काठमाडौं / किरात राई समुदायबाट प्रथम महिला पाइलट बनेकी साहारा चाम्लिङले मंगलबारदेखि व्यवसायिक उडान सुरु गरेकी छन् ।
उदयपुर जिल्लास्थित लिम्चुम्बुङ गाउँपालिका–४ बलम्ता स्थायी घर भएकी चाम्लिङले यति एयर लाइन्सको जहाज उडाउन थालेकी हुन् ।
मंगलबार उनले पहिलो पटक नेपालगञ्ज–भैरहवा दुई सिफ्ट उडान गरेकी छन् । साहाराले फिलिपिन्सबाट तीन वर्षसम्म पाइलटको ट्रेनिङ लिएकी छन् । उनी राई समुदायकै पहिलो महिला पाइलट बनेपछि किरात राई यायोख्खा केन्द्रियको स्थापना दिवसमा सम्मानित भएकी छिन ।


उनी समाजसेवी ज्ञान राईकी छोरी हुन् । ज्ञान राई किरात राई यायोक्खाका उपाध्यक्ष समेत हुन् । सामाजिक कार्यमा क्रियाशील रहँदै राईले आफ्नो छोरीको सपना पुरा भएकोमा खुसी व्यक्त गरे ।
‘छोरीले आजदेखि जहाज उडाउन थालेकी छन,’ उनका बुवाले भने, ‘दुई सिफ्ट उडान भरेर भर्खर मात्रै घरमा आइपुगेकी छन् ।’
सामाजिक कार्यको सिलसिलामा उदयपुर–काठमाडौं गरिरहने ज्ञान राई परिवार काठमाडौंको अनामनगरस्थित घट्टेकुलोमा बसोबास गर्छन् ।

तपाईको प्रतिक्रिया