उदयपुर । कोरोना संक्रमण इपिसेन्टर बनेको त्रियुगा नगरपालिका ३ भुल्केका स्थानीयलाई १ नं. प्रदेश सरकारले राहत वितरण गरेको छ । गाउँ नै सिल गरिएपछि भुल्केमा दैनिक उपभोग्य बस्तुको अभाव, संक्रमणको डरले मुस्लिम समुदायको पैसा चल्न छोड्यो , कोरोना संक्रमित क्षेत्रको कहर  लगायत शिर्षकका समाचार नागरिक बहस अनलाइनमा सम्प्रेषण भएपछि सो क्षेत्रका स्थानीयबासीलाई प्रदेश सरकारले राहत वितरण गरेको छ ।
कोरोना संक्रमित क्षेत्र बैशाख ५ गतेदेखि नै सिल गरिएको छ । गाउँ नै सिल गरिएपछि दैनिक उपभोग्य बस्तुको अभाव भएपछि प्रदेश सरकारले राहत वितरण गरेको त्रियुगा नगरपालिका ३ का वडाध्यक्ष अवधेशप्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार राहत स्वरुप प्रति परिवार १० केजी चामल, एक पोका नून, एक केजी दाल, पाँच वटा चाउचाउ, ६ पोका विस्कुट वितरण गरेको बताए । वडाध्यक्ष चौधरीका अनुसार १७ घर आर्मी परिवार सहित चार वटा टोल विकास संस्थामार्फत ३ सय २२ घर घुरी प्रदेश सरकारले पठाएको राहत वितरण गरिएको बताए ।
भुल्केका स्थानीयको अधिकांशको पेशा ज्याला मजदुरी, कृषि पेशा रहेको अवस्थामा लकडाउन र गाउँ नै सिल भएपछि दैनिक उपभोग्य बस्तुको अभाव सृजना हुँदै गएको थियो । गाउँ नै सिल गरेपछि छरछिमेक तथा नातागोतामा समेत कोरोना संक्रमण फैलिने डरले एैचो पैचो माग्ने अवस्था नभएपछि स्थानीयबासी मारमा परेका थिए ।
‘अहिले बाहिर निस्कनुपर्ने अवस्था छैन,’ भुल्के सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लाल मोहम्मद मियाँले भने, ‘सरकारले छिटोभन्दा छिटो थपको परीक्षण र औषधि उपचारको व्यवस्था गरी संक्रमण नियन्त्रण गरिदिए हुन्थ्यो ।’
कोरोना प्रभाबित क्षेत्रका १५ घर थारु समुदाय, ५६ घर मुस्लिम समुदाय र ३ सय ५० घर पहाडे समुदाय गरि ४ सय २१ घर परिवार रहेको भुल्केलाई अहिले सिल गरेको छ । कोरोना संक्रमित क्षेत्र भुल्के गाउँको २५ मिटरको दुरीमा पश्चिम दक्षिणमा नेपाली सेनाको १८ नं. बाहिनी अड्डा पनि रहेको छ ।

तपाईको प्रतिक्रिया