उदयपुर । मलिथम थारु समाज उदयपुरको प्रस्तुती ‘जय हो माघी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सगरमाथा मिडिया एण्ड इन्टरटेनमेन्टको अफिसियल युटुव च्यानलबाट शनिबार एक औपचारिक कार्यक्रम विच सार्वजनिक भएको हो ।
गीतको शब्द र संगित भगवानी चौधरी (भिभास) को रहेको छ । थारु समुदायकी चर्चित गायिका अनु चौधरी, गायकहरु आरसी चौधरी, भिभास चौधरी, विजय चौधरीको स्वर रहेको छ । जनक चौधरीको निर्देशन, सुमन तामाङ र कोशी भिजन टिमको छायांकन रहेको छ ।
म्युजिक भिडियोको मुख्य भूमिकामा कलाकार सविता चौधरी, सवी चौधरी, सम्झना लेखी, आरसी चौधरी, उदय नारायण चौधरी, डिएन खोहरीया थारु, सीमा चौधरी, भिभास चौधरी र विजय चौधरीको अभिनय हेर्न सकिन्छ । म्युजिक भिडियो उदयपुर जिल्लाकै पहिलो थारु सँस्कृतिक गीत रहेको निर्माण पक्षले जनाएको छ ।
म्युजिक भिडियोमा थारु समुदायको महान मौलिक पर्व माघी अर्थात तिलासंक्राइतलाई लक्षित गरी तयार पारिएको यस भिडियोमा थारु समुदायको कला, संस्कृति, रितिरिवाज झल्किने सामग्रीहरु र थारु परिकारहरु देखाइएको छ ।
गीतको विमल चौधरी र रामनारायण खोन्मा थारुको सहायक नृत्य निर्देशन रहेको यस भिडियोलाई हेमन तामाङले सम्पादन गरेको छ ।

म्युजिक भिडियो सार्वजनिकिकरण कार्यक्रमका प्रमुख अतिथि प्रदेश न.१ प्रदेश सांसद सुनिता चौधरीले यो भिडियोले थारुको मौलिक परमपरा संरक्षणमा अहम भूमिका खेल्ने बताईन । उदयपुरमा छायांकन भएको गीतको शब्द, संगीत राम्रो हुनुको साथै भिडियो धेरै राम्रो भएको र अगामी दिनहरुमा कला, संस्कृति झल्कने खाल्को भिडियोहरु निर्माण हुनेमा विश्वस्त रहेको बताईन् ।
कार्यक्रममा वेलका नगरपालिकाका उपमेयर राजकुमारी चौधरी, थारु कल्याणकारिणी सभाका जिल्ला सभापति शिवकान्त चौधरी, त्रियुगा नगरपालिका वडा नम्वर १३ का अध्यक्ष पशुपती चौधरी, थाकस सांस्कृति संयोजक जनक लेखी, थाकस प्रदेश पार्षद विनोद चौधरी, नेपाल थारु पत्रकार संघ उदयपुरका अध्यक्ष सुखिलाल चौधरी लगायतले गीतको प्रशंसासँगै शुभकामना दिएका थिए । संजय चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रम संचारकर्मी डिएन चौधरीले संचालन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया