उदयपुर / उदयपुरमा व्यवसायिक रुपमा उत्पादित सुन्तलाले ब्राण्ड पाउँदा कृषक हर्षित भएका छन् । ताप्ली गाँउपालिका १ ओख्लेका व्यवसायिक सुन्तला खेती गर्ने इन्द्रबहादुर शाही यस पटक दंग परे । कारण सानो छ, आफ्ैले उत्पादन गरेको सुन्तला ग्रेडिङ र प्याकिङ गरी पहिलो पटक बजार पठाउँदा शाही दंग परेका हुन ।
‘किसानले उत्पादन गरेको फलफुल पनि ब्राण्ड बन्दो रहेछ,’ उनले भने, ‘अव मेरो ग्रेडिङ सहित लेवलिङ गर्दा कसैले पनि गुणस्तरमा खोट नलगाउने भएको छ ।’ वार्षिक रुपमा एक लाखभन्दा बढी कमाउँदै आएका शाहीले आगमी वर्षमा वार्षिक ६ देखि ८ लाख लिनेगरी खेती सुरु गरेका छन।
‘पहिला कोदो र मकै फल्ने पाखो बारमाी अहिले सुन्तलाको बेर्ना हुर्कदै गएपछि आम्दामीको स्रोतको कमी नहुने भएको छ,’ उनले भने, ‘ग्रेडिङ गरेको सुन्तलाले भोलिका दिनमा बजार पो नपाउने हो की भन्ने चिन्ता छ ।’ यस वर्षदेखि उदयपुरमा उत्पादन हुने सुन्तलालाई ब्राण्डको रुपमा विकास गरिएको छ ।
जसले गर्दा किसानले पनि राम्रो मुल्य पाउन थालेका छन । यसैगरी ताप्ली गाँउपालिका १ कै सुन्तालको व्यवसायिक खेतीमा लागेका उद्धव हमाल पनि ग्रेडिङ छुटियाएर बिक्री गरेको सि ग्रेडको सुन्तालले उचित मुल्य नपाएको गुनासो गर्छन ।
‘ए ग्रेडको सुन्तला प्रतिकिलो ७० रुपैँयामा बिक्री हुन्छ, बि ग्रेडको ५० र सि ग्रेडको सुन्तालको खासै मुल्य हुँदैन,’ उनले भने, ‘जुन सि ग्रेडको सुन्तालको लागि ओरेन्ज जुस सेन्टर तथा ओरेन्ज वाईन बनाउने फ्याक्ट्री चाहियो ।’
सुन्ताल खेती गर्दै आएका कृषकहरुलाई सुन्ताल जोनले सहयोग गरिरहेको छ । जसले गर्दा स्थानीयहरु परम्परागत खेतीको अन्त्य गर्दै व्यवसायिक खेतीमा जुटेका छन ।
तीन वर्ष अघि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्र्तगत सुन्तला जोन घोषणा भएपछि किसानहरुलाई प्राविधिक र प्रविधिको सहयोग मिलेको सुन्ताल जोन सञ्चालक समितिका तोपबहादुर ज्यु ठकुरी बताउँछन । ‘परम्परागत रुपमा सुन्ताल खेती गर्दै आइरहेका किसानले सुन्ताल खेतीको लागि आवश्यक ज्ञान समेत नहुँदा विभिन्न रोगकै कारण घाटा व्यहोर्नु परेको थियो,’ उनले भने, ‘अहिले सुन्ताल खेतीको लागि आवश्यक पर्ने विभिन्न मेशिनरी सहयोग पनि सरकारी अनुदानमा पाउँदै आएका छन ।’ जसले गर्दा उत्पादन समेत बढ्दै गएको छ ।

सञ्चालक समितिका अध्यक्ष ज्यु ठकुरीनै विगत पाँच वर्षअघिदे सुन्तालबाट वार्षिक ७ देखि ८ लाख खर्च खटाएर आम्दामी गर्दै आएका कृषक हुन । ‘ग्रेडिङ गरेर लेवलिङ लगाउनु भनेको सुन्तालको गुणस्तर कायम गर्नु हो,’ उनले भने, ‘गुणस्तरको आधारमा उत्पादन गर्दा मुल्य पनि भनेजति लिन सजिलो हुनेरहेछ ।’
सि ग्रेडको सुन्तालको लागि जुस उद्योग तथा वाई उत्पादन उद्योगको आवश्यकता रहेको किसानहरुको माग छ । ‘जोनलेनै सरकारी अनुदान थपेर सुन्ताल जन्य उद्योगहरु खोल्नु पर्ने वेला आएको छ,’ किसान शाही भन्छन, ‘त्यसको लागि पनि सरकारले जोनमार्फत सहोग गरे हुने थियो, सुन्ताल उत्पादन गर्ने किसानको संख्य बढ्दै गएको छ ।’
ग्रेडिङ गरिएको सुन्ताल खरिदको लागि काठमाण्डौ, विराटनगर, धरान, पोखरा लगायतका व्यपारी समेत आउने गरेको किसानहरुको भनाई छ ।
उदयपुरमा सुन्ताल जोनको क्षेत्र बढ्दै गएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘जोन’ ले उदयपुरको पश्चिमी क्षेत्रमा साविकका गाविस सोरुङ छबिसे, ओख्ले, रुपाटार क्षेत्रमा सुन्ताल खेती किसानलाई आर्कषित गरिरहेको छ । अहिलेको कटारी नगरपालिका र ताप्ली गाँउपालिकामा पर्छन । ५ सय हेक्टर क्षेत्रफल विस्तार गर्ने गरी अहिले सय हेक्टर क्षेत्रफलमा सुन्ताल उत्पादन हुन थालेको सुन्ताल जोनका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत दिपकराज अधिकारी बताउँछन । ‘यस पटक कति उत्पादन भयो भनेर तथ्यङक संकलन गर्ने काम भइरहेको छ,’ उनले भने, ‘मोटामोटी हिसाव गर्दा सय हेक्टरमा १४ सय मेट्रिकटन उत्पादन भएको अनुमान गर्न सकिन्छ ।’
अधिकारीले कुन ग्रेडको सुन्ताला कति उत्पादन भएको भन्ने यकिन तथ्यङ संकलन नभइसकेको भन्दै भने, ‘उदयपुरको सुन्ताल उत्पादन हुने भुभाग र सुन्ताल उत्पादनमा लाग्ने किसानलाई गोलबन्द बनाउँदै लगेका छौ ।’

सुन्ताला उत्पादनको जोनको लागि रौतमाई गाँउपालिकाको २, ३, ४, ५, ६ र ८ नम्वर वडामा समेत विस्तार गर्न लागेको जानकारी दिए। यसैगरी लिम्चुङ गाँउपालिकाको पनि क्षेत्र विस्तार गर्न लागिएको अधिकारीको भनाइ छ । ‘सुन्ताल उत्पादन हुने हावापानी र किसानको पहिचाँन गर्दै गएकाले सुन्ताल उत्पादन वर्षेनी बढ्दै जाने छ,’ उनले पुन भने, ‘त्यसको लागि जोन सञ्चालक समितिनै लागि परेको छ ।’
दश वर्षको लागि छुट्टै सुन्तलाको जोन परियोजना सञ्चालन सुरु भएपछि उदयपुरमा सुन्ताल उत्पादनमा बृद्धि हुने देखिएको छ । उदयपुरको सुन्तला स्वादका दृष्टिले निक्कै राम्रो भएको मानिन्छ । कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार जोन सञ्चालन हुनुभन्दा अगाडी उदयपुरमा दुईसय ५२ हेक्टर क्षेत्रफलमा सुन्तल खेतीहुँदै आएको थियो । अहिले जोन संचान भएपछि ३ सय ५० हेक्टर क्षेत्रफल पुगेको छ ।
ज्ञान केन्द्र उदयपुर का प्रमुख सरोजकान्त अधिकारीका अनुसार तीन हजार पाँच सय ६२ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । गत वर्ष दुई सय ५५ हेक्टर जमिनमा लगाइएको सुन्तला खेतीबाट तीन हजार मेट्रिक टन उत्पादन भएको अधिकारीको भनाइ छ । ‘गत वर्षभन्दा यस वर्ष सुन्ताल उत्पादन बढेको देखिन्छ,’ उनले भने, ‘जोन विस्तार हुँदै गएपछि सुन्ताल उत्पादन बढ्दै जाने छ ।’
सिँचाइ, बजार ढुवानी, नर्सरी स्थापना, कृषि औजार मेसिन रोप्नेदेखि टिप्नेसम्म, विषादीको समेत जोनले सहयोग गर्दै आएको छ ।









