तथा कृषि फर्म गरी ४२ वटा मिनी टिलर वितरण गरेको हो । बुधबार एक कार्यक्रमका वीच नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले कृषकहरुलाई मिनी टिलर हस्तान्तरण गरेको हो ।
नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को कृषि यान्त्रिकीकरण कार्यक्रम अन्र्तगत ७५ प्रतिशत अनुदानमा नगरपालिकाले कृषकहरुलाई मिनी टिलर वितरण गरेको हो ।

आधुनिक प्रविधिको प्रयोगले कृषि उत्पादन बढ्नुका साथै कृषकलाई छिटो र सहज समेत हुने भएकाले कृषकहरु प्रविधि तर्फ आकर्षित हुन मिनी टिलर वितरण गरेको मेयर श्रेष्ठले बताए ।मिनी टिलर वितरण गर्दै मेयर श्रेष्ठले कृषकहरुलाई आत्मनिर्भर बनाउँदै अघि बढ्ने बताए । ‘विकासका कामसँगै कृषिलाई पहिलो प्राथमिकतामा राखेर नगर अघि बढेको छ ।’ श्रेष्ठले भने –‘निकट भविष्यमै नगरको पहिचानका लागि कृषकहरुलाई कृषक परिचय पत्र वितरण गर्ने तयारी गरिरहेका छौं ।’

नगरपालिकाका कृषि विकास समितिका संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष रामबहादुर पोखरेलले आगामी दिनमा पनि कृषिलाई आधुनिकीकरण गर्ने काममा नगरपालिका लागि पर्ने बताए । नगरपालिकाका कृषि शाखा प्रमुख सोनु मिश्रका अनुसार मिनी टिलरमा नगरपालिकाले ७५ प्रतिशत अनुदान व्यहोर्दा कृषकले २५ प्रतिशत लगानीमा मिनी टिलर पाएका हुन् ।

मिनी टिलर पाएपछि कृषकहरुले कृषि कार्यलाई थप सहज रुपमा अघि बढाउन सहयोग पुग्ने भन्दै खुसी व्यक्त गरे । नगरपालिकाले ९ एच पीको २७ थान र ७ एच पीको १५ थान मिनी टिलर वितरण गरेको नगरको कृषि शाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया