उदयपुर/माथिका ६ चोरीका प्रतिनिधि घटनाले सदरमुकाम गाईघाटका प्रहरीलाई कुरी–कुरी गरिरहेको छ । १० महिनाको अन्तरालमा करिव एक दर्जन भन्दा बढीको धनमाल चोरी हुँदा पनि चोर पक्राउ गर्न नसक्नुले प्रहरीको अनुसन्धान गर्ने शैलीमाथि प्रश्न खडा भएको छ ।
माघ १६ गते त्रियुगा नगरपालिका ११ स्थित हिमाली टोलमा एकै दिन तीन पसल चोरी भयो । पहिलो पवित्रा मोबाईल सेन्टरबाट ४० हजार, दोस्रो कुमार किराना पसलबाट ७४ हजार पाँच सय रकम लगे भने सोही राति सगरमाथा फोटो स्टुडियोमा तोडफोड गरे । एकै रातमा तीन पसलमा चोरी हुँदा पनि प्रहरीले चोर पक्राउ गर्नमा कुनै चासो दिएनन् ।
त्यसको केही दिनपछि पुनः विद्युत मार्ग स्थित सोभा टेलर्समा चोर पस्यो । चोरी गर्दा मानिस भएको कोठामा हेन्डल लक गरेर चोरी गर्न खोजे, तर चोर सफल भएन ।
यस्तै गत असार १७ गते राति बैंक रोडमा रहेको चुरिया सप्लार्य एण्ड टेडर्सद्वारा संचालित एक आइएमइको सटर ६ जना चोरहरुले फुटाए । तर, त्यसमा पनि चोरहरुले खासै लैजान पाएनन् । चोरहरुले लगातार २५–३० मिनेटसम्म पनि सटर फुटाएको दृश्य प्रहरीको सिसी क्यामरा फुटेजमा देखिन्छ । तर पनि प्रहरी अपराधिसम्म पुग्न सकेको छैन् । बैंक लाइनमा चोरी गर्दै गरेको भिडियो सिसि क्यामेरामा स्पष्ट रुपमा कैद भएतापनि प्रहरीले कसैलाई पक्राउ नगर्नु र त्यस तर्फ चासो नदिएको व्यवसायीहरुले गुनासो गरे । बजारमा भएका यस्ता चोरीका घटना अहिले पनि व्यवसायीहरुले भुलेका छैनन् । यस्तै बुधबार विहान करिव ४ बजेको समयमा विपी चोक अर्थात नगर प्रहरीहरुको आवत जावत हुने ठाउँमा सटर फोडेर चोरी गर्नु प्रहरी प्रशासनमाथि झन ठूलो प्रश्न उब्जिएको छ । नगर प्रहरी चौकी देखि करिव ढेड सय मिटरको फरकमा रहेको कश्यप मोबाइल पसलमा गत असार १७ गते आइएमइ फुटाएको चोरको समूहले नै चोरेको दृश्य सिसि क्यामरामा देखिन्छ ।
चोरको समूहले पसलको सर्टर फोरी पसलमा भएका करिव ४० लाख बराबरको महंगा मोबाइल चोरेका छन् । मोवाइल पसल संचालक कौशल दाहालका अनुसार राम्रा कम्पनीका मोबाइल सेटहरु सबै चोरी भएका छन् । करिब ४० लाख बराबरको मोबाइल चोरी भएको उनले बताए । उनले भने– ‘पसलमा सिसी क्यामरा रहेको भए तापनि सबै अपरिचित अनुहारका मानिसहले पसलमा चोरी गरेको देखिन्छ ।’
यस्तै कार्तिक ३ गतेको राति त्रियुगा नगरपालिका ११ शिव मार्गको राजेन्द्र महतोको घरमा चोरी गरेछ । सो घरबाट चोरले घरधनीको सुन चाँदी र नगद समेत लगेको थियो भने सोही घरमा डेरा गरी बस्ने इन्जिनियर अजय शंकर लाल कर्णको कोठाबाट सुन, चाँदी र नगद चोरी भएको थियो । चोरले घरधनी महतोको डेढ तोलाको सुनको गरगहना, २० तोलाको चाँदीको गरगहना र ३० हजार रुपैया चोरी गरेको थियो भने सोही घरमा डेरा गरी बस्ने कर्णको कोठाबाट चोरले दुई तोला सुनको गरगहना, ३० तोला चाँदीको गरगहना, नेपाली नगद २० हजार र भारु १५ हजारको साथै खुकुरी तीन थान र एउटा मोबाइल समेत चोरी गरेको थियो । यस्तै गाईघाट बजारमा एक सुन पसलमा पनि चोरले चोरी गरेको थियो ।
माथिका यी घटनाहरुमा चुरिया सप्लायर्स एण्ड टेडर्सको आइएमई, कास्यप मोवाईल पसल र अजिन्द्र महतोको घरमा चोरी भएको प्रकृति एकै किसिमको रहेको छ । चोरले चोर्नको लागि फलाम काट्ने कैचीको प्रयोग गरेको छ । यो एउटा योजनाबद्ध तबरले घटाएको घटना देखिन्छ ।
यो प्रतिनिधि घटना गाईघाट बजारका नागरिकले भुलेका छैनन । प्रहरीले अझै चोरीमा संलग्नलाई पक्राउ गर्न नसक्नुले चोरको मनोबल त बढेको छ नै जनता कति असुरक्षित छन् भन्नेसम्म देखाएको छ । पीडितहरु प्रहरीले गम्भीरता साथ अनुसन्धान नगरेको आरोप लगाउँछन् । ‘प्रहरीको गम्भीरताका साथ अनुसन्धान गरेको देखिदैन् ।’ स्थानीय किराना व्यवसायी कुमार घिमिरेले बताउँछन् ।
गाईघाटमा पाँच स्थानमा सिसी क्यामरा जडान भएपनि अहिलेसम्म यसरी चोरीको घटना बढ्नुलाई व्यबसायीहरुले आफूहरुलाई असुरक्षा भएको चोरबाट पीडित व्यवसायी विजु श्रेष्ठले बताए । यस्तै नगरको मुख्य व्यापारिक केन्द्रमा चोरी जस्तो अपराधिक कार्य बारम्बार भैरहेको प्रति प्रहरी प्रशासनले कुनै सुनुवाई नगरेको लक्ष्मी छापा खानाका संचालक सुनिल महतोको आरोप छ । यस विषयमा जिल्ला प्रहरी प्रमुख चन्द्रदेव राईसंग बुझदा चोरी मुद्धामा सजाय पाएका र केही नयाँ अनुहार भएका व्यक्तिहरुसंग घटनाको बारेमा सोधीखोजी गरिरहेको बताए । गत आर्थिक वर्षसम्म उदयपुरमा २२ वटा चोरीको मुद्धा दर्ता भएको छ ।