ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–२, वाक्सामा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । आगलागीबाट पशु चौपाया तथा घरका धनमाल पूर्ण रुपमा नष्ट भएको छ ।
बच्चाले माहुरीलाई आगो लगाउन खोज्दा आगलागी भएको थियो । आगोले नृपबहादुर कार्कीको घर तथा २ वटा भैंसी जलेका छन् । त्यस्तै जीतमाया राईको घर, गोठ र ९ वटा बाख्रा जलेर मरेका छन्, धीरेन्द्र कार्की र अमृतबहादुर कार्कीका पनि घर जलेका छन् ।
आगो नियन्त्रण गर्ने क्रममा एक जना घाइते भएका छन् । घाइते हुनेमा वाक्साका ६५ वर्षीय अमृतबहादुर कार्की रहेको प्रहरीले जनाएको छ । कार्कीका दुवै हात सामान्य जलेका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको स्थानीय बासिन्दाले बताएका छन् ।
मंगलबार विहान ११ः३० बजे शुरु भएको आगलागी अपराह्न ४ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सुचना अधिकारी राजीव श्रेष्ठले जानकारी दिए । घटनास्थल प्रहरी चौकीबाट १० किलोमिटर टाढा रहेकाले तत्काल प्रहरी पुग्न कठिन भएको थियो । स्थानीय र प्रहरी समेतको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।
आगलागीबाट १ करोड हाराहारीमा क्षति भएको अनुमान गरिएको छ । आगलागी पीडितहरु छिमेकी र आफन्तको सहारामा बसेका छन् । पीडितहरुलाई स्थानीय सरकार र सरोकारवाला निकायमा राहत दिलाउन पहल गरिने वडा अध्यक्ष उमेश कार्कीले बताए ।

तपाईको प्रतिक्रिया