उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले आज असार ५ गते शुक्रबारबाट भूमि प्रशासन सेवा सुचारु गर्ने भएको छ । नगरपालिकाले आज एक औपचारिक कार्यक्रम गरी कार्यालयको उद्घाटन गर्दै सेवा संचालन गर्ने भएको छ । चौदण्डीगढी नगरपालिकाको जनता जग्गा सम्बन्धि कामको लागि गाईघाट सदरमुकाम धाउनु पर्ने अवस्थाको आजबाट अन्त्य भएको छ ।

संविधानमा व्यवस्था भएको स्थानीय तहको अधिकार क्षेत्र भित्र मध्ये भूमि प्रशासन सम्बन्धि अधिकार पनि एक हो । संघीय सरकारले हालै जग्गासम्बन्धी ऐन र नियमावलीमा समेत संशोधन गरी स्थानीय सरकारले नियमसंगत ढंगले भूमि प्रशासन सम्बन्धी मालपोत र नापी कार्यालयबाट हुँदै आएका काम स्थानीय सरकार मातहत सञ्चालन गर्ने व्यवस्था गरेको छ । चौदण्डीगढी नगरपालिका सम्भवत मुलुकमै भूमि प्रशासन सेवा दिने दोस्रो नगरपालिका बन्ने छ । त्यसै अनुरुप काठामाण्डौको कागेश्वरी मनोहरा नगपालिकाले पहिलो पटक असार १ गतेबाट सेवा सचालनमा ल्याएको हो ।

यसैगरी चौदण्डीगढी नगरपालिकाले पहिलो प्रयास मै असार ५ गते शुक्रबारबारदेखि नगरपालिकाबाट नै मालपोत तथा नापी कार्यालयबाट हुँदै आएका जग्गा प्रशासनसम्बन्धी कार्यहरू सूचारु गर्ने सार्वजनिक सूचना जारी गरेको छ । सहज, सरल र सुशासन युक्त ढंगले यो सेवा नगरबासीहरूले नगरपालिकाबाटै प्राप्त गर्नेमा सर्वसाधरण ढुक्क छन ।

नगरपालिकाले सूचना प्रकाशित गरी जग्गासम्बन्धी कारोबारको लिखत पारित गर्ने सेवा सञ्चालन गर्न लागेको जनाएको छ । आवास एकाई र गुठी अधिनस्थ जग्गासहितको मोही हकको समेत सेवा दिन लागेको सूचनामा भनिएको छ । नगरपालिकाले भूमि प्रशासन शाखाबाट प्राकृतिक व्यक्तिका बीचमा हुने लिखत पारित गर्ने सेवा सञ्चालन हुन लागेको जानकारी गराएको छ ।

यसअन्तर्गत राजीनामा, हकहिस्सा राजीनामा, दर्ताफारी, सगोलनामा, हकछोडपत्र, दानपत्र, हालैदेखिको बकसपत्र, शेषपछिको बकसपत्र, जग्गासहितको अष्टलोह तथा स्थानीय तहको आफ्नो कार्यक्षेत्रभित्रको भएमा सट्टापट्टा सेवा पनि पर्नेे जनाएको छ ।

अंशवण्डा तथा अंश भरपाई लिखत दिनेछ भने धितो बन्धकी÷दृष्टिबन्धकी सेवा पनि सञ्चालन गर्ने जनाएको छ । गैरजग्गा कारोबारको लिखत सेवाअन्तर्गत अंशवण्डा, अंश भरपाई तथा अंश छोडपत्र, करारनामा, मानो छुट्टिएको, मानो जोडिएको, मञ्जुरीनामा, अख्तियार नामा, बरबहाल, कपाली तमसुक, फलोपभोग, जग्गाकोबाहेकको अष्टलोहसम्बन्धी काम पनि गर्ने नगरपालिकाको सूचनामा उल्लेख छ ।

कसुरजन्य सम्पत्ति नेपाल सरकारका नाममा ल्याउने, जग्गाधनी र मोहीबीच जग्गा बाँडफाँटको सेवा दिने, अपुताली (नामसारी)सम्बन्धी सेवा दिने, प्रतिलिपि जारी गर्ने तथा विवरण संशोधनसम्बन्धी सेवा दिने जनाएको छ ।

नापी सम्बन्धि कार्यहरु, किता काँट तथा किता एकीकरण गर्ने, फिल्ड रेखाङ्कन (जग्गा छुट्याउने), नक्सा आवद्यिक तथा डोर खटाउने लगायतका कार्यहरु अव बेल्टारबाटै हुने भएको छ । चौदण्डीगढी नगरपालिकाको जनता जग्गा सम्बन्धि कामको लागि गाईघाट सदरमुकाम धाउनु पर्ने अवस्थाको आजबाट अन्त्य भएको छ । भूमि प्रशासन कार्यालय पुरानो नगरपालिकामा स्थापना गरेको छ ।

तपाईको प्रतिक्रिया