उदयपुर । शिक्षण सिकाइ प्रक्रिया हुबहु कण्ठ गरेर होइन प्रयोगात्मक ढंगले हुनुपर्छ र प्राप्त ज्ञान व्यावहारमुखी हुनुपर्छ भन्ने मुख्य उद्देश्यका साथ त्रियुगा नगरपालिका ३ मोतिगडामा अवस्थित स्ट्याण्डर्ड भिजन एकेडेमीले निर्वाचन प्रक्रियाद्वारा स्कुल क्याप्टेन, उपक्याप्टेन, हाउस क्याप्टेन र क्लास क्याप्टेनको छनौट गरेको छ । एकेडेमीले विगत २ वर्षदेखि नमुना मतदानबाट क्याप्टेन, उपक्याप्टेन, हाउस क्याप्टेन र क्लास क्याप्टेन छनोट गर्दै आएको छ ।
निर्वाचन प्रणाली बारे सामाजिक अध्ययन विषयमा नै रहेकोले त्यसलाई व्यवहारमा उतार्न नमूनाको रुपमा ज्ञान दिने मुख्य उद्देश्यका साथ नमुना निर्वाचन गरिएको एकेडेमीका प्रबन्ध निर्देशक नवराज सिंह ठकुरीले जानकारी दिए । उनका अनुसार जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रतिनिधि डिगम कार्की र रमेश यादवले निर्वाचन प्रणाली बारे कक्षा कक्षामा जानकारी गराएका थिए । निर्वाचन प्रणाली अन्तर्गत मताधिकार भनेको के हो ? मतदान भनेको के हो ? मतदान कसरी गर्ने ? प्रजातान्त्रिक प्रकृयामा जनप्रतिनिधिहरु कसरी निर्वाचित हुन्छन् ? भन्ने लगायतको विषयमा अनुशिक्षण पनि गरिएको निर्वाचन कार्यालय उदयपुरका प्रतिनिधि डिगम कार्कीले जानकारी दिए ।
कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन गर्ने २३१ जना विद्यार्थी मतदाता भएको सो कार्यक्रममा स्कुल क्याप्टेनका लागि २ जना विद्यार्थी बिच प्रतिस्पर्धा भएको थियो भने स्कुल उपक्याप्टेनका लागि ८ जना विद्यार्थी बिच प्रतिस्पर्धा भएको थियो ।

नमुना निर्वाचनमा उत्साहित हँुदै २०३ जना विद्यार्थीले मतदान गरेका थिए । निर्वाचन अनुरुप स्कुल क्यापटेन, उपक्यापटेन र हाउस क्याप्टेनको लागि एक किसिमको र अन्य कक्षागत क्याप्टेनका लागि अर्को गरि २ वटा मतपत्रमा मतदान गरेको थियो ।
स्कुल क्याप्टेन र उपक्याप्टेन, हाउस क्याप्टेन तथा कक्षागत क्याप्टेन पदका लागि विद्यार्थीहरु बिच तिब्र पतिस्पर्धा भएको र आफ्ना प्रतिस्पर्धी सोफिया कार्कीलाई उछिन्दै स्कुल क्याप्टेनका लागि निराजन हाङ्ग राई ९९ मत प्राप्त गरि विजयी भएको निर्वाचन अधिकृत प्रतिज्ञा शाहीले जानकारी दिईन । उनका प्रतिष्पर्धी सोफिया कार्कीले ८९ मत प्राप्त गरेको थियो । स्कुल क्याप्टेनको लागि १५ मत बदर भएको थियो ।
उपक्याप्टेनका लागि सिवानी हमाल ४९ मत प्राप्त गरी विजय हुन सफल भएको थियो । यस्तै उपक्याप्टेनमा श्रेया बराल (४६), रेहान ठकुरी (४३), शिव श्रेष्ठ (१७), रितु श्रेष्ठ (११), रिना कार्की (९), स्मारिका तामाङ (५) मत प्राप्त गरेका थिए । २३ मत बदर भएको थियो ।

रेड हाउस छात्रा तर्फ रोज ठकुरी सर्वाधिक मत १११ मत सहित विजयी भएको छ । यस्तै रेड हाउस छात्र तर्फ रोशन दियाली ८५ मत सहित विजय भएको थियो । ग्रिन हाउस छात्र तर्फ ८६ मत सहित अनमोल कटुवाल, ग्रिन हाउस छात्रा तर्फ ६१ मत सहित क्रिष्टिना खड्का, ब्लु हाउस छात्र तर्फ ६७ मत सहित समिर कार्की, ६६ मत सहित ब्लु हाउस छात्रा तर्फ आयुशा थापा, एल्लो हाउस छात्र तर्फ ७७ मत सहित सुनिल तामाङ विजयी भएको छ । यस्तै एल्लो हाउस तर्फको छात्रामा दिपिका बस्नेत र सुहाना थापाको समान मत आएपछि चिठ्ठा मार्फत टुङ्गो लगाईने निर्वाचन अधिकृत शाहीले जानकारी दिईन् ।
कक्षागत क्याप्टेनमा कक्षा १० मा क्रिष्टि दाहाल निर्विरोध भएकी थिइन भने कक्षा ९ मा मौसम ठकुरी, कक्षा ८ (ए) मा सन्योग राई, कक्षा ८ (वि) मा विनोद मगर, कक्षा ७ (ए) मा मनिस विक, कक्षा ७ (बी) मा पेमा शेर्पा, कक्षा ६(ए) मा राजिव कार्की र कक्षा ६(वि) मा डोमिहाङ्ग राई विजयी भएका छन् ।

आगामी दिनमा विज्ञान तथा प्रविधि क्लब, गणित क्लब, वातावरण क्लब, पत्रकारिता क्लब, खेलकुद क्लब, अनुशासन क्लब लगायत क्लब पनि गठन गर्ने प्रबन्ध निर्देशक ठकुरीले बताए ।

तपाईको प्रतिक्रिया