उदयपुर । नेपालमा कोरोना संक्रमणको दर बढ्दै गर्दा उदयपुरको कटारी नगरपालिकाले मंगलबारदेखि जोर विजोर प्रणाली लागू गरेर सवारी साधन चल्न दिने भएको छ । कटारी नगरपालिकामा सोमबार बसेको बैठकले नगरपालिकाभित्र साना सवारी साधन तथा निजी सवारी साधन जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बरको सवारी साधन संचालन गर्ने निर्णय गरेको छ । 
कटारी नगरपालिका ४ का श्रीमान श्रीमतिमा कोरोना पोजिटिभ देखिएपछि नगरपालिकामा लकडाउन गरेको थियो । श्रीमान् श्रीमतिको कन्ट्राक्ट ट्रेसिङमा आएकाहरुको रिपोर्ट नेगेटिभ आएपछि कोरोनाको जोखिम कायमै रहेको भन्दै सवारी साधनलाई जोर विजोर प्रणाली अनुसार चल्न दिने निर्णय गरेको छ ।
कटारी नगरपालिकाबाट एम्बुलेन्स र खाद्यन्न बोक्ने मालबाहक ट्रक बाहेक अन्य सवारी साधन अर्को जिल्लामा जान आउन समेत रोक लगाउने निर्णय गरिएको मेयर ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । मेयर श्रेष्ठले भने, ‘कोही विरामीले एम्बुलेन्स नपाएको खण्डमा निजी सवारी साधन प्रयोग गर्नु पर्ने भएमा वडाको सिफारिस अनिवार्य गरिएको छ, बाहिरबाट आउने एम्बुलेन्स र खाद्यन्न बोकेका सवारी साधन बाहेक अन्यलाई पूर्णरुपमा रोक लगाउने निर्णय भएको छ ।’
त्यस्तैगरी अत्यावश्यक काम बाहेक जोर विजोर प्रणालीलाई उल्लङ्घन गरेर सवारी साधन चलाउनेमाथि अनुगमन समितिले नियमानुसार कारबाही गरिने निर्णय गरेको छ ।
यस्तै प्रत्येक व्यवसायीले सामाजिक दुरी कायम हुने गरी पसल अगाडी गोलो घेरा बनाई ग्राहकलाई सोको प्रयोग गर्न लगाउने, सावुन पानी वा सेनिटाइजर प्रयोग गर्न लगाउने निर्णय गरेको छ ।
यस्तै भदौं २ गतेबाट प्रत्येक वडा कार्यालय तथा नगरपालिकाबाट प्रदान गरिने नियमित सेवाहरु संचालन गर्ने तथा नगर भित्रका सेवा प्रदायक कार्यालयबाट संचालन हुने सेवाहरु समेत न्यूनतम सुरक्षा मापदण्ड अपनाई सुचारु गर्ने कटारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश आचार्यले जानकारी दिए ।









