उदयपुर । प्रथम उदयपुर हुक्केहुक्का महोत्सव–२०८०को उपाधि जोगिदह होमस्टेले चुमेको छ । थारू समुदायको परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले नेपाल थारु संघ (समाजवादी) ले उदयपुरको ज्यामिरेमा आयोजना गरिएको हुक्केहुक्का महोत्सव–२०८० मा जोगिदह होमस्टेले उपाधि चुमेको हो ।

बेहड्वा थारू होम स्टे–१३ द्वितीय स्थान प्राप्त गरेको छ । यस्तै रामजानकी समूह हडिया हुक्केहुक्का महोत्सवमा तृतीय स्थान ल्याएको छ भने शिव शक्ति टोल खेरा सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

विजेता मध्ये प्रथम हुने समूहलाई आयोजकले नगद रू. ५ हजार, द्वितीय हुने समूहलाई ३ हजार, तृतीय हुने समूहलाई २ हजार र प्रमाणपत्र तथा सान्त्वना हुने समूहलाई प्रमाण पत्र प्रदान गरिएको छ ।

नेपाल थारू संघ (समाजवादी) को आयोजनामा चौदण्डीगढी नगरपालिका वडा नं. ९ स्थित पश्चिमटोल, ज्यामिरेमा महोत्सवमा हुक्केहुक्का प्रतियोगीतासमेत गराइएको छ, जसमा १३ वटा टिम सहभागी भएका थिए ।

महोत्सवमा सहभागी हुने टिमहरू थारू सामुदायिक होमस्टे पूर्वटोल जोगीदह, अमृता चौधरीको टोली देवधार, बेहड्वा थारू होमस्टे–१३, अपेक्षा चौधरीको समूह, पदम चौधरी पुर्व टोल ज्यामिरे, सीतादेवी चौधरी पुर्व टोल ज्यामिरे, शिव बाबा मण्डली देवधार, भिम सरदार बाबा कीर्तन मण्डली–९, विपल पञ्जियार समूह ज्यामिरे–९, थारू समुदाय होमस्टे बाल समूह, एकता बाल क्लब मोडिगडा र रामजानकी समूह हडियाले प्रतियोगितामा भाग लिएका थिए ।

आयोजकका अनुसार प्रतियोगितामा भाग लिनेहरूको मुल्यांकन ५ आधारमा गरिएको थियो । जसअनुसार हुकेहुकाको बनोट, हुकेहुकाको मन्त्र, हुकेहुका खेल्ने तरिका, हुकेहुकाको समापन र थारू भेषभूषा÷पहिरणको आधारमा प्रतियोगिताको मुल्यांकन गरिएको थियो । प्रतियोगितामा सहभागी प्रत्येक समूहलाई ५ मिनेटको समय तोकिएको थियो ।

यसका साथै हुक्के हुक्का महोत्सवमा वृहत्त थारू सांस्कृतिक कार्यक्रम पनि राखिएको थियो जसमा विभिन्न समूहहरूले आ–आफ्नो कला प्रदर्शन गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि त्रियुगाको पूर्व मेयर तथा एकीकृत समाजवादीका कोशी प्रदेश अध्यक्ष बलदेव चौधरी रहेका थिए भने जिल्लाका बिशिष्ट ब्यक्तिहरु प्रमुख जिल्ला अधिकारी लगायतका अन्य अतिथिहरु रहेका थिए ।

कार्यक्रमको सहयोगी सस्थाहरुमा स्व. डा. मनोज चौधरी स्मृति प्रतिष्ठान उदयपुर र स्व. जंगलु चौधरी स्मृति प्रतिष्ठान चौदण्डीगढी नगरपालिका ९ ले गरेको थियो ।

थारु समुदायमा किन मनाइन्छ हुक्केहुक्का ?

अन्धन लक्ष्मी घर ढुक
दलिदर भूत बहार हो

अर्थात धनकी देवी लक्ष्मी घरभित्र आओ
भूत, पिचास, नकारात्मक चिज बाहिर जाओ

हिन्दु नेपालीहरुले तिहारको लक्ष्मीपूजाको दिन धनकी देवी लक्ष्मीलाई घर–घरमा भित्र्याइरहँदा तराईमा बसोबास गर्ने आदिवासी थारु समुदायले घर–घरमा हुक्के–हुक्का खेलेर र सुप्पो (नाङ्लो) ठटाएर भूत, पिचास र दलिदर (राक्षस) लाई बाहिर निकालेर लक्ष्मी भित्र्याउने गर्छन् ।

परापूर्वकालदेखि नै धनकी देवी लक्ष्मीलाई भित्र्याउन पूर्वका थारु समुदायले हातमा सन्ठी (जुट निकालिसकेपछि बाँकी रहेको सिन्का) बाट बनाइएको हुक्के–हुक्का खेलेर भित्र्याउँछन् । त्यस्तै पश्चिम नेपालका थारु समुदायले मादल ठोकेजस्तै सुप्पो (नाङ्लो) ठटाउँदै ‘भाग दलिदरी ओत्ती जा लक्ष्मी घरम आ’ (भाग अलिच्छिन टाढा जा लक्ष्मी घरमा आऊ) नारा लगाउँदै लक्ष्मी भित्र्याउँछन् ।

पूर्वका थारु समुदायले लक्ष्मीलाई भित्र्याउन र कुनै किसिमको अनर्थ नलागोस्, घरमा भएका भूत, पिचास र दलिदर (राक्षस) बाहिर जाओस् र धनकी देवी लक्ष्मी भित्र पसुन् भनेर नकारात्मक पक्षलाई पन्छाउन हुक्के हुक्का खेल्ने गरेको थारु संस्कृतिविद् भुलाई चौधरी बताउँछन् ।

उनी भन्छन्, ‘हुक्के हुक्का थारु समुदायको एउटा मौलिक पर्व हो। वर्षभरिमा घरमा लुकेर बसेको भूत, पिचास र दलिदर (राक्षस)लाई सन्ठीमा आगो लगाएर घरबाट धपाउने गरिन्छ । त्यसपछि लक्ष्मीलाई भित्र्याउने गरिन्छ । हाम्रो समाजमा यो चलन प्राचीन हो ।’

लक्ष्मीपूजाको साँझ प्राय थारु समुदायले आ–आफ्नो घरमा÷टोल छरछिमेकमा सनपाटबाट दिउँसो हुक्के हुक्का तयार गर्छन् । उनीहरुले आजको दिन आफ्नो घरमा सनपाट÷जुटबाट (नभए अरुकोबाट मागेर भए पनि ल्याएर) हुक्के–हुक्का बनाएर खेल्ने गर्छन्।

पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिरहा, सर्लाही, रौतहट लगायतका जिल्लामा खेल्दै आएको संस्कृतिविद् चौधरी बताउँछन्। उनी भन्छन्, ‘हुक्के–हुक्का तराईमा बस्ने आदिवासीले त्यतिबेला घनघोर जंगलमा बस्दा भूत, पिचास लगायतका नकारात्मक शक्तिसँग मूक्त रहन र धान चामल, बालीनाली राम्ररी सप्रियोस भनेर यो खेल्ने गरेको छ ।’

यस्तै सनपाटको सन्ठी नहुँदा थारु समुदायमा लक्ष्मी पूजाको दिन खेलिने हुके हुक्का खेल लोप हुने अवस्थामा पुगेको थारु पण्डित शिवशंकर चौधरी बताउँछन् । उनी भन्छन्, ‘सनपाटबाट निर्मित हुके हुक्का थारु समुदायले केही बर्ष अगाडिसम्म खेलेपनि पछिल्लो समयमा युवा पुस्ताले यसको संरक्षण नगर्दा लोप हुँदै गएको छ । पहिलाको जस्तो सनपाट उत्पादन हुँदैन र तालतलैया पनि पुरिन थालेका छन् । युवाहरु कृत्रिमतातर्फ आकर्षिक हुँदै गएका छन् ।’

थारु समुदायको यो संस्कारलाई युवाहरुले बचाउनु पर्ने त्रियुगा नगरपालिका–३, मोतीगडाका किसान नन्दबत्ती चौधरीले बताइन् । उनले भनिन्, ‘ताल तलैया, पोखरीहरु पुरिए । अर्कोतिर सनपाट पनि खासै पाइदैन । अब कसरी खेल्ने यसमा थारु युवाहरु एक भएर संरक्षण गर्नुपर्ने देखिन्छ ।’

परम्परा अनुसार घरको दलिनमा राखेको दियोमा हुके हुक्का सल्काउने गरिन्छ । यसरी सल्काइएको हुक्के हुक्कालाई तीन पटकसम्म देउता घरको चारैतिर घुमी दोबाटो वा खाली चौरमा लगी खेल्ने चलन छ । खेल्दा उनीहरुले यस्तो भन्ने गरेका छन् ।

हुक्के– हुक्का बेहानके नोन बगिया
हुक्के–हुक्के बेहानके तेल बगिया

पुर्वमा थारु समुदायले खेलिने हुक्के–हुक्का । यहाँ हुक्के–हुक्का खेलेर लक्ष्मी भित्र्याउने गरिन्छ ।

किंवदन्ती अनुसार हुक्के हुक्का खेलेको ठुटोलाई तरकारी बारीमा राख्ने गरिन्छ । यसले उब्जनी राम्रो हुने मान्यता रहेको छ । अन्नबाली राम्ररी सप्रियोस् भनी हुक्के हुक्काको बल्न बाँकी एक भाग जम्मा पारी दोवाटोमा जलाउने र बलेको आगोमा तीन पटकसम्म नाघेर आ–आफ्नो घर जाने चलन छ ।

यस्तै एउटा एउटा जलेको हुक्के हुक्का खेत वा बारीमा लगाएको अन्नबालीमा गाड्ने चलन समेत रहेको छ । हुक्केहुक्का खेलिसकेपछि किसानले नयाँ अन्नबाली भित्र्याउने चलन रहेको छ ।

 

तपाईको प्रतिक्रिया