सुखिलाल चौधरी, उदयपुर / उदयपुरमा विद्युत सर्ट भैई आगलागी हुँदा ३१ लाख बढीको क्षति भएको छ । आइतबार करिव ८ः३० बजेको समयमा बेलका नगरपालिका ९ का भिम बहादुर विश्वकर्माको घरमा आगलागी हुँदा नगद, सुन चाँदी, अन्नपात, फर्निचरको सामान सहित ३१ लाख बराबरको क्षति भएको छ ।
विद्युतिय सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय रामपुरका इन्चार्ज नविन कुमार सिंहले जानकारी दिए । उनका अनुसार आगलागीबाट विश्वकर्माको काठले बनेको दुई तल्ले घर जलेर नष्ट भएको छ । सिंहले भने, ‘भिम बहादुर विश्वकर्माको घर नजिकैको एउटा घर डोजरले नभत्काएको भए पुरै रामपुर बजारमा नै आगो ध्वस्त हुने थियो ।’
आगो नियन्त्रणको लागि स्थानीय, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले नियन्त्रणमा लिएको थियो । बेलका नगरपालिकामा आफ्नै दमकल नहुँदा चौदण्डीगढी नगरपालिकाको दमकल आगो निभाउन पुगेका थिए ।
बेलकामा आगलागीको घटनापछि स्थानीयवासी नगरपालिकाप्रति टिकाटिपणी गर्न थालेका छन् । उनीहरूले ‘मेयरदेखि वडाध्यक्षसम्मले गाडी चढ्ने, तर एउटा दमकल किन्न नसक्ने’ भन्दै सार्वजनिक आलोचना गर्न शुरु गरेका छन् ।

साधु भाईले फेसबुक स्टाटरमा लेखेका छन्, ‘बेलका नगरपालिकाको ध्यान जाओस : यो कुनै कुना कन्दरा वा कुनै विकट ठाउ हैन, यो एउटा नगरपालिकाको मुख्य बजार क्षेत्र हो, यहा आगलागी भै राखेको छ । यश आगलागी नियन्त्रण गर्न न कुनै बारुणयन्त्र नै छ, न प्रसस्त पानीनै जनप्रतिनिधिहरु लाखौ करोडौंको सालिन मोटरमा सवार गर्न सक्छन । अन्य अनावश्यक बस्तु खरिद गर्न सक्छ । तर, एउटा अति आबस्यक बस्तु खरिद गर्न सक्दैन । हाम्रो नगरपालिका, यो हाम्रो दुर्भाग्य, अझै बेलैमा सोचिएन भने कुनैदिन यस्ता बजार क्षेत्र एकै छिनमा खरानी हुनेछ ।’
बेलकाको रामपुरमा आगलागी भएको ४० मिनेटपछि मात्रै चौदण्डीगढी नगरपालिकाको दमकल घटनास्थल पुगेको थियो । ‘दमकल आईपुग्दा काठको दुईतले घर खरानी भइसकेको थियो ।’
बेलका नगरपालिकाका मेयर दुर्गा थापाले आगलागीको घटना दुखद भएको भन्दै आगलागी नियन्त्रण गर्न सहयोग गर्ने सवैलाई फेसवुक स्टाटस लेख्दै धन्यवाद दिएका छन् । मेयर थापाको पोष्टमा उपेन्द्र थापा लेख्छन, ‘दुखद कुरा हो, अव एउटा दमकल लिनु पर्छ, नगरमा आफ्नै स्रोतसाधन हुँदा धेरै सजिलो हून्छ । हामीले नगरे कस्ले गर्ने अइले नगरे कैले गर्ने ।। हामी गर्छौ हाम्रै पालामा गर्छौ ।’ सरोज अधिकारी पनि मेयरले गरेको पोष्टमा कमेन्ट गरेका छन, ‘दमकल किन्न अनिवार्य देखिया मेयर ज्यू ।।’ बेलका नगरपालिकाका मेयरका प्रेस सल्लाहकार भरत घिमिरेले, ‘दमकल आवश्यक हो तर बजारमा दमकल छिर्ने बाटो छोइन । मापदण्ड विपरित बाटो छ । बजार भित्र २÷४ वटा बाटो छन, जहाँ भएका बाटो थुनिएको छ । रहेको बाटो कालिकाले विगारि दिएको छ भैरहेको बाटो मिचिएर साइकल समेत छिर्न गाह्रो छ ।’ भन्दै कमेन्ट गरेको छ ।
बेलका नगरपालिकामा मेयरले चढ्ने एउटा स्कारपियो छ । जुन ३५ लाख भन्दा बढी मूल्य भएको स्थानीयहरु बताउँछन् । उनीहरुका अनुसार जनप्रतिनिधि लाखौंको गाडीमा हुँइकिन्छन । तर, नगरपालिको अति आवश्कीय साधन मध्ये दमकल एक हो । हाम्रो नगरपालिकामा छैन् । नगरपालिकामा एउटा स्काईभेटर, एक लोडर, दुई ट्रयाक्टर, एक पिकअप भ्यान र वडा अध्यक्षहरुको लागि नौ वटा मोटर साइकल पनि खरिद गरेको छ ।
मेयर दुर्गा थापाले दमकल राख्ने क्षमता नगरपालिकाको नभएको तर्क गरे । उनले भने, ‘दमकल किन्नु भनेको हात्ती पाल्नु बराबर हो, ट्रयाक्टरमा लाग्ने टयाङ्कर किनेर फोहोरा हान्ने मेसिन जडान गरेर वैकल्पिक व्यवस्था गर्नको लागि नगरपालिका लागेको छ । आगामी बजेटबाट ट्रयाक्टरमा लाग्ने टयाङ्कर खरिद गर्नेछौं ।’
यस्तै कात्र्तिक २५ गते चौदण्डीगढी नगरपालिका ६ बेल्टार बजारका स्थानीय सु्वाष राईको दुई तले घरमा आगलागी हुँदा २२ लाख बराबरको क्षति भएको थियो । विद्युत सटै भै आगलागी भएको थियो । आगलागी भएपछि चौदण्डीगढी नगरपालिकामाथि विभिन्न किसिमको टिका टिपणी भएको थियो । दमकलमा पानी नहुँदा नगरपालिकासंगै जोडिएको घरमा आगलागी हुँदा समेत दमकल पुग्न सकेको थिएन्, त्यस समय त्रियुगा नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

स्थानीय व्यवसायी राजेश खतिवडाले आफ्नो फेसबुक वालमा लेखेका छन्, ‘आगलागीका घटना पुनः दोहोरिन नदिन जनचेतना मूलक कार्यक्रमहरू गरिनुपर्छ साथै घर बनाउँदा घरमा पानीट्यांकी अनिवार्य राख्नुपर्ने नियम कडाइका साथ लागू गरिनुपर्छ । नगरपालिकाको दमकललाई पनि चौबिसै घण्टा चुस्त दुरूस्त राखिनुपर्छ ।’
यस्तै चौदण्डीगढीको आगलागी घटनालाई स्थानीय बुद्धिजिवी किशोर ताम्राकारले आफ्नो फेसबुक वालमा यसरी लेखे, ‘आज बेल्टार बजार चौ.न.पा.को कार्यलय पछाडि रहेको घर आगोले निल्दै गर्दा त्यसको रोकथाम र नियन्त्रणको लागि नपामा रहेको दमकल काम लागेन, कारण दमकल रित्तो हुनु । आगो नियन्त्रणमा सशस्त्र प्रहरी बल र आक्समिक रुपमा आएको नेपाली सेनाले ठुलो सहयोग गरेको तर नेपाल प्रहरीको लामो समय सम्मको अनुपस्पतिले केही प्रश्न मनमा उठेको छ । किन शिघ्र प्रहरी आफुबाट १०० मिटर पर पनि आउन नसकेको ? नपा मा ५० भन्दा पनि बढिको संख्यामा कर्मचारि छन् तर उहाँहरुलाई आगोको रापले छोए जस्तो लाग्ने तर बडा न ७ का सदस्य हरिमान कटुवालको साहासलाई सलाम छ । साना मेरा भाईहरु जस्ले सकि नसकि पानी बोकेर सघाए । ती सबैमा सलाम छ, अनि विपत्तको भेला सहयोगको साटो मोबाईल निकालेर फोटो खिच्नेको चेतना देख्दा दुःख मान्नु भन्दा अरु के गर्न सकिन्छ ।’
सुक्खायाम सुरु भएसँगै उदयपुरमा आगलागीका घटना हुन थालेका छन् । ग्रामीण बस्तीमा धेरै आगलागी हुने गरेको छ । जिल्लाका सबै स्थानीय तहसँग आगलागी नियन्त्रणमा लिन सक्ने उपायको व्यवस्था छैन । जिल्लामा ४ नगरपालिका र ४ गाउँपालिका गरी आठ स्थानीय तह छन् । आगलागीका घटना भए नियन्त्रणमा लिन सक्ने दमकल त्रियुगा, चौदण्डीगढी र कटारी नगरपालिकासंग मात्रै छ ।
बाँकी ५ वटा स्थानीय तहसँग अग्नि नियन्त्रणका लागि कुनै व्यवस्था छैन ।









