उदयपुर । धान बालीमा हाल्न युरिया मलको जोहो गर्न उदयपुरका किसान ज्यान जोखिममा राखेर लागी परेका छन् । कृषि सामग्री कम्पनी लिमिटेड गाईघाट, लगायत एग्रोभेटहरुमा मलको अभाव भएपछि उदयपुरका किसान युरिया मल किन्न १३४ किलोमिटर साइकलको यात्रा तय गरेर ल्याउनु परेको छ । 
त्रियुगा नगरपालिका ३ का किसान रामकुमार चौधरीले मल किन्न गाईघाटदेखि लहान ३२ किलोमिटर र लहान देखि भारतको सिमान लौकहा ठाडी ३५ किलो मिटर ओहरदोहर गरेर गरेर मल ल्याएका हुन् । उनलाई ४५ किलो मल लिन जानमात्रै ६७ किलोमिटर लाग्यो भने आउन नै त्यतिनै दुरी । त्यसमाथि भारतबाट नेपाल प्रवेशमा पैसा नदिई जान आउन दिने कुरै भएन भने ठाउँ ठाउँमा नेपाल प्रहरीको किच किच सहेर ल्याउनु परेको गुनासो गरे । उनले भने, ‘लोकहा ठाडी वरै तस्करले ल्याएको मल किन्नु परेको छ ।’
सरकारले किसानलाई बेवास्था गरेका कारण यस्तो अवस्था आएको उनीको भनाइ छ । उनले भने, ‘मल नहाले धान फल्दैनन । धान नफले के खाने के गर्ने हो । मल लिन गएर आयो ठाउँ ठाउँमा झन्झट छ ।’
तीन महिनादेखि मलको पर्खाइमा बसे पनि पर्याप्त मल नाउँदा धान बालीमा मल हाल्न ढिला भएको भन्दै कृषक जोखिम मोलेर भएपनि भारतको लौकहा ठाडीबाट ल्याउनु परेको बाध्यता रहेको अर्का त्रियुगा नगरपालिका ६ का कृषक शिवकुमार चौधरी बताउँछन् । उनले भने, ‘सरकारले किसनाको समस्यालाई कहिलै बुझ्दैन । हरेक वर्ष मलको यस्तै अभाव हुन्छ । यो वर्ष त झन यस्तो कोरोनाको त्रास बिचम ल अभाव भएपछि बाध्य भएर महंगोमा मल किन्नु परिरहेको छ ।’
धान बालीमा हाल्नको लागि चाहिने युरिया मलको अभाव हुँदा उदयपुरका किसानहरुले भारतीय युरिया मल महँगोमा किन्न बाध्य हुनु परेको हो ।
युरिया मलको अभावमा तस्करी गरि ल्याइएको भारतीय युरिया मल अहिले उदयपुरको सदरमुकाम गाईघाटका एग्रोभेटमा किसानहरुले महँगोमा खरिद गर्दै आएका पनि छन् ।
कोरोना सँक्रमणका कारण नेपाल भारत नाका पूर्ण रुपले बन्द रहेको भए पनि भारतबाट लुकिछिपी तस्करहरुले लिएर आएको भारतीय मल १५ सय देखि २ हजारमा किसानहरुलाई बेच्ने गरेका छन् ।
कृषि सामग्रीमा मल सकिएपछि स्थानीय बजारमा मूल्य भन्दा तेब्बर गुणामा मल किन्नू पर्ने परेको उदयपुर कटारी नगरपालिका २ का किसान पन्नालाल अधिकारीले गुनासो गरे । प्रहरीकै मिलोमतोे अबैध मल भित्रिने गरेको स्थानियको आरोप छ । कटारी बजारमा रासायनिक मलको अभाब भए सँगै अहिले कालोबजारी गर्ने गिरोह भारत देखि आउने अबैध मल बजारमा खुले आम तेब्बर मूल्यमा बिक्री भैरहेको छ । कटारी बजारमा खुले आम तेब्बर मूल्यमा बिक्री हुँदा समेत प्रशासन मौन बस्नु शंकास्पद रहेको उदयपुर जिल्ला कृषक महासंघ अध्यक्ष कुशल राउतले बताए ।
नेपालमा सात सय ३८ रुपैयाँमा पाइने युरिया मलको अभाव भएकाले तेब्बर मूल्य तिरेर भएपनि भारतीय युरिया खरिद गर्नुको विकल्प नरहेको कृषकहरुको भनाई छ ।
यहाँका किसानहरुले किन्ने गरेको तस्करमार्फत आएको भारतीय मल भारतीय बजारमा सात सय नेपालीमै पाइन्छ । तर, तस्करहरुले नेपालमा मल अभावको फाइदा उठाउँदै सात सय पर्ने भारतीय मल १५ सय देखि २ हजारसम्ममा लुकिछिपी किसानहरुलाई बिक्री गर्ने गरेका छन् ।
सिरहा र सप्तरीसँग सिमाना जोडिएका विभिन्न नाकाहरुबाट लुकिछिपी तस्करहरुले भारतीय मल साईकलमा लोड गरि ल्याउने गरेका छन् ।
धान बालीमा अहिले नै युरिया मल नहाले उत्पादनमा कमि आउने भएको तथा कतै पनि युरिया मल नपाएकाले २ हजारमा ४५ किलोको भारतीय मल किनेर बालीमा हालेको त्रियुगा नगरपालिका २ का किसान अमित चौधरीले बताए ।
जिल्लामा १४ हजार ७ सय ५० हेक्टर जमिनमा धान खेती गरीएको कृषि ज्ञान केन्द्र उदयपुरले जानकारी दिएको छ ।









