उदयपुर । केही दिनदेखि पानी परेसँगै उदयपुर जिल्लाका किसानहरुलाई धानको (बीउ) व्याड राख्न चटारो भएको छ । गत वर्षको तुलनामा यस वर्ष समयमै पानी पर्न थालेपछि यस जिल्लाका किसानहरुलाई धानको बीउ राख्न भ्याई नभ्याई भएको हो ।
असार लाग्दै रोपाई शुरु हुने उदयपुरमा धानको बीउ राख्न अकाशबाट पानी परेपछि किसानहरुले अहिलेको समय फलदायी रहेको बताएका छन् । गत बर्षहरुमा धानको बीउ राख्न असार कुर्नुपथ्र्यो अहिले जेठमै बीउ राख्न पाईने भैइयो त्रियुगा नगरपालिका–३ का किसान शंकर लाल चौधरीले भने – ‘समयमा बीउ राख्दा असारमै रोपाई सक्छौं ’ । असारमा खडेरी परेपनि बीउ तयार हुने भएकाले भूमिगत पानीले रोपाई गर्न सकिने उनले बताए ।
धेरै जसो खडेरी पर्नेे जेठ महिनामा यो बर्ष भने पलिो दोस्रो साताको देखि नै पानी पर्न शुरु गरेको हो । कतिखेर पानी पर्ला र धानको ब्याड राख्न पाईयला भनेर बसेका कृषकहरुले पानी परेसँगै धानको ब्याड धमाधम राख्न शुरु गरेका छन् ।
यस जिल्लामा त्रियुगा नगर क्षेत्र, जोगिदह, हडिया, बेल्टार, सुन्दरपुर, तपेश्वरी, रामपुरठोक्सिला, पंञ्चावती, कटारी, त्रिवेणी, रिस्कु, हर्देनी, मंयाखु, रौता, सोरुङछबिसे, तावाश्री, लिम्पाटार, तथा सुनकोशी किनारा चुरे र महाभारतको फेदीमाहरुमा वर्षे धान लगाउने गरिएको छ । पाहाडी क्षेत्रमा पनि धमाधम धानको व्याड राख्ने काम भईरहेको छ ।
बिउ राखेकोे करिव २० ÷२५ दिनमा धान रोप्नको लागी तयार हुने भएकाले सिचाइ सुविधा नभएका स्थानहरुमा पनि अब लगत्तै राखिएको ब्याड रोप्नका लागि उचित हुने कृषि ज्ञान केन्द्र उदयपुरले जानएको छ ।
यस्तै नगरपालिका तथा गाउँपालिकाहरुले उन्नत जातको अनुदानको धानको विउ वितरण गर्न शुरु गरिएको छ । बिहिबारदेखि पहिलो चरणमा चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ बाट बीउ बितरण शुरु गरिएको हो । अन्य वडामा एक हप्ता भित्र झण्डै चौध मेट्रिकटन बीउ बितरण गरी सक्ने नगरपालिकाका कृषि प्राविधिक प्रमुख नीतु खनालले बताइन् ।
गत वर्ष पनि वर्षायाम सँगै धानको बीउ राख्ने बेलामा नगरपालिकाले उन्नत जातको धानको बीउ बितरण गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका मेयर खगेन्द्र राईले धानबाली नगरको प्रमुख बाली भएकाले धान उत्पादनमा प्रोत्साहन गर्न र नगरपालिकालाई धान उत्पादनमा आत्मनिर्भर बनाउन बीउ बितरण गरेको बताए ।
गत वर्ष कृषकलाई उन्नत जातको धानको बीउ बितरण गर्दा नगरमा बीस प्रतिशत भन्दा बढी धान उत्पादन बढेको र धानको उत्पादन बढाउन यस पटक पनि नगरपालिकाले बीउको लागि छुट्टै बजेट व्यावस्थापन गरेको नगरप्रमुख राईले बताए । बीउमा २५ प्रतिशत कृषक र ७५ प्रतिशत नगरपालिकाको योगदान रेहको छ ।
उदयपुरमा करिव १५ हजार हेक्टर क्षेत्रफलमा धान लगाउने गरेको तथ्याङ्क रहेको छ ।









