उदयपुर । नोवेल कोरोना भाइरसको प्रत्यक्ष असर उदयपुरका अदुवा किसानलाई परेको छ । भारत लगायत तेस्रो मुलुक निर्यात हुने उदयपुरका अदुवा सिमा नाका खुल्ला नहुँदा भारतीय व्यपारी अदुवा खरिद गर्न नपाएछि कृषकको अदुवा त्यसै थन्किएर बसेको छ ।
सरकारले कोरोना संक्रमण रोकथाम गर्न ११ चैत मध्यरातिदेखि देशव्यापी रूपमा गरेको लकडाउनले सिल भएको नेपाल–भारत सीमाना अझै खुल्ला भएको छैन । सिमा बन्दले भारतीय तर्फ अदुवा ढुवानी हुन नसक्दा उदयपुरका कृषक चिन्तित बनेका छन् ।

यस वर्ष पाकेको अदुवा खरिद गर्न गाँउमा कुनै पनि व्यापारी नपुगेपछि कृषको अदुवा बिक्रि हुने कुनै संकेत देखिएको छैन । उदयपुरको अदुवाले गाईघाट, कटारी, सिरहा, विराटनगर लगायत देशका विभिन्न सहर हुँदै भारतीय बजारबाट मलेसिया, भुटान, बंगालादेशसम्म पुग्ने गरेको अदुवा व्यापारी अजुर्न राउतले बताए । नाका बन्दले यस वर्ष अदुवा निकासी गर्न नपाएको गुनासो गरे ।
जिल्लाको उत्तरी पहाडी कटारी नगरपालिका १० देखि १४ नम्बर वडामा पर्ने हर्देनी, मायाँखु, लेखानी, सिरिसे लगायतका क्षेत्रमा व्यवसायिक अदुवा खेती गर्ने कृषक चिन्तित बनेका हुन । हर्देनीका कृषक लोकमणी कटुवालका अनुसार कोरोना भाइरसको कारण कुनै पनि अदुवा व्यापारी गाँउ नआएकोले अदुवा सुक्न थालेको बताए । विगतका वर्षमा कात्तिकको तेस्रो चौथो हप्तादेखि गाँउमा अदुवा व्यापारी आउने गरेका थिए ।
‘कोरोना भाइरसको कारण अदुवा व्यापारी नआएपछि अदुवाको मुल्यमा समेत गिरावट आएको छ ।’ कटुवालले भने, ‘सिमा बन्दले भारतीय व्यापारीहरु आउने अवस्था छैन, गएको वर्षभन्दा यस वर्ष अति न्युन मूल्यमा अदुवा बिक्रि हुने गरेको छ ।’ गत वर्ष प्रतिकिलो दुई सय रुपैँयासम्ममा विक्री भएको अदुवा यस वर्ष जिल्लाका अधिकांश कृषकको खेतबारीमा बढीमा ४०÷५० रुपैया प्रति किलोमा किनबेच भईरहेको छ ।
अर्का कृषक तेजबहादुर कार्कीका अनुसार पाकेको अदुवा बढी समयसम्म राख्नाले सुक्नाले वजनमा कमी आउछन् । त्यसैले तयारी अवस्थाका रहेका अदुवा चाँडै नै विक्री गर्न सकिएन भने मूल्य आउँदैन् । गत वर्ष भारत सरकारले नेपाली अदुवा तेश्र्रो मुलुम बंगलादेश, भुटान लगायत देशमा विक्रीमा प्रतिबन्द लगाउँदा मूल्यमा समेत गिरावट आएको उनले बताए ।
यस्तै नेपाल अदुवा उत्पादन तथा व्यपारी संघको सदस्य गणेश पोखरेलका अनुसार नेपाल–भारत नाका वैधानिक रूपमा बन्द र भारतीय किसानको आन्दोलनले नेपाल–भारतको कृषि व्यापार–व्यवसाय बन्द रहेको छ । उनले भने, ‘व्यवसायीहरु पनि किसानको अदुवा प्रति मन ८ सय रुपैया अर्थात २० रुपैया किलो मागेपछि कृषकहरुले बिक्री गर्न मानिरहेको छैन् ।’ उनका अनुसार किसानको लागत भन्दा बिक्री मूल्य कम भएपछि अदुवा विक्री भएको छैन् । अर्को कारण नेपालमा अदुवा बेसारलाई कोरोना भाइरसको उपचारको सहायक रुपमा लिएपनि विदेशमा त्यस्तो नभएपछि अन्तर्राष्ट्रिय बजारमा अदुवाको माग भएको छैन् । अन्तर्राष्ट्रिय बजारमा अदुवा निर्यात नभएपछि किसानहरु मार्कामा परेको छ ।
जिल्लामा ५ सय ५० हेक्टर क्षेत्रफल बढीमा १० हजार ६ सय १५ मेट्रिकटन बढी अदुवा उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख प्रकाश विश्वकर्माले जानकारी दिए । जिल्लाको कटारी, त्रियुगा र चौदण्डीगढी नगरपालिकाको पहाडी भेगको साथै रौतामाई गाउँपालिकामा अदुवाको व्यवसायिक खेती हुँदै आएको छ । अदुवा विक्री नभएको खासै जानकारी नआएपनि गानो कुहिने रोगले अदुवा उत्पादनमा प्रभाव परेको बताए ।

तपाईको प्रतिक्रिया