उदयपुर । प्रादेशिक जिल्ला अस्पताल उदयपुरमा एक सातादेखि एक्स–रे सेवा बन्द हुँदा उपचारका लागि आएका बिरामी तथा सेवाग्राहीहरू समस्यामा परेका छन् । अस्पतालमा एक्स–रे सेवा उपलब्ध नहुँदा दुर्घटना तथा हाडजोर्नीसम्बन्धी समस्या भएका बिरामीहरू निजी अस्पताल वा जिल्लाबाहिरका स्वास्थ्य संस्थामा जान बाध्य भएका हुन् ।

जिल्लाकै प्रमुख सरकारी स्वास्थ्य संस्था मानिने प्रादेशिक जिल्ला अस्पतालमा एक्स–रे सेवा अवरुद्ध भएपछि दैनिक उपचारका लागि आउने सेवाग्राही प्रत्यक्ष प्रभावित भएका हुन् । अस्पताल प्रशासनका अनुसार एक्स–रे मेसिनमा प्राविधिक समस्या आएपछि सेवा बन्द भएको जनाएको छ ।

अस्पताल पुगेका गाईघाटका स्थानीय रामकुमार राई आफ्नो छोराको हात भाँचिएपछि उपचारका लागि अस्पताल पुगेका थिए । तर एक्स–रे सेवा बन्द रहेको जानकारी पाएपछि उनी थप उपचारका लागि विराटनगर जानुपर्ने अवस्थामा पुगेको गुनासो गरे । ‘छोराको हात भाँचिएर अस्पताल आएको थिएँ । यहाँ एक्स–रे सेवा बन्द रहेछ । अब विराटनगर हिडेको हुँ ।’ उनले भने ।

यस्तै, अर्को सेवाग्राही रामुनन्द सदाले पनि अस्पतालमा एक्स–रे सेवा उपलब्ध नभएकाले निजी अस्पतालमा जानुपरेको गुनासो गरे । उनले सरकारी अस्पतालमा आवश्यक सेवा नपाउँदा आर्थिक भार बढेको बताए । ‘डाक्टरले एक्स–रे गर्न भनेपछि अस्पताल आएँ, तर सेवा बन्द रहेछ । बाध्य भएर निजी अस्पताल जानुप¥यो’ उनले भने ।

सरकारी अस्पतालमा भिडियो एक्स–रे सेवामा समस्या आएपछि निजी क्लिनिकहरुले विरामी तान्न अफर माथि अफर ल्याएको छ । जिल्ला अस्पताल उदयपुरमा कार्यरत रेडियोलोजिष्टबाट राजीनामा दिएर आफ्नै निजी स्वास्थ्य संस्था संचालन गर्दै आएका दिपेश यादवले भिडियो एक्स–रे सेवामा १० प्रतिशत छुट दिने घोषणा गरेको छ । आफ्नै क्लिनिक दिपेश हेल्थ केयर सेन्टर प्रा.लि. गाईघाटमा भिडियो एक्स–रे सेवामा १० प्रतिशत छुट दिने घोषणा गरेको छन् । उनले फेसबुकमा स्टाटस लेख्दै ‘‘सरकारी अस्पतालको ओपीडीमा बिरामीको उच्च चाप रहेर धेरैलाई भिडियो एक्सरे गर्न धेरै समय कुर्नु पर्ने अवस्था आएको हुँदा बिहान ११ बजेबाट बेलुकाको ५ बजे सम्म सरकारी अस्पतालबाट त्यही दिन जारी भएको ओपीडी टिकट लिएर आउने बिरामीहरुलाई पेट र गर्भवती महिलाहरुलाई गराउनु पर्ने भिडियो एक्स–रे मा १०% प्रतिशतको छुट हुने छ ।’’

यस्तै भर्खरै संचालनमा आएको उदयपुर विशेषज्ञ पोलिक्लिनिक गाईघाटले पनि फोक्सो र मुटु रोग विशेषज्ञ डा. रेजिना शाही आउने दिनको ओपिडी सेवा निःशुल्क गरेको छ । डा. रेजिना शाही जेष्ठ २७ गते आउने भएको छ ।

जिल्ला अस्पताल उदयपुरका म्यानेजर जयप्रकाश चौधरीले एक सातादेखि एक्स–रे सेवा बन्द रहेको पुष्टि गरे । उनका अनुसार मेसिनमा आएको समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको छ । ‘हामीले मर्मतका लागि पटक–पटक सम्बन्धित पक्षलाई जानकारी गराइरहेका छौँ । सरकारी प्रक्रिया र प्राविधिक कारणले ढिलाइ भएको हुन सक्छ,’ उनले भने ।

प्रादेशिक जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) मुकेश झाले एक्स–रे मेसिन मर्मत प्रक्रियामा रहेको जानकारी दिए । उनले सेवा पुनः सञ्चालनका लागि आवश्यक काम भइरहेको र छिट्टै समस्या समाधान हुने बताए । ‘हाल एक्स–रे सेवा बन्द छ । मर्मतको प्रक्रिया अगाडि बढिरहेको छ । सकेसम्म चाँडो सेवा सञ्चालन गर्ने प्रयासमा छौँ,’ उनले भने ।

जिल्ला समन्वय समिति उदयपुरका प्रमुख तथा जिल्ला अस्पताल उदयपुरका विकास समितिका अध्यक्ष गौरबहादुर विश्वकर्माले एक्स–रे सेवा पुनः सञ्चालनका लागि अस्पताल विकास समितिले आवश्यक निर्णय गरिसकेको बताए । उनका अनुसार मेसिनमा आएको वास्तविक समस्या पहिचान गर्न समय लागेका कारण मर्मत कार्यमा ढिलाइ भएको हो । ‘समितिको बैठकबाट तत्काल मर्मत गर्ने निर्णय भइसकेको छ । के बिग्रिएको हो भन्ने प्राविधिक विषय पहिचान गर्न समय लाग्यो । मर्मतका लागि आवश्यक केही सामान बाहिरबाट ल्याउनुपर्ने भएकाले पनि ढिलाइ भएको हुन सक्छ,’ अध्यक्ष विश्वकर्माले भने ।

प्रादेशिक जिल्ला अस्पताल उदयपुर जिल्लाका सर्वसाधारणका लागि प्रमुख सरकारी स्वास्थ्य सेवा केन्द्र हो । यहाँ दैनिक सयौँ बिरामी उपचारका लागि आउने गर्छन् । यस्ता आधारभूत स्वास्थ्य सेवा लामो समयसम्म अवरुद्ध हुँदा विशेषगरी आर्थिक अवस्था कमजोर भएका नागरिक बढी प्रभावित हुने गरेका छन् ।

तपाईको प्रतिक्रिया