उदयपुर – उदयपुरको गाईघाटमा रहेको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडको नाममा उदयपुरमा कुनै सम्पत्ति नरहेको खुलेको छ । आफ्नै भवन, आफ्नै करोडौंको जग्गा जमिन भन्दै सर्वसाधारण ठग्न माहिर तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडको नाममा उदयपुरको कुनै चल अचल सम्पत्ति नरहेको खुलेको छ ।
गाईघाटको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड र गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर रहेको भवन र त्रियुगा नगरपालिका ४ स्थित रहेको करिव ११ विगहा जमिन नटराज एग्रो प्रा.लि. को नाममा रहेको छ भने त्रियुगा नगरपालिका १५ खाँबुमा कौडीको दाममा जाने जग्गा जमिनमा दश गुण बढी मूल्याङ्कन बढाएर खरिद गरेको करिव एक सय रोपनी जग्गा पनि तुलसी कृषि अनुसन्धान केन्द्रको नाममा रहेको छ । सो जग्गा हदबन्दी भन्दा बढी भएको समेत मालपोत कार्यालय स्रोतले जनाएको छ ।
यस्तै तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष केदारनाथ शर्माको नाममा पनि व्यक्तिगत जग्गा जमिन खरिद भएको खुलेको छ । स्रोतका अनुसार देउरी जलजले लगायत ठाउँमा शर्माको नाममा पनि जग्गा जमिन खरिद भएको खुल्न आएको छ ।
प्रायः व्यक्तिगत र संस्थागत रुपमा खरिद गरिएको अधिकांश जग्गा जमिन तथा सहकारी भवन पनि हिमालय बैंक, माछापुच्छे बैंक लगायत बैंकहरुबाट करोडौ ऋण लिइएको पाइएको छ ।
प्रमुख कार्यालय मोरङको विराटनगरमा रहेको उक्त सहकारीमा समस्या आएको हल्ला सामाजिक सञ्जालमा फैलिएपछि उदयपुरका बचतकर्ताहरूले पनि बचतको रकम फिर्ता गर्न माग गर्दै आन्दोलनमा रहेका छन् ।
त्रियुगा नगरपालिका ११ गाईघाट बजारको हिमाली टोलस्थित ४ तले भवनमा विगत २०७७ पुस ५ गतेदेखि संचालनमा आएको सहकारीले दुई बर्षमा आक्रमक बजार विस्तार गरेको थियो । एउटै व्यक्तिको नेतृत्वमा बहुमुखी सहकारी र ‘गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर’ सञ्चालन हुँदै आएको छ ।
उदयपुरमा झण्डै चार हजार बढी बचत कर्ताको करिव एक अर्वको हाराहारिमा रकम डुब्न लागेको बचतकर्ताहरु बताउने गरेको छ । उदयपुरका ५५ हजारदेखि एक करोड बढीसम्मको बचतकर्ताहरुले रकम जम्मा गरेको पाइएको छ ।
बचतहरुले आफ्नो बचत फिर्ताको माग गर्दै मंगलबारबाट सहकारीको कार्यालय र त्रियुगा नगरपालिका घेराउ गर्दै आएका छन् । त्रियुगा नगरपालिकाको न्यायिक समितिको इजलासले तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड, तुलसी कृषि अनुसन्धान केन्द्र र नटराज एग्रो प्रा.लि. र अध्यक्ष शर्माको नाममा रहेको जग्गा जमिन तीन महिनाको लागि रोक्का गर्न मालपोत कार्यालय उदयपुरलाई पत्रचार गरिएको पाइएको छ ।
यता आइतबार जिल्ला प्रसाशन कार्यालय उदयपुरमा बचत कर्ताको तर्फबाट सुनिल महत्तो लगायत ४ जना र त्रियुगा नगरपालिकाका वडाध्यक्ष सुमन्त कोइराला, कानूनी सल्लाहकार विना पाण्डे, विष्णु खत्री र सहकारीका उदयपुर म्यानेजर सिताराम अधिकारी र एक जना संचालक समितिको सदस्य विच छलफलमा मंगलबारबाट बचत कर्ताको पैसा फिर्ता गर्ने सहमति भएको एक वचतकर्ताले बताएको छ । सोमबार सहकारीको बचत के कति रहेको सोको लेखाजोखा राख्ने र मंगलबारबाट भाखा पुगेको बचत कर्ताको पैसा फिर्ता गर्ने सहमति भएको एक बचत कर्ताले जनाएको छ ।
आन्दोलित बचतकर्ताहरुले भने संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई नै उदयपुरमा झिकाएर छलफल गर्नु पर्नेमा माग गर्दै आएको छ ।