उदयपुरगढी / पालिकाको सबै वडामा विजुली वत्ति बाल्न शुरु गरेर उज्यालो पालिकाको पहिचानबनाएको उदयपुरगढी गाउँपालिकाले अब प्रविधि मैत्री पालिकाको समेत पहिचान बनाउने भएको छ । उदयपुर जिल्लाको पुरानो सदरमुकाम समेत रहेको उदयपुरगढी गाउँपालिकाले कृषि तथा पशु पंछीको तथ्याङ्क व्यवस्थापन प्रणाली सुरु गरेसगै प्रविधि मैत्री पालिकाको पहिचान राख्न सफल भएको हो ।

पालिकाको कृषि तथा पशुपंक्षी शाखाले वेवसाईट निर्माण गरी विद्युतिय माध्यमबाट पालिकाका सम्पूर्ण सूचनाहरु राख्न सुरु गरेको छ ।
www.udaypurgadhikrisibibhag.com मा लग ईन गरी गाउँपालिकाको कृषि सम्बन्धि सबै गतिविधी र सूचनाहरु हेर्न पाईने उदयपुरगढी गाउँपालिकाका कृषि शाखा प्रमुख पारस फुँयलले बताए ।

‘हाम्रा आईटी प्राविधिकहरुले अहिले काम गरिरहनु भएको छ, यो वेवसाईट निर्माण भईसकेपछि कृषकहरुलाई धेरै फाईदा हुन्छ ।’ किसानहरुले कुन बाली कसरी लगाउने देखि लिएर मल विउ विजन लगायतको सम्पूर्ण जानकारी पाईने भन्दै शाखा प्रमुख फुँयलले भने ‘यसमा सेवा प्रदायकहरुको विवरण देखि वाली पात्रो, मल क्यालकुलेटर, मौसमको जानकारी समेत वेवसाईट र मोवाईलमा हेर्न पाईन्छ ।’
पालिकालाई प्रविधि मैत्री बनाउने गाउँपालिकाको नीति अनुसार किसानहरुलाई सुविधा पुगोस भनेर सूचना प्रणाली विकास गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद सुवेदीले बताए । ‘उदयपुरगढी गाउँपालिकाको ९९ प्रतिसत स्थानीयहरु कृषि पेशामा संलग्न भएकाले पनि कृषकहरुलाई सूचनामा पहुँच पुगोस भनेर तथ्याङ्क व्यवस्थापन प्रणाली विकास गरिएको हो ।’ प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने ‘तथ्याङ्क व्यवस्थापन प्रणालीको सबै भन्दा राम्रो पक्ष भनेको बाली पात्रो र सेवा प्रदायकको विवरण हो ।’

बाली पात्रोमा कुन बाली कुन समयमा कसरी लगाउने भनेर हेर्न सकिन्छ भने सेवा प्रदायकहरुमा पालिका भित्रका दुग्ध डेरीहरुको विवरण, एग्रोभेटको विवरण, सहकारीको विवरण, दुग्ध चिस्यान केन्द्र, फार्म, मासु पसल, तरकारी पसल, नर्सरी, गोदामको एकीकृत अभिलेख समेत उपलब्ध हुने पालिकाले जनाएको छ । भने बाली पात्रोमा खाद्य बाली, तरकारी बाली, दाल, मसला जन्य बालीहरु कसरी कुन समयमा लगाउने बारे कृषकले घरमै बसेर थाहा पाउन सक्नेछन ।

अहिले परिक्षणको रुपमा संचालनमा आएकाले असार मसान्त सम्म आईटीले काम सम्पन्न गर्ने गरी सम्झौता भएकाले साउन पछि मात्र पूर्ण रुपमा वेवसाईट संचालनमा ल्याईने प्राविधिक सहायक पारस फुँयलले बताए । हाल परिक्षणकै क्रममा कृषि शाखा तर्फको मात्र तथ्याङ्क राखिएको र पछि पशु शाखाको समेत विवरण हेर्न मिल्ने वेवसाईट बनाईने छ ।

तपाईको प्रतिक्रिया