उदयपुर । चौदण्डीगढी नगरपालिका ६ बेल्टार, सातधारेमा रहेको जिल्लाकै एक मात्र कोभिड १९ अस्पताल “उदयपुर कोभिड १९ अस्पताल” बेल्टारलाई सेभ द चिल्ड्रेन उदयपुरले स्वास्थ्य सामग्री सहयोग गरेको छ । सोमबार एक कार्यक्रमका बिच चौदण्डीगढीका मेयर प्रमुख खगेन्द्र राई, उपमेयर रिताकुमारी चौधरी, नगर स्वास्थ्य शाखा प्रमुखको उपस्थितिमा सेभ द चिल्ड्रेनले १८ लाख भन्दा बढी मूल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।
सेभ द चिल्ड्रेन उदयपुरका कार्यक्रम संयोजक दिपक बुढाथोकी र सेभ द चिल्ड्रेनको सहयोगी संस्था वाल विकास समाज उदयपुरकी उपाध्यक्ष सितामाया तामाङले स्वास्थ्य सामग्री उदयपुर कोभिड १९ अस्पताललाई हस्तान्तरण गरेका हुन् ।

अक्सिजन कन्सेन्ट्रेटर ३ थान, अटोमेटिक आईसियु बेड २ सेट, अस्पताल बेड (म्याट्रेस, पिलो सहित) ४ सेट, मनिटर २ थान, इमर्जेन्सी ट्रली १ थान, पिपिई सेट १५० थान, पल्सअक्सिमिटर १० थान, एन्टिजेन्ट किट ४ सय थान, ट्रसबिन २० लिटरको २ थान, डिस्पोसेबल ब्याग ५० थान, फेसशिल्ड १०० थान, ५०० मिमि लिटरको सेनिटाइजर ५० बोतल, मेडिकल मास्क ५०० थान, रबर बुट ५ जोर र डेडबड्डि ब्याग १० थान हस्तान्तरण गरेको थियो ।

उक्त सामाग्री कुल १८ लाख ६४ हजार ७ सय रुपैया बराबरको रहेको सेभ द चिल्ड्रेन उदयपुरका कार्यक्रम संयोजक दिपक बुढाथोकीले जानकारी दिए । उनका अनुसार संस्थाले उदयपुर कोभिड अस्पताल बेल्टार बाहेक अन्य स्वास्थ्य संस्थालाई समेत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको बताए । संस्थाले जिल्ला स्थित जिल्ला अस्पताल बोक्से, कटारी नगरपालिका, जिल्ला प्रहरी कार्यालय उदयपुर, शसस्त्र प्रहरी बल ५ नं. गण हेडक्वाटर उदयपुर लगायतलाई गरि कुल ४० लाख ६४ हजार ७ सय ८२ रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

सामाग्री हस्तान्तरण पश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै मेयर खगेन्द्र राईले विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ का बिरामीको जिल्लाभित्रै सहज उपचार गराउने कोशीस सहित उदयपुर कोभिड १९ अस्पातलको स्थापना गरिएको र यो अस्पातल यहाँहरु जस्तै संघसंस्थाको सहयोगमा संचालन गर्ने लक्ष्य र हिम्मतका साथ स्थापना गरिएको बताए ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा ईलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख छे फिन्जो भोटे, शसस्त्र प्रहरी बेस क्याम्प बेल्टारका प्रमुख लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया