उदयपुर । चौदण्डीगढी नगरपालिका ६ नं. वडा सिर्वानी स्थित कालिका माध्यामिक विद्यालयमा कानुन विषयको पढाई शुरु भएको छ । यसै वर्षबाट कक्षा ११ मा कानूनको अध्यापन गराईने भएको छ । शुक्रबार चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत सहित कानून विषयको कार्यक्रमको उद्घाटन गरेको छ ।
शिक्षा र स्वास्थ्य क्षेत्रलाई उत्तिकै प्राथमिक्तामा राखेर अगाडी बढेको नगरपालिकाले सोही वडाको बेल्टारमा स्थापित ज्योति माध्यामिक विद्यालयबाट विज्ञान संकाय र कालिका माविमा कानुन विषयगरी दुई वटा प्रमुख विषयहरुलाई सञ्चालनको लागि यसै शैक्षिक शत्रबाट सम्बन्धन दिएर शुरु गरिएको छ ।
कोरोना संक्रमण पश्चात सावधानी अपनाउँदै विद्यालयहरु तह गतरुपमा सञ्चालन हुन थालेपछि विद्यालयहरुले सरोकारवालाहरुसंग विद्यालय सञ्चालनको बारे विविध छलफल र अन्तरक्रियाहरु गर्दै आएका छन् ।
प्रमुख राईले भने, “म आपैm पनि कानुन विषयमा रुचि राख्दै आएको र कानुन विषय पढ्न मन लागेको भएपनि समय परिस्थितीले पढ्न पाईएन, तर आज हाम्रो सपना तपाईहरुको पुस्तालाई पुरा हुने गरी तपाईहरुको इच्छा अनुसारको विषयहरु विद्यालयमा सञ्चालन गरेका छौं ।”
त्यस्तै वडाध्यक्ष कमलध्वज राईले आफ्नो वडामा रहेको दुई वट सम्पत्ति भनेको विद्यालयहरु नै भएकोले दिनरात यसैको प्रगति र उन्नतिको लागि लागिपरेको बताए । विद्यालयको प्रगति हुनु भनेको आम वडावासीको बालबच्चा शिक्षित हुनु हो र बालबालिका शिक्षित हुनु भनेको समाज शिक्षित हुने हो र एवं प्रकारले समग्रह राष्ट्रको समृद्धि हुने बताए । अबदेखि कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई निःशुल्क डटकपी उपलब्ध गराउने पनि वडाध्यक्ष राईले बताए ।
प्रध्यानाध्यापक राजबहादुर मगरको स्वागत मनतव्य, सविना थापोको सञ्चालनमा अशोक कार्कीको सभापतित्वमा कार्यत्रम समापन भएको थियो ।

तपाईको प्रतिक्रिया