उदयपुर, स्थानीय तहको निर्वाचन भएको डेढ वर्ष पुगिसकेको छ । स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरु देखिने काम गर्न अहिले अग्रसर भएकाहरु निशानीको लागि मात्रै भएपनि भ्युटावर निर्माणमा जुटेका छन । सवैको नजरमा प्रष्ट देखिने काम ‘भ्युटार’ निर्माण गर्नु नै हो ।
अहिले पर्यटन प्रर्वद्धनको नाममा भ्युटावर निर्माणमा अधिकांश स्थानीय तह बजेट खर्च गर्ने मेलो मात्रै भएको छ । निर्माण गरिने भ्युटावरका नक्सा बनाएर सामाजिक सञ्चाजलमा पोष्ट गर्ने स्थानीय तहका प्रमुखहरु लागि परेका छन । पर्यटन प्रर्वद्धन गरी सम्बृद्धिको लागि भ्युटावर लेख्न समेत भ्याएका छन ।
उदयपुरका आठ स्थानीयमध्ये चार गाँउपालिकामा भ्यु टावरको प्रतिप्रर्धा नै चलेको छ । उदयपुरगढी, ताप्ली, लिम्चुङबुङ र रौतामाई गाँउपालिका अनिवार्य रुपमा भ्युटावर बनाउन जुटेका छन । जसमा ताप्ली र उदयपुरगढी गाँउपालिकाका निर्माणकै चरणमा प्रवेश गरिसकेका बताउँछन । जुन भ्युटावर फेसन बन्दै गएको छ । ‘आधा कार्यकाल सकिन लागेकाले केही देखिने काम गर्न लागेका छौ,’ ताप्ली गाँउपालिकाका अध्यक्ष उद्धवसिंह थापाले भने, ‘ताप्ली डाँडाँमा भ्युटावर निर्माण गर्नेक्रम चलिरहेको छ ।’
उनले प्रदेश सरकारको १० लाख र ताप्ली गाँउपालिकाको बजेटबाट धमाधम निर्माण भइरहेको जानकारी दिए । ‘सवैभन्दा फरक तरिकाले भ्युटावर निर्माण गरिरहेका छौ,’ उनले भने, ‘मेरो कार्यकालमा जसरी भएपनि सक्नु पर्ने छ ।’
यता उदयपुरगढी गाँउपालिकामा पनि भ्युटावर निर्माणमा जुटेको छ । उदयपुरगढी डाँडाँमै निर्माणको क्रममा रहेको भ्युटावर पर्यटन प्रर्वद्धन वोर्ड र गाँउपालिकाकाले निर्माणमा जुटेको गाँउपालिकाका उपाध्यक्ष सानुकुमारी राउतले बताईन् । ‘केही वर्ष भित्र सम्पन्न हुने गरी निर्माण गरिरहेका छौ,’ उनले भनिन, ‘उदयपुरगढीलाई नेपालको सय पर्यटकीय स्थल मध्ये एक रहेकोले भ्युटावर निर्माणमा जुटेका छौं । सम्भवत एक वर्षभित्रमा सक्ने योजना छ ।’
आठ वटा हिमशृङखला अवलोकन गर्न सकिने गरी लिम्चुङबुङ गाँउपालिका ३ दोवाटे डाँडाँमा एभरेष्ट भ्यु टावर बनाउने तयारी लिम्चुङबुङ गाँउपालिकाले सुरु गरेको छ । चार वर्षभित्र सम्पन्नगर्ने गरी एभरेष्ट भ्युटारको काम थालेको गाँउपालिकाका अध्यक्ष मेजरकुमार राईले बताए । ‘आन्तरिक तथा बाह्य पर्यटन भित्र्याएर लिम्चुङबुङलाई पर्यटकीय क्षेत्र बनाउनको लागि एभरेष्ट भ्युटावर निर्माण गर्न लागिएको हो,’ उनले भने, ‘एभरेष्ट भ्यु टावर जम्मा ७२ फिटा अग्लो हुनेछ, टावरको टुप्पोमा किराती सभ्यता झल्काउने चिन्डो निर्माण गरी बाइनाकुल्लर राखिने छ, टावरको डिजाई समेत भइसकेको छ, अनुमानित १० करोड लाग्ने अनुमान गरिएको छ ।’
अध्यक्ष राईका अनुसार लिम्चुङबुङ पार्कमा रहने भ्युटावरबाट उच्चहिमशिंखला देखिन्छ भने, यता तराईका क्षेत्र हुँदै भातरसम्मअवलोकनगर्न सकिने छ ।
रौतामाई गाँउपालिकामा पनि रौता डाँडाँमा भ्युटावर बनाउने काममा लागि परेको छ । समग्र रौताको पर्यटकीय गुरु योजना बनाउँदै त्यसैमा भ्यु टावर निर्माण नर्गे योजना रहेको गाँउपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले जानकारी दिए । ‘रौतामाईको समग्र पर्यटन विकासको लागि गुरुयोजना बनाउँदै छौ,’ उनले भने, ‘त्यसैमा समावेश गरी रौताडाँडाँमा भ्यु टावर बनाउन लागेका हौ ।’
गाँउपालिकाको दाँजोमा नगरपालिकामा भ्युटावर बनाउन पछि परेका छैनन । चौदण्डीगढी नगरपालिकाले चौदण्डी डाँडाँमा भ्युटावर निर्माण गरिसकेको छ। ‘गएको ०७२ सालदेखिनै भ्युटावर बनाउन थालिएको थियो,’ चौदण्डी नगरपालिका नगरप्रमुख खगेन्द्र राईले भने, ‘हामी स्थानीय तहमा निर्वाचित भएपछि त्यसलाई सम्पन्न गरिसकेका छौ, ३८ देखि ४० लाख खर्च भएको छ ।’
यसैगरी कटारी नगरपालिका पनि बेतेनी डाँडाँमै भ्युटावर बनाउने योजना अघि सारेको नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । ‘कटारीले बेतेनीडाँडाँमा भ्युटावर बनाउने लक्ष्य अघि सारेको छ,’ उनले भने, ‘त्यसको स्टिमेट नबनिसकेकाले लागत ठयाक्कै भन्न सकिने अवस्था छैन ।’
त्रियुगाले चप्पन माथिको जंगलमा भ्युटावर बनाउने योजना बताएको छ भने बेलाका नगरपालिका पनि भ्युटावर बन्ने बनाउने उद्घोष हुँदै आएको छ । पर्यटनका नाममा उदयपुरका डाँडाँभरी भ्युटावर बन्ने स्थानीय तहका जनप्रतिनिधहरुको भनाइ अनुसार देखिन्छ ।’
बजेट सक्ने भ्युटावर
अधिकाँस स्थानीय तहले निर्माण गरिरहेका र गर्न लागेका भ्युटावरले कुनै नयाँपन दिने लक्ष्ण देखाएका छैन । फेसनको रुपमा भ्युटावर निर्माण भएका छन भन्दा फरक पर्दैन। भ्युटावर भएको स्थानसम्म पुग्ने सडक, गएर बस्दा खान बस्नको लागि सेवासुविधा सम्पन्न होटलहरु पनि छैनन । जसको कारण भ्युटार देखाउने विकासे काम हुने पक्का पक्की छ ।
‘जुन स्थानीय तहको मुख्य योजना हे¥यौ भ्युटावर निर्माण छ,’ कटारी नगरपालिकाका सन्तोष कटुवाल भन्छन, ‘जनप्रतिनिधिहरुले गरेको विकासको कामको हेला गरे जस्तो हुने भ्यु टावर मात्र बनाएर पर्यटक आउँदैनन, सडक, खान बस्नको लागि होमस्टे वा होटल लगायतका अन्य पुर्वाधारमा ध्यान दिनु पर्छ ।’
जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले भने, ‘जुन स्थानीय तहका प्रमुख पनि अलिहे भ्युटावरलाई जग्गा माग्न आउने गरेका छन, वन क्षेत्रका जग्गा, खालीचौर दोहन गर्ने काम भ्युटावर निर्माणले गरेको छ ।’
अन्य क्षेत्रको विकासमा खर्चिने लाखौं करर्डौ बजेट गुरुयोजना, भ्युटावर लगायतका कामम खर्चिने संस्कार चलेको बुद्धीजीवीहरुको भनाई छ । ‘जहाँबाट कमिशन लिन सकिन्छ, त्यही काममा जनप्रतिनिहरु आर्षित भएका छन,’ एक स्थानीय बुद्धीजीवीले नाम नखुलाउन आग्रह गर्दै भने, ‘जनप्रतिनिधि आएको ढेड वर्षमा भएका काम हेर्नु सडक, भ्युटावर अनि गुरुयोजना बनाउँदै मोटो बजेट खर्चेका छन ।’

तपाईको प्रतिक्रिया