राजेन्द्र महतो, लहान । सिरहाको कल्याणपुर नगरपालिकामा करिव तीन हजार विपन्न परिवारलाई राहत वितरण गरिएको छ । कल्याणपुर नगरपालिका अन्तर्गत रहेका १२ वटा वडामा करिव ३ हजार गरीब तथा विपन्न घर परिवारलाई राहत सामग्री वितरण गरिएको हो ।
विश्व व्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस अर्थात कोविड –१९ को सन्त्रास फैलिदै गएको बेला नेपाल सरकारले गरेको लामो समयको लकडाउनको कारण दैनिक ज्याला मजदुरी गरी दैनिक जिवनयापन गर्दै आइरहेकालाई राहत वितरण गरेको हो । कल्याणपुर नगरपालिका वडा नं. ५ मा २ सय ९९ विपन्नलाई राहत बाड्दै पहिलो चरणको राहत प्याकेज सम्पन्न गरेको मेयर सुर्यनाथ मण्डलले जानकारी दिए । 
राहत वितरण गर्दै मेयर मण्डलले विभिन्न अन्य वडाहरुमा स्थानीय निर्वाचित वडा सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, स्वास्थ्य संस्थाका प्रमुख, विद्यालय व्यवास्थापन समिति अध्यक्ष र स्थानीय सुरक्षा निकायका प्रमुखहरुको रोहबरमा ज्याला मजदुरी गर्ने गरीव तथा विपन्न वर्गलाई राहत वितरण गरिएको मेयर मण्डलले बताएका छन् ।
कल्याणपुर नगरपालिका ५ का वडाध्यक्ष दिपेन्द्र बरबरिया यादवको अगुवाईमा २ सय ९९ जना दलित, सदा, माझी लगायत विपन्न वर्गका परिवारलाई राहत सामग्री स्वरुप चामल १५ केजी., चिनी एक केजी, नुन १ केजी, दाल डेढ केजी, खाने तेल एक लिटर र साबुन २ पिस (नुहाउने ) लगायतका सामग्री वितरण गरेको छ ।
मेयरले कोरोनाबाट बच्न कल्याणपुर नगरबासीलाई भिड भाडमा नजान, महत्वपूर्ण काम नभए बाहिर ननिस्कन भन्दै लकडाउनको पूर्णरुपमा पालना गर्न अनुरोध गरेको थियो ।









