उदयपुर । त्रियुगा नगरपालिकाको आगामी अनुमानित बजेट १ अर्ब ३८ करोड ७७ लाख रहेको छ । त्रियुगा नगरपालिकाको १७ औं नगर सभाबाट आर्थिक बर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा उपमेयर महेश्वरी राईले उक्त बजेट प्रस्तुत गरेका हुन् ।

त्रियुगा नगरपालिकाको १७ औं नगर सभामा नगर प्रमुख वसन्त कुमार बस्नेतले नगरको नीति तथा कार्यक्रम सार्वजनिक सँगै बजेट प्रस्तुत गर्नुभएको थियो । नगर प्रमुख बस्नेतले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई कार्यन्वयन गर्न नगर उप प्रमुख महेश्वरी राईले आगामी आर्थिक बर्षको अनुमानित बजेट प्रस्तुत गर्नु भएको हो ।
उपमेयर राइले प्रस्तुत गरेको बजेटमा संघिय सरकारको चालुतर्फ ७७ करोड ९५ लाख र पुँजीगत तर्फ ७ करोड ८७ लाख प्राप्त गर्ने अनुमानित गरेको छ ।

यस्तै प्रदेश सरकारको वित्तीय समानीकरण अनुदान २ करोड ३ लाख ४५ हजार र सशर्त अनुदान तर्फ ५ करोड ४६ लाख २४ हजार तथा राजश्व बाँडफाँड तर्फ २३ करोड ४६ लाख ५१ हजार रहेको छ ।

चालु तर्फको आन्तरिक आयबाट १६ करोड ५० लाख र चालु वर्षको बाँकी मौज्दात ५ करोड ४९ लाख ८८ हजार बजेट प्रस्तुत गरिएको छ ।

त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पुरानै कार्यक्रमहरुलाई प्राथमिकतामा राखेको पाइएको छ ।
त्रियुगा नगरपालिकालाई बास्तु शास्त्र, तन्त्र शास्त्र र ज्योतिष विद्याको अध्ययन केन्द्र बनाउने उद्देश्यले त्रियुगा नगरपालिका ७ चकलघाट (नागेश्वरी चौर) मा दक्षिण एसियाली तन्त्र–वास्तु तथा ज्योतिष अध्ययन अनुसन्धान केन्द्र स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

डिजिटल पर्यटन प्रोफाइलदेखि हिल स्टेशन गन्तव्य निर्माणसम्मको परिकल्पना बजेटमा गरिएको छ ।

यस्तै योग, ध्यान तथा प्राकृतिक चिकित्साका माध्यमबाट सकारात्मक सोचको अभिवृद्धि गरी त्रियुगा नगरलाई आरोग्य र अध्यात्मक पर्यटन स्थलको रुपमा प्रबद्र्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

आर्थिक विकास तर्फ डिजिटल माटो परीक्षण देखि आधुनिक चिस्यान केन्द्र स्थापना तथा वैज्ञानिक कृषि बजारको परिकल्पना गरिएको छ ।

अन्डी धानको उत्पादन, संरक्षण र विशेष प्रवद्र्धन कार्यक्रम सहित अदुवा, बेसार, केरा र कफि खेति प्रशोधनसम्मको लागि नीति तथा कार्यक्रम ल्याएको छ ।

तपाईको प्रतिक्रिया