उदयपुर । उदयपुरका अधिकांश विद्यालयले मनपरी शुल्क लिएको भन्दै अनेरास्ववियू उदयपुरले सम्बन्धित निकायहरुमा ज्ञापनपत्र बुझाएको छ । विद्यालयले मनपरी शुल्क लिएर बिद्यार्थी अविभावकबाट ढाँड भाच्ने गरी शुल्क लिनुको साथै लकडाउनको समयमा शैक्षिक संस्था बन्द भएको बेलाको समेत शुल्क लिएकोमा अनेरास्ववियू उदयपुरले गम्भिर आपत्ति जनाएको छ । अनेरास्ववियू उदयपुरले जिल्ला प्रशासन कार्यालय, त्रियुगा नगरपालिका, जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइ, त्रियुगा नगर शिक्षा शाखामा ज्ञापनपत्र बुझाउँदै अभिभावकबाट हुँदै नभएको शिर्षक तथा अतिरिक्त शुल्क उठाएको भन्दै ज्ञापन पत्र बुझाएका छन् ।
विश्वव्यापी कोरोना भाइरसले गर्दा शैक्षिक तथा आर्थिक गतिविधि ठप्प भएको अवस्था अर्थात ८ महिनासम्म शैक्षिक संस्थाहरु पूर्ण रुपमा बन्द भएको अवस्थाको पनि केही निजी तथा सामुदायिक विद्यालय, कलेजहरुले शुल्क उठाईरहेको प्रति अनेरास्ववियु उदयपुरका संयोजक विमल कार्कीले आपति जनाएको छ ।
‘संविधानले माध्यामिक तह सम्मको शिक्षा निःशुल्क भनेपनि विद्यालयले विभिन्न बाहानामा बिद्यार्थीहरुबाट शुल्क लिएकाले यो विद्यार्थी अविभावक ठग्ने काम सम्बन्धित निकायले नरोके हाम्रो संगठन कडा संघर्षमा उत्रिने संयोजक कार्कीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
यस्तै त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले लकडाउनमा अभिभावकबाट शुल्क लिए नलिएको बुझ्ने र लिएको भए फिर्ता गर्न पहल गर्ने बताए ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा अनेरास्ववियू उदयपुरका जिल्ला कार्यालय सदस्य, जिल्ला सचिवायल सदस्य तथा जिल्ला समिती सदस्यहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया