उदयपुर । अमेरिकन फौजी किरा उदयपुरगढी गाउँपालिकाका किसानका लागि अभिषाप बनेको छ । गाउँपालिकाका विभिन्न वडाको मकैबालीमा लागेको फौजी किराले किसान चिन्तित छन् ।
उदयपुरगढी गाउँपालिका वडा नं. ५, ६ र ७ लगातयका क्षेत्रमा लगाएको करिव ५० हेक्टर क्षेत्रफलको मकैबाली फौजी किराले नष्ट गरेको छ । उक्त वडामा करिव ६०–६५ जना किसानको करिव ५० हेक्टर क्षेत्रफलमा लगाएको मकैबाली नष्ट गरेको उदयपुरगढी गाउँपालिका कृषि शाखा प्राविधिक पारस फुयालले जानकारी दिए । उनका अनुसार उदयपुरगढी गाउँपालिका वडा नं. ५ मौवासीमा पनि फौजी किराले मकै बाली नष्ट गरेको सूचना आएकोले त्यहाँ पनि करिव २५ हेक्टर क्षेत्रफलको मकैबाली नष्ट गरेको जानकारी दिए ।
यस्तै कृषि ज्ञान केन्द्रले नियन्त्रणका लागि विज्ञ सहितको टोली र औषधि तत्काल उदयपुरगढी गाउँपालिका वडा नं. ६ मा पठाई सकिएकोले छर्कने काम बाँकी रहेको फुयालले जानकारी दिए । उक्त वडामा २५ भन्दा बढी कृषकले लगाएको मकैबाली फौजी किराले नष्ट गरेको छ ।
फौजी कीराले मकैको गुबोभित्र पसेर कलिला पात खाने गरेको छ । भर्खर भुईं छोड्दै गरेको मकै, हरियो देखिँदै गरेको चैते धान खेती र तरकारी खेतीमा पनि फौजी कीराको संक्रमण देखिएपछि यहाँका किसान चिन्तित भएका हुन् ।

देशभर लक डाउनको चिन्ता भइ रहेको बेला किसानलाई भने फौजी किराको चिन्ताले सताइएको छ । मेहनत गरेर लगाएको खेती धमाधम नष्ट हुँदै जान थालेपछि किसानलाई लक डाउन भन्दा पनि खेतीको चिन्ताले सताइएको छ । मकै तथा तरकारी जस्ता हिउँदे बाली र डाले घाँसमा फौजी कीराले आक्रमण गरेर क्षति पु¥याउन थालेपछि किसानलाई भोकमारीको चिन्ता थपिएको कृषि प्राविधिक फुयालले बताए ।
कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख नरनाथ रेग्मीका अनुसार बेलका नगरपालिकाको वडानं १, २ र ३, चौदण्डीगढी नपाको ९ र १०, त्रियुगा नपाको ३, ५, ७, १३, १५ र १६, कटारी नपाको ४, ५, ६, १० र रौतामाई गाउँपालिकाको २, ४, ५ र ७ मा संक्रमण देखा परेको छ ।
पशुका लागि लगाएको डाले घाँसहरुमा समेत किराले आक्रमण गरेपछि पशुपालन गर्ने कृषक पनि यसको प्रत्यक्ष सिकार बनेका छन् । १ महिना अघिदेखि सुरु भएको फौजीकीराको प्रकोप नियन्त्रणमा आउन नसकेको उनी बताउँछन् । नियन्त्रणका प्रयास भए पनि पूर्ण सफल भइ नसकेको ज्ञान केन्द्र गाईघाटमा निमित्त प्रमुख रेग्मीले बताए ।
किराको प्रकोप नियन्त्रण गर्न कृषि ज्ञान केन्द्रको प्राविधिक टोलीले स्थलगत अनुगमन गरेर फौजी कीरा हो भन्ने यकिन गरेको रेग्मीले बताए । रेग्मीले भने, ‘केही मात्रामा विषादी समेत उपलब्ध गराएको भए पनि त्यतिले मात्र नपुग्ने भएकाले स्थानीय तहहरूलाई समेत औषधि खरिद गर्नका लागि अनुरोध गरेका छौँ ।’

तपाईको प्रतिक्रिया