भारतमा प्रमुख प्रतिपक्षी कंग्रेस आईका नेता राहुल गान्धीलाई बिहीबार दिउँसो उत्तर प्रदेश प्रहरीले धक्कामुक्का गर्‍यो।

हाथरस सामुहिक बलात्कारकी पीडित युवतीको परिवार भेट्न जान लागेका राहुल र उनकी बहिनी तथा कंग्रेसकी युपी नेतृ प्रियंका गान्धीको टोलीलाई प्रहरीले रोकेको थियो।

प्रहरीले गाडी रोकेपछि उनीहरू पैदलै हिँड्न थालेपछि प्रहरीले रोक्न खोजेको थियो। सोही क्रममा राहुलमाथि हातपात भएको हो। प्रहरीले धकेल्दा राहुल भुइँमा लडेका थिए। उनलाई प्रहरीले अहिले हिरासतमा लिएको छ।

हाथरसमा के भएको थियो?

उत्तर प्रदेशको हाथरसमा गत सेप्टेम्बर १४ मा २० वर्षीया दलित युवती  घाँस काट्न गएकी थिइन्। धेरै समयसम्म उनी नफर्किएपछि आमाले खोजी गरेकी थिइन्। उनले छोरीलाई बोलाइन्, बेस्सरी चिच्याइन्।

एकछिन पछि बारीमा उनी विक्षिप्त अवस्थामा भेटिइन्। उनको शरीरमा लुगा थिएन। मुखबाट रगत आइरहेको थियो। चोटले उनी चल्न सक्ने अवस्थामा थिइनन्। उनको गुप्ताङ्गबाट पनि रगत बगिरहेको थियो।

बोल्न नसक्ने अवस्थामा रहेकी युवतीलाई स्थानीय अस्पतालमा भर्ना गरियो। त्यहाँ उपचार सम्भव नभएपछि अलिगढ मेडिकल कलेजमा रेफर गरियो। भेन्टिलेटरमा राखेर उपचार थालियो।

आफन्तले प्रहरीलाई खबर गरे। प्रहरीले सुरूमा बलात्कारको उजुरी दर्ता गर्न मानेन, हत्या गर्न प्रयास गरेको मुद्दामा अनुसन्धान थाल्यो।

सात दिनपछि युवती बोल्न सक्ने अवस्थामा पुगिन्। उनले अस्पतालको बेडबाटै आफूलाई सामुहिक बलात्कार भएको बयान दिइन्। त्यसपछि प्रहरीले मुद्दामा बलात्कार थप्यो। तर १० दिनसम्म कसैलाई पक्राउ गरेन।

ती युवतीको चार ठाउँमा हड्डी भाँचिएको थियो। मस्तिष्कमा पनि चोट देखिएको थियो। अलिगढ मेडिकल कलेजमा उनको उपचार सम्भव नभएपछि  दिल्लीको सफदरगन्ज अस्पतालमा भर्ना गरियो।

अस्पताल ल्याएको दुई दिन नबित्दै मंगलबार बिहान उनको मृत्यु भयो।

उनको मृत्युपछि प्रहरीले गरेको व्यवहारले अहिले भारतमा आक्रोशको तरंग फैलाएको छ।

भारतीय सञ्चारमाध्यम एनडिटिभीका अनुसार ती युवतीको शव मंगलबार राति दिल्लीबाट एम्बुलेन्समा राखेर उनको गाउँमा ल्याइएको थियो।

तर प्रहरीले शव घरमा पुर्‍याउन दिएन। सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडिओमा मृतक युवतीकी आमा छोरीको अनुहार अन्तिम पटक हेर्न पाउनु पर्ने भन्दै एम्बुलेन्सको बोनटमा घोप्टे परेर रोइरहेकी छन्।

परिवारका सदस्यले राति अन्तिम संस्कार नगर्न आग्रह गर्दा पनि प्रहरीले नमानेको आरोप लागेको छ।

‘म आफ्ना दाजुभाइ र  परिवारसँग सल्लाह गरेर छोरीको हिन्दु परम्पराअनुसार अन्तिम संस्कार गर्न चाहन्थें तर प्रहरीले दिएनन्,’ मृतकका बुवाले एनडिटिभीलाई भनेका छन्,‘मध्यरातमा लिएर जलाइदिए।’

मिडिया रिपोर्टका अनुसार  मंगलबार राति  दुई बजेतिर उनको शव जलाइएको थियो। हाथरस प्रहरीले भने अन्तिम संस्कारमा उनका आफन्त आएको दाबी गरेको थियो तर आमाबुवा र दाजुभाइ आएका थिए भनेर एकिन भन्न सकेको छैन।

बलात्कारमा परेकी युवतीबारे सुरूमा राम्ररी अनुसन्धान नगरेको र  मृत्युपछि पनि मध्य रातमा शव जलाइदिएपछि प्रहरीले घटनालाई दबाउन खोजेको भन्दै रोष प्रकट भइरहेको छ।

कंग्रेस अध्यक्ष सोनिया गान्धीले मरेपछि पनि ती युवतीमाथि अन्याय भएको बताएकी छन्।

‘मरेपछि पनि मान्छेको एउटा गरिमा हुन्छ।  हाम्रो हिन्दु धर्मले त्यसबारेमा भन्छ। तर ती युवतीलाई अनाथको जसरी प्रहरीको बलका आडका जलाइयो,’ सोनियाले भनेकी छन्।

परिवारको सहमति बिना शव जलाइएकोमा राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोगले पनि उत्तर प्रदेश प्रहरीलाई  नोटिस पठाएको छ।  मानव अधिकार आयोगले यसबारे चार हप्ताभित्र जवाफ दिन भनेको छ।

घटनापछि बलिउडका कलाकारले पनि युवतीमाथि अन्याय भएको भन्दै ट्वीट गरेका छन्। उत्तर प्रदेशका पूर्वमुख्यमन्त्रीहरू  मायावती र अखिलेश यादवले पनि घटनाको विरोध गरेका छन्।

यसैबीच घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू चारै जना उच्च जातका भएको सञ्चारमाध्यमले जनाएका छन्।

तपाईको प्रतिक्रिया