उदयपुर / दिनरात नभनी देउसभैलो खेलेर संकलन गरेको रकम कमैले मात्र सामाजिक कार्यमा लगाउँछन् । धेरैले वनभोज र मोजमस्तिमै उडाउँछन् । जसले समाजमा बिकृती मात्र फैलाएको छैन् उत्तिकै क्षति पनि पुर्याउने गरेको छ ।
त्यहीँ सामाजिक मुलमन्त्रलाई आत्मसाथ गर्दै उदयपुरको त्रियुगा नगरपालिका ५ स्थित प्रकृति समाज सुधारले यस बर्ष आयोजना गरेको देउसीभैलोबाट संकलित रकम सामाजिक कार्यमा लगानी गर्ने भएको छ ।
संस्थाले संकलन गरेको रकम सहकारीको माध्यमबाट सामाजिक कार्यमा लगानी गर्ने तयारी गरेको सचिब प्रमोद घतानीले बताए । उनले देउसीमा दिएको दानअनुसार सबैलाई सेयर सदस्य बनाएर उनीहरुकै जीवनस्तर उकास्ने गरी केही रकम सहुलियत व्याँजमा र केही टोलछिमेकका समस्यालाई मध्यनजर गरी लगानी गरिने बताए ।
घतानीले भने, ‘देउसीभैलोको रकम साना व्यवसायी तथा उद्यमीहरुका लागि लगानी गर्छौ जसले भोली उसको जीवनमा केहि परिवर्तन आउने आशा राखेका छौ ।’ संस्थाले यस बर्ष देउँसीभैलोबाट संकलन भएको रकममध्ये १ लाख ३३ हजार ६ सय ४० र यसअघिको १ लाख ६० हजार सहकारीमा लगानी गर्ने बाँकी रकम टोल सुधारका सानातिना विकास निर्माणमा खर्च गरिने उनले बताए ।
संस्थाले विगत केहि बर्ष यता तिहारमा सामुहिक देउसीभैलो खेली सामाजिक कार्य गर्दै आएको अध्यक्ष बुद्धिमान तामाङले बताए । देउसीभैलोकै रकमबाट कहिले सडक निर्माण त कहिले सार्वजानिक शौचालय, मठमन्दिर, बिद्यालय, सार्वजानिक चौतारा, खानेपानी लगायतको क्षेत्रमा संस्थाले सहयोग गर्दै आएको उनको भनाई छ ।
उनले भने, हामीले सामाजिक कार्यमा गरेको काम प्रति समाज सन्तुष्ट छ त्यसैले पनि सबैको साथसहयोग रहेको छ । उनले चाडपर्वको समय सबैका लागि महत्वपूर्ण हुने भएकाले संस्थाले ओगटेको टोलभरीमा एकै ठाउँमा साँस्कृतिक कार्यक्रमसहित एकैपटक सामुहिक देउसीभैलो खेलिने बताए ।
‘घरघरमा समयको पनि अभाव सबै जना पनि नभ्याउने भएकाले गाउँभर सामुहिक देउसी खेलिने प्रचार गर्यो अनी सबैजना दान लिएर आउनु हुन्छ,’ तामाङले भने, ‘मुख्य कुरा दानको रकम सदुपयोग भयो, भएन भन्ने हो, हामी देउसीको पैसाबाट कहिले पिकनिक जादैँनौ त्यसैले समुदायको विश्वास छ ।’

तपाईको प्रतिक्रिया