उदयपुर । धान भित्र्याउने समयमा वर्षा भएसँगै खेतमा काटेको धान भिजेर नष्ट भएको छ । मंगलबारदेखि अविरल रूपमा परिरहेको वर्षातका कारण उदयपुरमा धान भिजेर नष्ट भएको हो । खेतमा काटेर सुकाउनका लागि राखिएको धान भित्र्याउन नपाउँदै भिजेर नष्ट भएपछि किसान मारमा परेका छन् । यस्तै बेलका, चौदण्डीगढी, त्रियुगा र कटारी नगरपालिकाहरुको क्षेत्रमा लगाएका ३५ प्रतिशत खेतका धान नष्ट भएको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको छ ।

खेतमा काटेको धान वर्षात्ले भिजेपछि पानी तर्काउन आलीमा राख्दै । तस्विर : भाष्कर चौधरीको फेसबुकबाट

‘वर्षभरि मिहिनेत गरेर भित्र्याउने वेला भएको धान खेतमै डुबेपछि धेरै चिन्ता लागेको छ,’ चौदण्डीगढी नगरपालिका ५ सिवाइँमा ५ कठ्ठा खेतमा लगाएको धानबाली वर्षात्ले भिजाएपछि चिन्तित बनेका दिलबन्धु चौधरीले भने, ‘यसै पनि जग्गा थोरै थियो, एक–दुई दिनमै भित्र्याउने तयारी गरेका थियौँ । झरीले पूरै भिजायो । वर्षभरिको दुःख त खेर गयो–गयो, अब कसरी जीविका चलाउने भन्ने चिन्ता थपियो ।’ पानीमा भिजेको धान कुट्दा धुलोपिठो पर्ने र खान नमिल्ने उनले अनुभव सुनाए ।

त्रियुगा नगरपालिका ३ का किसान शंकर लाल चौधरीको पनि सात आठ कठ्ठा खेतमा लगाएको धान बाली भिजेको छ । ‘वर्ष दिनको दुःख खेर मात्र गएन, धान रोप्दा, गोडमेल गर्दा, काट्दा लागेको पचासौँ हजार पनि डुब्यो । यसै पनि बजारिया चामलमा भर पर्नु पथ्र्ययो । यसपटक त पूर्ण रूपमै खाद्य र बजारको चामल किनेर खानुपर्ने भयो,’ उनले भने ।

बेलका नगरपालिका २ मा खेतमा काटेको धान पानी बग्दै गरेको अवस्था । तस्विर : कविन्द्र श्रेष्ठको फेसबुकबाट

यस्तै बेलका नगरपालिका वडा नं. १, २ र ३ का क्षेत्रमा करिव एक सय विगहा जग्गाको खेतमा काटेर सुकाएको धानबाली नष्ट भएको कुषि ज्ञान केन्द्र उदयपुरका निमित्त प्रमुख महेश चौधरीले जानकारी दिए । उनका अनुसार बेलकाको त्यस क्षेत्रका करिव ५० प्रतिशत हरियो धान पानीसँगै परेको हावाहुरीले धान जमिनमा लडेको छ । चौदण्डीगढी नगरपालिका क्षेत्रमा करिव २० प्रतिशत काटेको धान नष्ट भएको छ भने २५ प्रतिशत बढी हरियो धान नष्ट भएको निमित्त प्रमुख चौधरीले जानकारी दिए ।

कटारी नगरपालिकामा २० प्रतिशत काटेर सुकाएको धान पानीले खेतमै भिज्यो भने १५ प्रतिशत बढी हरियो धानलाई पानीसँगैको हावाहुरीले लडाई दिएको निमित्त प्रमुख चौधरीले जानकारी दिए ।

त्रियुगा नगरपालिकामा केही मात्रामा काटेर सुकाएको धान सहित अनुमानित ३५ प्रतिशत बढी धानबाली नष्ट भएको त्रियुगा नगरपालिका कृषि शाखा प्रमुख माधव राउतले जानकारी दिए । उनका अनुसार त्रियुगा नगरपालिकाको सबैभन्दा बढी वडा नं. २ मा ४५ प्रतिशत धान क्षति भएको छ भने ६ वटा वडाहरुमा अनुमानित ४० प्रतिशतले धानमा क्षति पुगेको छ । त्रियुगा नपा १४,१५, १६ नं. वडामा २५÷२५ प्रतिशतले धानमा क्षति पुगेको छ भने अन्य वडाहरुमा ३० देखि ३५ प्रतिशतले क्षति पुगेको शाखा प्रमुख राउतले जानकारी दिए ।

खेती भित्र्याउने वेला वर्षा भएपछि धानखेतीमै जीवन निर्वाह गर्दै आएका किसानलाई बढी मार परेको छ भने अन्य किसानसमेत मर्कामा परेका छन् । वर्षातका कारण उदयपुर सयौँ किसानको हजार बिघा जमिनको धानखेती भिजेको छ । चौदण्डीगण्डढी नगरपालिका १० हडियाका नन्दीलाल चौधरीको खेतमै काटेको एक बिगाह धान जमिनमा भिजेर नष्ट भएको छ ।

काटेर पाँजा बनाई घर भित्र्याउन खेतमै तयारी अवस्थामा राखिएको धान बारी नै डुब्ने गरी बाढी छिरेर जलमग्न भएको बेलका नगरपालिकास्थित भागलपुरका स्थानीय सन्तु थापाले जानकारी दिए । राती सुत्दा ठीकै थियो अचानक विहान पानी परेछ । झन् बिहानभरी परेको वर्षातले थपिदा बारीमा काटेर राखेको धान कामै नलाग्ने अवस्थामा पुगेको उनले बताए ।

तपाईको प्रतिक्रिया