उदयपुर । उदयपुरका स्थानीय तहले आफैले कोरोना विरुद्धको खोप खरिद गर्ने भएको छ । उदयपुर विकास बोर्डका अध्यक्ष तथा त्रियुगा नगरपालिकाका अध्यक्ष बलदेव चौधरीको अध्यक्षतामा भर्चुअल माध्यमबाट बसेको बैठकले उक्त निर्णय गरेको हो । आगामी आर्थिक वर्षको पूर्वाधार विकास तर्फको बजेट मार्फत कोरोना खोप व्यवस्थापन गर्न विनियोजन गर्ने निर्णय भएको उदयपुर विकास बोर्डका सदस्य तथा चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले जानकारी दिए । उनका अनुसार जिल्लाका चार नगरपालिका र चार गाउँपालिका गरी करिव तीन लाख जनसंख्या मध्ये दुई लाखलाई कोरोना विरुद्धको खोप लगाउनको लागि विनियोजित बजेट स्वीकृतको लागि संघीउ मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने बताए । सरकारको प्राथमिकतामा रहेका बाहेक १८ वर्ष माथिकालाई आफैले खोप गरेर गरेर लगाउने निर्णय भएको मेयर राईले जानकारी दिए ।

यस्तै बेलका नगरपालिकामा अक्सिजन प्लान्ट राख्न प्रत्येक नगरपालिकाबाट १०÷१० लाख र प्रत्येक गाउँपालिकाबाट पाँच÷पाँच लाख विनियोजन गर्ने निर्णय भएको सदस्य राईले जानकारी दिए । अक्सिजन प्लान्ट चालु आर्थिक वर्षको बजेट मार्फत निर्माण गर्ने निर्णय भएको सदस्य राईले जानकारी दिए । गत वर्ष उदयपुर कोभिड अस्पताल निर्माणको लागि जिल्लाका प्रत्येक नगरपालिका र गाउँपालिकाले सहयोग गरेका थिए ।

यस्तै उदयपुर कोभिड अस्पताल बेल्टारका लागि पिसिआर मेसिन खरिद गर्न सेभ द चिल्ड्रन उदयपुरलाई र सवै पालिकालाई सहयोग गर्न अनुरोध गर्ने निर्णय पनि गरेको छ । यस्तै सप्तकोशी नगरपालिकाका उपमेयर आशा देवी चौधरी कोरोना भाइरसको कारण मृत्यु भएकोले शोक प्रस्ताव पनि पारित गरेको छ ।

तपाईको प्रतिक्रिया