उदयपुर । सरकारले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्ने व्यवस्था मिलाएपछि बृद्धबृद्धाले भने सास्ती बेहोर्नु परेको छ । कोरोना कहरका विचमा पनि त्रियुगा नगरपालिकाका बुद्धबुद्धाले सासु भत्ता लिन आउँदा कोरोना भाइरसको जोखिम बढेको छ । वृद्धवृद्धा आइतबार बैंक खुल्नु एक घण्टा अघिदेखि सासु भत्ता लिनका लागि लाइनमा बसेका थिए ।

सदरमुकाम गाईघाटमा रहेको एनसिसी बैंकमा कोरोना भाइरसको करहको विचमा भत्ता लिनको लागि बिहानैदेखि बृद्धबृद्धा, एकल महिला, अपाङ्ग र दलित बालबालिकाहरुले लाईन लागेर भत्ता लिएका थिए । विना माक्स, विना सामाजिक दुरी, न सेनिटाइजरका विच उनीहरु सास्ती सहदै घण्टौ लाईनमा बसेर भत्ता लिन बाध्य छन । नगरपालिकाले बैंक मार्फत भत्ता वितरण सुरु गरेपनि कोरोना कहरमा बैंकका कर्मचारीहरु सम्बन्धित वडा वडामा गएर भत्ता दिनु पर्ने व्यवस्था हुनु पर्ने ८० वर्षिय इन्द्रकुमारी श्रेष्ठ बताउँछिन् । कोरोना भाइरसले बढी बुढाबुढीमा असर गर्छ जान्दा जन्दै पनि भत्ता लिन सास्ती खेप्नु परेको उनीहरुको गुनासो छ । बृद्ध अवस्थामा सकि नसकि भत्ता लिन लाइनमा वस्नु पर्ने बाध्यता रहेको उनीहरुले बताए ।
एनसिसी बैंकमा भत्ताको लागि लाईनमा बसेका ७४ वर्षि पृथ्वी बहादुर कार्कीका अनुसार यसरी लाइनमा दुई घण्टा अगाडी बसाउनु भन्दा बैंककै प्रतिनिधि आएर वडा वडामा भत्ता वितरण गरेकामा हामी जस्ता हिड्न डुल गर्न नसक्नेले दुःख पाउँदैनौं थियौं ।
यस्तै भत्ता लिन लाइनमा बसेका ७२ वर्षिय मनमाया विश्वकर्मालाई बैंक नै खोज्न आधा दिन लागेको बताईन् । उनले भनिन्, “आफु पढे लेखेको छैन, बैंक नै खोज्न आधा दिन लाग्यो ।” जेष्ठ नागरिकहरु भत्ता लिन बैंकसम्म आउँदासमेत अरुको सहयोगमा आउनु परेको उनीहरुले गुनासो गरे ।
नगरपालिकाबाट भत्ता लिनेको संख्या ७ हजार ३ सय ६४ जना रहेका छन । जसमा जेष्ठ नागरिक ७० वर्षमाथि ३ हजार ५ सय ३९ जना, जेष्ठ नागरिक दलित ४ सय ९१ जना, जेष्ठ नागरिक एकल महिला ८ सय पाँच जना, विधवा १ हजार ९३ जना, पूर्ण अपाङ्ग तथा लोपोन्मुख २ सय ४५ जना, आंशिक अपाङ्ग ३ सय ४२ जना र दलित बालबालिका ८ सय ४९ जना रहेका छन् ।
यस विषयमा बैंक र स्थानीय तह विच समन्वय गरेर यस कोरोना माहामारीमा वडा वडा नै भत्ता वितरण गरेको भए राम्रो हुने स्थानीय पञ्जाधिकारी खड्ग खड्काले बताए ।
नगरपालिकामा अन्तिम चौमासिकमा ६ करोड ७२ लाख ६८ हजार ५७ रुपैया निकासा गरेको ७८ लाख ५० हजार रकम निकासा गरेको स्थानीय पञ्जाधिकारी खड्काले बताए । उनका अनुसार जेष्ठ नागरिकको लागि ४ करोड १८ लाख ४७ हजार ७ सय १३ रुपैया, जेष्ठ नागरिक दलितको लागि ३८ लाख ७४ हजार, जेष्ठ नागरिक एकल महिलाको लागि ६४ लाख २२ हजार, विधुवा महिलाको लागि ८७ लाख १८ हजार निकासा गरेको छ ।
यस्तै पूर्ण अपाङ्ग तथा लोपोन्मुखको लागि २९ लाख २२ हजार, आंशिक अपाङ्गको लागि २१ लाख ६८ हजार, दलित बालबालिकाहरुका लागि १३ लाख १५ हजार ३४४ रुपैया नगरपालिकाले निकासा दिइएको छ ।
नगरपालिका मार्फत कृषि विकास वंैक, लक्ष्मी बैंक, एनआईसी एसिया बैंक, सनराइज बैंक, सिभिल बैंक, एनसिसी बैंक, ग्लोबल बैंक, माछापुच्छे बैंक मार्फत भत्ता वितरण भईरहेको छ ।









