उदयपुर । सरकारले ल्याएको कर सम्बन्धी छुटका योजना जानकारी दिने उद्देश्यले आन्तरिक राजस्व कार्यालय लहानले उदयपुरमा कर शिविर संचालन गरेको छ । जिल्ला उद्योग बाणिज्य संघ उदयपुरको आयोजना तथा कर दाता सेवा कार्यालय गाईघाटको समन्वयमा उदयपुर जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरुमा मिसम्याच सम्बन्धी कर शिविर संचालन गरेको हो ।
शिविरमा आर्थिक ऐन २०७८ ले प्रदान गरेका छुट सुविधा उद्योगी व्यवसायीहरुले पाउनको लागि मिसम्याचको बारेमा घुम्ती शिविरको आयोजना गरिएको आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत राजकुमार खतिवडाले बताउनु भयो । आर्थिक ऐनले दिएको छुट अनुसार चैत मसान्त भित्र मिसम्याचमा परेका व्यावसायीहरु कर तिर्न आएमा मिसम्याच भएको रकमको एक दशमलब पाँच प्रतिसत मात्र जरिवाना तिरे पुग्ने छ ।
घुम्ति शिविर विहिबारबाट सुरु भई तिन दिन सम्म चल्ने जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष चुडामणि कार्कीले जानकारी दिए । उदयपुरको हडिया, जोगिदह, रामपुर, बेल्टार बजारहरुमा कर शिक्षा तथा मिस म्यास सम्बन्धी अनुशिक्षण गरिएको छ भने शुक्रबार र शनिबार गाईघाट आसपास, नेपालटार, मुर्कुची, कटारी र घुर्मीमा पनि कार्यक्रम संचालन गरिने संघका अध्यक्ष कार्कीले बताउनुभयो ।
उदयपुरका ३ सय ९५ व्यवसायी मिसम्याचमा परेको छ । सवैभन्दा बढी त्रियुगा नगरपालिकामा परेको छ । आर्थिक वर्ष २०७३÷०७४ देखि आर्थिक वर्ष २०७६÷०७७ सम्म मिसम्याचमा परेका व्यवसायीहरु रहेका छन् । त्रियुगा नगरपालिकामा १३१ व्यवसायी, कटारी नगरपालिकामा ११२ व्यवसायी, चौदण्डीगढी नगरपालिकामा ६६ व्यवसायी र बेलका नगरपालिकामा ४९ व्यवसायी मिसम्याचमा परेका छन् ।
यस्तै रौतामाई मुर्कुचीका १७ व्यवसायी, उदयपुरगढी नेपालटारका १६ व्यवसायी, लिम्चुङबुङ बाराहाका तीन व्यवसायी र ताप्ली रुपाटारका एक व्यवसायी मिसम्याचमा परेको छ ।
मिसम्याचमा अधिकांश २४ लाखदेखि २ करोडसम्म परेका व्यवसायीहरु अधिक रहेको आन्तरिक राजश्व कार्यालय करदाता सेवा कार्यालय गाईघाटका प्रमुख ललित यादवले जानकारी दिए ।
आर्थिक वर्ष २०७३÷०७४ देखि आर्थिक वर्ष २०७६÷०७७ सम्म मिसम्याचमा परेका व्यवसायीहरुलाई चैत्र मसान्तभित्र छुट दिएकोले समयमै कर तिरी ठूलो जरिवानाबाट जोगिन जिल्ला उद्योग वाणिज्य संघले अनुरोध गरेको छ । जिल्ला उद्योग वाणिज्य संघले मिसम्याचको फाइलहरु सच्याउन सहयोग गर्ने अध्यक्ष कार्कीले बताए ।