गाईघाट । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाट दिनदिनै विवादमा फस्दै गएको छ । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको आन्तरीक विवाद र चरम गुटवन्धिमा फसेको भन्दै स्वतन्त्र निर्वाचन कमिटी गठन गरेर अधिवेशन गर्न माग गर्दै ७ सय ५७ जना व्यवसायीहरुको हस्ताक्षर सहित चुडामणि कार्कीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय उदयपुरमा ज्ञापन पत्र बुझाएका छन् । वाणिज्य संघमा देखिएको दुई गुटको चरम वेतिथिले संघसंग आवद्ध उद्योगी व्यवसायी सदस्यहरु मर्कामा परेको भन्दै स्वतन्त्र निर्वाचन कमिटी गठन गरेर अधिवेशनको माग गर्दै सप्रजिअ विनोद कुमार पोखरेललाई ज्ञापन पत्र बुझाएका छन् ।
संघका निवर्तमान पदाधिकारीहरुले आफ्नो कार्यकाल सकिएपछि विधान अनुसार समयमा साधारण सभा तथा आधवेशन गराई संघको गतिविधिहरुलाई नियमित तथा चस्त दरुत बनाउनु पर्नेमा सो कार्य नगरेको ज्ञापन पत्रमा उल्लेख छ । संस्थाको विधानको परिच्छेद–६ को दफा ३(ग) को उपदफा १ र २ बमोजिम लेखा परिक्षण गरी साधारण सभाबाट पास भए पछि मात्र सम्बन्धित निकायहरुमा पेश गर्ने तथा कायान्वयन गर्न पर्नेमा व्यक्तिगत इगोको आधारमा आपसमा वादविवाद निकाली अन्यौलता सिर्जना गरेर सरोकारवाला निकायहरुलाई समेत गुमराहमा पारी आफुहरु पदमा टिकिराख्ने मनसायले अनावश्यक रुपमा मुद्धा मामिलाको झझटमा फसाएर संघलाई अनिर्णयको बन्दि बनाएको ज्ञापन पत्रमा उल्लेख छ ।
विशुद्ध उद्योगी व्यवसायीहरुको हकहितका लागि स्थापित संस्थालाई व्यक्तिगत स्वार्थमा दुरुपयोग गरेको, अन्यौलतालाई अनिश्चित कालसम्म थाति राख्ने कि सरोकारवाला निकायहरुको सक्रिय पहलमा तत्काल समस्याको समाधान गरी उपयक्त निकास दिन ज्ञापन पत्रमा माग गरेको छ ।
त्रियुगा उद्योग वाणिज्य संघमा भईरहेको अवैधानिक र अनियमित कार्यहरुको छानविन गरी त्यस्ता कार्यहरुलाई तत्काल रोकी नेपाल सरकारका प्रचलित कानुन अनसार तत्काल कडा भन्दा कडा कदम चाली हाल कार्यसमितिको पदावधि मिति २०७४ श्रावण मसान्तबाटै सकिएको र हामी कुनै पनी जिम्मेवारीमा नरहेको भनी कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुले पद त्यागको घोषणा गरेकोले सो विवादित निवर्तमान समितिले गर्ने कुनै पनि निर्णय एवं कार्यहरु हामी सदस्यहरुलाई मान्य नहने ज्ञापन पत्रमा उल्लेख छ । संघको विधान अनुसार साधारण सदस्यहरुले साधारण सभा, अधिवेशन माँग गर्न पाउने व्यवस्था बमोजिम स्वतन्त्र निर्वाचन मण्डल गठन गरी मिति २०७८ साल बैशाष १५ गते सम्ममा सदस्यता तथा नविकरण शुल्क जम्मा भएका सदस्यहरुलाई मात्र कायम गरी यथासक्दो चाँडो त्रियुगा उद्योग वाणिय संघको साधारणसभा तथा अधिवेशन गराई नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तर गर्ने कार्यका लागि आवश्यक पहलकदमी चालिदिन प्रजिअलाई ज्ञापन पत्र बुझाएका छन् ।
विवादित निवर्तमान समितिले गर्ने कुनै पनि निर्णय एवं कार्यहरु मान्य नहुने भन्दै यथासक्दो चाँडो समस्याको सम्बोधन गर्न माग गरेको छ । सरोकारबालाहरुले हाम्रो यस आग्रहलाई यथासक्दो चाँडो सम्बोधन नभएको खण्डमा हामी तमाम उद्योगी व्यवसायीहरु धर्ना, तालाबन्दी, बन्द हडताल लगायत कार्यक्रमहरु सहित कडा संघर्षमा उत्रन बाध्य हुनेछौं र यसबाट हुनसक्ने क्षतीको जिम्मेवार स्वयं सरोकारवाला निकायहरु नै हुने ज्ञापन पत्रमा उल्लेख गरेको छ ।
ज्ञापन पत्रको बोधार्थ त्रियुगा नगरपालिकाको कार्यालय गाईघाट, नेपाल उद्योग वाणिज्य महासंघ काठमाण्डौ, नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश नं. १ बिराटनगर, जिल्ला प्रहरी कायालय उदयपुर, नेपाल पत्रकार महासंघ उदयपुर र त्रियुगा उधोग वाणिज्य संघ गाईघाटलाई दिइएको छ ।
यस्तै चुडामणि कार्कीको संयोजकमा १७ सदस्य संघर्ष कमिटी पनि गठन भएको छ । यस्तै एक पक्षले मंसिर १७ र १८ गते र अर्को पक्षले पौष ३ गते अधिवेशन गर्ने प्रचार गरेको छ ।