गाईघाट । लामो समयदेखि समस्याका रूपमा रहेको भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन त्रियुगा नगरपालिकाले करिव ११ हजार परिवारको जग्गाा नाप गरेको छ । त्रियुगा नगरपालिकामा परेको निवेदनको आधारमा उनीहरुको जग्गा नाप सम्पन्न भएको हो । त्रियुगा नगरपालिकामा निवेदनको ६० प्रतिशत बढीको जग्गा नाप जाँच भईसकेको छ भने बाँकी वडाहरुमा काम धमाधम भइरहेको छ ।
त्रियुगा नगरपालिकामा दलित भूमिहिन २ हजार ४१ परिवार, भूमिहिन सुकुम्बासी ३ हजार ३ सय ३१ परिवार र अन्य अव्यवस्थित १४ हजार ३ सय ८० गरी १९ हजार ७ सय ५२ परिवारले लालपुर्जाको लागि निवेदन दिएको छ । आवेदन परेको मध्ये त्रियुगा नगरपालिका १, २, ३, ६, १२ र १३ का वडाहरुमा जग्गाको नाप सम्पन्न भएको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले जानकारी दिए । त्रियुगा नगरपालिकाका ६ वडा वडाहरुको अव्यवस्थित, सुकुम्बासी र दलित भूमिहिन गरी ११ हजार बढी परिवारको जग्गा लगत लिईसकेकोले उनीहरु कुनै समय पनि लालपुर्जा पाउन योग्य भएको मेयर चौधरीले बताए ।
त्रियुगा नगरपालिका वडा नं. १ मा एक हजार ९ सय ८२ परिवार, त्रियुगा नगरपालिका २ मा एक हजार ४ सय ७१ परिवार, त्रियुगा नगरपालिका ३ मा २ हजार ९ सय २८ परिवार, त्रियुगा नगरपालिका ६ मा २ हजार १ सय ४३ परिवार, त्रियुगा नगरपालिका १२ मा १ हजार २२ परिवार र त्रियुगा नगरपालिका १३ मा १ हजार ३ सय २५ परिवारको जग्गाको लगत संकलन भएर लालपुर्जा बन्ने क्रममा रहेको मेयर चौधरीले बताए ।
केहि समय रोकिएको जग्गा नाप जाँचको काम पुनः एक हप्ता अगाडीबाट शुरु गरिएको छ । यस पटक एकै पटक वडा नं. १०, ११ र १६ बाट शुरु गरिएको छ । निवेदनको आधारमा हेर्ने हो भने अहिलेसम्म करिव ६० प्रतिशतको जग्गा नाप जाँच भई सकेकोले उनीहरुको लागि राष्ट्रिय भूमि आयोगमा लाल पुर्जा वितरणको लागि सिफारिस गरिएको मेयर चौधरीले बताए ।
सरकार परिवर्तनले सरकारै पिछै भूमि आयोगमा आएको परिवर्तनले त्रियुगा नगरपालिकामा जग्गा नाप जाँचको काम ढिलो हुन गएकोले अहिले राष्ट्रिय भूमि आयोग नै गठन गरेकाले जग्गा नाप जाँच सम्पन्न भएकाहरुको लागि लाल पुर्जाको लागि काम धमाधम अगाडी बढेकोले उनीहरुले लालपुर्जा पाउने मेयर चौधरीले बताए ।
मेयर चौधरीका अनुसार नगरपालिकाले ३ वर्षअघि नै भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्ने नगरबासीको दीर्घकालीन समाधान गर्ने उदेश्यले काम गर्दै आएकोले पनि सरकारमा आएको उतार चढावले अलि ढिलो हुन गएको बताए ।
‘त्रियुगा नगरपालिकाले ३ वर्षअघि ०७६ सालबाटै ऐलानी तथा अव्यवस्थित जमिनमा बसोबास गर्ने नगरबासी र भूमिहीन सुकुम्बासीलाई व्यवस्थापन गर्न कार्यविधि नै पास गरेर काम गरिरहेको छ’ मेयर चौधरीले भने ‘त्यसबेलादेखि नै हामीले कार्यालय खोलेरै भूमि व्यवस्थापनको काम थालेको र अव त्यो सबै काम आयोगले गर्नेछ ।’
नगरपालिकाका हरेक वडामा अहिले ऐलानी र अव्यवस्थित जमिनको नापजाँच र बिबरण संकलन कार्य भईरहेको भन्दै मेयर चौधरीले अब छिट्टै पुर्जा बितरणको कामतर्फ लाग्ने बताए। त्रियुगा नगरले अव्यवस्थित जमिनको छिट्टै समाधान गर्ने आश्वासन दिदै उनले वर्षौँदेखि चासभोग गर्दै आएको जमिनको स्वामित्व नगरबासीलाई दिलाउने बताए ।