उदयपुर / नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सोमबार देखि सुरु भएको छ । पहिलो दिन सोमबार काग तिहार र मंगलबार कुकुरको पुजा आजा गरि मिठो खानेकुरा दिई मनाईएको थियो । आज लक्ष्मी पुजा धुमधाम साथ मनाईदैछ । तिहारमा काग, कुकुर, गाई, गोरु, दाजुभाइ र दिदी बहिनीका अतिरिक्त बलिराजाको पनि पूजा गर्ने चलन छ ।
यसैगरि यमपञ्चकको तेस्रो दिन आज लक्ष्मीको पुजा आजा गर्दै मनाईदै छ । यमपञ्चकको पाँच दिनसम्म यमराज पनि आफना दैनिक काम स्थगन गरी बहिनी यमुनाकहाँ अतिथिका रूपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ । पछिल्लो समयमा तिहारको विकृतिका रूपमा पटाका पड्काउने प्रचलन समेत बढ्न थालेको छ । पटाकाबाट दुर्घटनासमेत बढ्न थालेको छ । प्राकृतिक रूपमा पनि सयपत्री, मखमली र गोदावरी जस्ता फूल फुल्ने समयमा तिहार पर्व पर्ने भएकाले वातावरण हेर्दै मनमोहक हुन्छ ।
यस्तै गरी जिल्ला प्रहरी कार्यालयले देउसी भैलो निश्चित समय भन्दा उप्रान्त नखेल्न र भुइचम्पा, पटका र आतिसबाजी जस्ता विष्फोटक पदार्थ नखेल्न अनुरोध गरेको छ । यस्तै गृह मन्त्रालयले प्रेस विज्ञप्ती जारी गरी देउसी, भैलो तथा सांस्कृतिक कार्यक्रम रातको ९ बजेभन्दा उप्रान्त नगर्न र नगराउन अनुरोध गरेका छन् ।
गृहमन्त्रालयले सांस्कृतिक कार्यक्रम देउसी, भैलो खेल्ने समय तोकेको भन्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले पनि सोहि अनुसार समय तोकेको छ ।