उदयपुर । लगातारको वर्षाले त्रियुगा नगरपालिका लगायत अन्य क्षेत्र प्रभावित भएको छ । त्रियुगा नगरपालिका २ सोनुवा स्थित सुकनाही खोला तीन ठाउँ फुट्दा एक सय विगहा धान खेतमा बालुवा थुपारेका छन् ।
तारानाथ लुइटेलको पोखरी नजिक सहित तीन ठाउँमा खोला फुट्दा सोनुवाको नमूना बस्तीमा पानी पस्दा करिव २० घर डुवानमा परेका छन् । उनीहरुको घरमा चार फिटसम्म पानी जमेको थियो ।
खोलाले बगाएर ल्याएको बालुवाले करिव एक सय विगहा धान खेतमा बालुवा थुपारेले यस वर्ष उत्पादन हुन नसक्ने अवस्थामा छ । वर्षभरी खान पुग्ने भर्खरै लगाएको धान खेतमा बालुवा थुपारेपछि त्यस क्षेत्रका किसान चिन्तित भएका छन् ।
तत्काल बाँध बाधेर पानीको बहाव पुरानै अवस्थामा पुर्याएपनि पुनः पानी परे फेरी फुट्न सक्ने वडाध्यक्ष घमानसिंह खत्रीले बताए । उनका अनुसार नगरपालिकाको सहयोगमा जेसिवीबाट बाँध मर्मत गरेको छ । 
यस्तै त्रियुगा नगरपालिका ३ ठाडी खोला, अस्नाहा खोला लगायतले पनि धानबालीमा बालुवा थुपारेको छ । त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बाढी प्रभावित क्षेत्रको अनुगमन गरी तत्काल गर्नु पर्ने कामको लागि वडाध्यक्षहरुलाई निर्देशन दिइएको छ । 
यस्तै बेलका नगरपालिका १ स्थित त्रियुगा नदिको बहाब बढन गई बेलाहा, करैया, पुरनदह, भागलपुर लगायत क्षेत्रका करिव ९ सय घरधुरी प्रभाबित भएको छ । उक्त क्षेत्रमा नेपाल प्रहरी सहित नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानिय निकाय तथा स्थानीयहरुको सहयोगमा त्यस क्षेत्रमा आवश्यक उद्धार तथा बाँध मर्मत गर्न गरेको छ । 









