उदयपुर । उदयपुरको कटारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार तथा डिजिटल सुशासनलाई प्राथमिकतामा राख्दै ९७ करोड ४६ लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ ।

आइतबार नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित ९७ करोड ४६ लाख ५ हजार ८५६ रुपौयाँको बजेट सार्वजनिक गरिएको हो । जसमा पुँजीगततर्फ १९ करोड ३९ लाख र चालूतर्फ २५ करोड ५१ लाख ४६ हजार ८५६ रुपैयाँ छ । जिल्लाका आठ स्थानीय तहमध्ये आगामी आर्थिक वर्षको बजेट ल्याउने कटारी पहिलो पालिका हो ।

बजेटका प्रमुख स्रोतमा संघीय सरकारको ससर्त तथा वित्तीय समानीकरण अनुदान, प्रदेश सरकारको अनुदान, आन्तरिक आम्दानी तथा राजस्व बाँडफाँट रहेका छन् । नगरपालिकाले आफ्नो तर्फबाट चालू र पुँजीगत खर्चका लागि ४४ करोड ९० लाखभन्दा बढी विनियोजन गरेको छ भने संघीय सरकारबाट प्राप्त हुने ससर्त अनुदान ४५ करोड १२ लाख रहेको छ ।

नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा युवालाई लक्षित गर्दै ‘स्टार्ट–अप अनुदान’ कार्यक्रम समावेश गरेको छ । बजेट पुस्तिका अनुसार नवीन व्यवसायमा युवालाई आकर्षित गर्न कार्यविधि बनाएर अनुदान उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । त्यसैगरी, सेवा प्रवाहलाई थप चुस्त र प्रभावकारी बनाउन सूचना प्रविधिको विस्तारमा जोड दिएको छ ।

स्वास्थ्य क्षेत्रतर्फ कटारीमा सञ्चालन भइरहेको आयुर्वेद सेवालाई स्तरोन्नति गरी आयुर्वेद अस्पतालमा रूपान्तरण गर्ने योजना अघि सारिएको छ । साथै, वडा नम्बर ११ को गहुँबारीमा पाँच शय्याको कटारी नगर अस्पताल सञ्चालनका लागि आवश्यक आधार तयार पारिने बताइएको छ ।

महाभारत पहाडी क्षेत्रका वडा नम्बर ९, १० र १३ मा वर्षभर सवारीसाधन सञ्चालन गर्न मिल्ने सडक निर्माणका लागि संघ, प्रदेश र नगरपालिकाको समपूरक कोषबाट तीन करोड रुपैयाँबराबरको योजना कार्यान्वयन गरिने बजेटमा उल्लेख छ ।

कटारी बहुउद्देश्यीय पार्क निर्माण सम्पन्न गर्न आवश्यक बजेट सुनिश्चित गरिएको छ भने कटारी बसपार्कलाई आधुनिक बनाइने बताइएको छ । नगरपालिकाले वडा नम्बर ८, ११ र १३ का अधुरा वडा कार्यालय भवन निर्माण सम्पन्न गर्नसमेत आवश्यक स्रोत व्यवस्थापन गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया