उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा संचालित गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरमा म्याद नै नभएको सामान बरामद गरेको छ । तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडद्वारा गत असोजमा संचालनमा ल्याइएको गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरमा जिल्ला प्रशासन कार्यालय उदयपुरको अनुगमन टोलीले लेबल नै नभएको सामान बरामद गरेको छ ।
जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलको नेतृत्वले गरेको अनुगमनको क्रममा करिव ५० पोका गुडको लड्डु चाकुमा कुनै लेबल नभएपछि १० हजार जरिवानासहित प्रशासनमा उपस्थित हुन पत्राचार गरेको छ ।गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरमै २० प्याकेट सेतो तिलको लड्डुमा पनि कुनै लेबल नभएकोले समेत पाईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय उदयपुर प्रमुख रमेश दाहालले जानकारी दिए । उनका अनुसार गुडले बनेको चाकु, सेतो तिलको लड्डुमा मिति नै उल्लेख नभएको पाइएकोले सामानहरु जवफ गरिएको बताए । उनका अनुसार नापतौलको काँटा समेत नरहेकोले १० हजार जरिवाना सहित प्रशासनमा उपस्थित हुन भनिएको छ ।
एक महिना म्याद बाँकी रहेको अधिकांश खाद्य सामानहरु पनि सोही गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरमा भेटिएको पनि जनाएको छ । एक महिना म्याद रहेका सामानहरु तुरुन्त फिर्ता गर्न पनि आग्रह गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुख दाहालले बताउनुभयो ।
यस्तै पाथीभारा दाना उद्योगले उत्पादन गरेको गाई बस्तुले खाने ८० बोरा मकैको पिठो पाथीभारा सप्लायर्स डिएमगेटमा पनि लेबल नभएपछि सामान जफत गरी विक्री वितरणमा रोक लगाईएको खाद्य प्रमुख दाहालले बताए ।यस्तै हिमाली टोलमा रहेको सुदिप एग्रोभेटमा पनि गोविन्द ब्राण्डको पशुले खाने ४ बोरा लेबल नभएका मकैको पिठो बरामद गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुख दाहालले बताए । सवै सामानहरुको गुणस्तर चेक जाँचको लागि स्याम्पल लिएर खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर पठाइएकोले त्यसबाट आएको रिपोर्टको आधारमा कारबाही हुने वा नहुने पछि थाह हुने गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुख दाहालले बताए ।
यस्तै थापा सप्लायर्समा चुरोटको लाइसेन्स नभएकोले पनि कारबाही गरिएको छ । अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालय उदयपुरका प्रमुख पार्थराज गौतम लगायतको उपस्थिति रहेको थियो ।