उदयपुर । जिल्लाको चौदण्डीगढी नगरपालिकाको आइतबार सम्पन्न चौंथो नगर सभालाई चार जना वडाध्यक्ष सहित सदस्यहरुले नगर सभा बहिस्कार गरेका छन् ।
आर्थिक वर्ष २०७७÷७८ का नीति तथा वार्षिक कार्याक्रमका लागि वडा परिषदबाट पास भई नगरमा जाने र नगरसभाले त्यसलाई अनुमोदन गर्ने प्राबधान विपरित नगर सभाले पास नगरेको भन्दै चार वडाध्यक्ष सहित सदस्यहरुले असहमति जनाउँदै नगर सभा बहिष्कार गरेका हुन् ।
बहिष्कार गर्नेमा चौदण्डीगढी नगरपालिका वडा नं. २ का वडाअध्यक्ष सन्तोष सुबेदी ‘बलिदान’, वडा नं. ५ का वडाअध्यक्ष देब नारायण चौधरी, वडा नं. ६ का वडाअध्यक्ष कमलध्वज राई र वडा नं. ९ का वडाअध्यक्ष प्रकाश राउत रहेका छन् । उनीहरुले एक संयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै नगरसभा बहिष्कार गरिएको जानकारी गराएका थिए ।
चौदण्डीगढी नगरपालिकामा प्रतिवडा १ करोड विनियोजन गरेको मेयर खगेन्द्र राईले बताए । उनका अनुसार वडागत ५० लाखका दरले र नगरबाट प्रतिवडा थप ५० लाख गरी १ करोड बजेट विनियोजन गरेको बताए । मेयरका अनुसार स्थानीय शासन ऐन विपरित पूर्वाधार भन्दा बढी सामाजिक विकासमा बढी बजेट विनियोजन गरेको देखिएकोले संशोधन गरेर पूर्वाधार तर्फ बजेट विनियोजन गरेको र सो बजेट वडा परिषदले पास गरेको पूर्वाधारतर्फको योजनामा थप गरि दिएको बताए । वडा परिषदले सिफारिस गरेको कुनै पनि योजना कटौती नगरेको मेयर राईले बताए ।
यस्तै वडागत गौरवका १० लाख भन्दा माथिको ५ वटा योजनाहरु छनौट गर्न निर्देशन दिईएपनि केही वडाहरुले प्रायः ५–६ लाखको आयोजनाहरु छनौट गरेर पठाएकोमा केही योजनाहरु संशोधन गरेर १० लाख माथिको पास गरेको मेयर राईले बताए।
संयुक्त प्रेस विज्ञप्ती

तपाईको प्रतिक्रिया