उदयपुर । चौदण्डीगढी नगरपालिकाको अनुदानमा चक्लाबन्दी खेती गर्ने किसानलाई हाते ट्याक्टर वितरण गरेको छ । चौदण्डीगढी नगरपालिकाको वडा नं १० हडियामा बुधबार एक कार्यक्रमका बिच नगर प्रमुख खगेन्द्र राई, उपप्रमुख रिता कुमारी चौधरी र वडा अध्यक्ष रामकुमार खड्काले संयुक्त रुपमा ट्याक्टर हस्तान्तरण गरेका हुन ।
चक्लाबन्दी खेती अन्तरगत धानवाली पकेट कार्यक्रमलाई नगरपालिकाको कृषि शाखा अन्तर्गत ५० प्रतिशत अनुदानमा उक्त ट्याक्टर बितरण गरिएको वडा अध्यक्ष खड्काले जानकारी दिएका छन ।

प्रति ट्याक्टर २ लाख पर्नेमा नगरपालिकाले एक लाख र कृषकले एक लाख उपलब्ध गराएसंगै बुधबार हस्तान्तरण गरिएको हो । नगरले चक्लाबन्दी खेतीको लागी हाते ट्र्याक्टर खरिद गर्न कुल १२ लाख बजेट बिनियोजन गरेको उपप्रमुख चौधरीले बताएकी छिन ।

चक्लाबन्दी खेतीका लागी जम्मा ९ वटा हाते ट्र्याक्टर खरिदको टेन्डर गरेको नगरले हडियामा ३ वटा हाते ट्र्याकटर बितरण गरेको छ भने बाकी ट्र्याक्टर अन्य ठाउँमा बितरण गरिने बताइएको छ ।

विखण्डित जग्गालाई पुनः समायोजन र पुनर्स्थापन गर्ने प्रक्रियालाई चक्लाबन्दी प्रणाली भनिन्छ । जमिनलाई चक्लाबन्दी गरिएपछि खेती गर्ने प्रणाली नै चक्लाबन्दी खेती प्रणाली हो ।

चक्लाबन्दी खेती गरे किसानलाई उत्पादन लागत कम लाग्ने, प्रति क्षेत्र आय र नाफा वृद्धि हुने, आधुनिक उत्पादन विधि र प्रविधिहरूको प्रयोगमा सहजिकरण हुने, कृषि पूर्वाधार सुधार गर्न सहज हुने, दिगो कृषि र प्राकृतिक संसाधनको प्रभावकारी प्रयोग हुने, व्यवसायिक रुपमा कृषि गर्न सजिलो हुने र कृषि गतिविधि प्रभावकारी हुने कृषि बिज्ञहरु बताउँछन ।

तपाईको प्रतिक्रिया