उदयपुर । सगरमाथा द्वारको रुपमा परिचित सिद्धिचरण राजमार्ग शनिबारबाट शुचारु भएको छ । बाढी पहिरोका कारण गत असार २८ गतेबाट उदयपुर सहित माथिल्लो सगरमाथा सोलुखुम्बु, ओखलढुंगा र खोटाङलाई जोडने सिद्धिचरण राजमार्ग मर्मतपछि शुचारु भएको हो ।
उदयपुरको कटारी–घुर्मी खण्डको कटारी नगरपालिका–११ स्थित ठाँटी भञ्ज्याङ र लप्से भिरमा पहिरोले सडक बगाएपछि सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । पहिरोले सडकको ४०० मिटर ट्रयाक नै बगाएपछि एलाइमेन्ट नै परिवर्तन गरेर सडक बनाउँदा केही ढिलाई भएको सडक डिभिजन कार्यालय लहानका प्रमुख विनोद कुमार साहले बताए ।
जटिल भौगोलिक अवस्था कारण सडक मर्मत गरेर चलाउन नमिल्ने भएपछि ठाँटी भञ्ज्याङमा एलाइन्मेन्ट नै परिवर्तन गरेर नयाँ ट्रयाक खोल्नु परेको डिभिजन प्रमुखसाहले बताए । ‘सडक पुरै भत्किएकाले हाइट कटिङ गरेर बेस बसाएर सडक सञ्चालनमा ल्याएका छौं,’ उनले भने, ‘अहिले पनि सडकको दुवै भाग पहिरोको चपेटामा रहेकाले नयाँ ट्रयाक पनि दिगो समाधान भन्ने अवस्था छैन ।’
चार वटा स्काईभेटर सहित रात दिन केही नभनेर अथक प्रयासपछि सडक सञ्चालन गर्न सफल भएको कटारी नगरपालिकाका प्रमुद ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । सडक अवरुद्धसँगै यी जिल्लामा खाद्यान्न लगायतका दैनिक उपभोग्य सामग्री अभाव हुँदै आएको थियो । बिरामीहरुलाई उपचारका लागि आवतजावत गर्नसमेत समस्या हुँदै आएको थियो ।
ठाँटी भञ्ज्याङ क्षेत्रको सडक मर्मतका लागि मात्रै राज्यको बर्सेनि ठूलो धनराशि खर्च भइरहेको छ । स्थानीयहरु समाधानका लागि बिकल्प खोज्न स्थानीय जनप्रतिनिधिले माग गरिरहेका छन् । कुनै समय माथिल्लो सगरमाथा क्षेत्रको ‘लाइफ लाइन’ मानिएको सिद्धिचरण राजमार्ग ठाँटीकै कारण महिनौंसम्म अवरुद्ध हुँदै आएको छ । मध्यपहाडी लोकमार्ग सञ्चालन भएयता सिद्धिचरण ओझेलमा परेको छ । वर्षामा हिलाम्य, पहिरो जानु र हिउँदामा धुलाम्य हुनु सिद्धिचरण लोकमार्गमा सामान्य जस्तै बन्दै गएको छ । यस सडकलाई प्रदेश र संघीय सरकारले विशेष प्रथामिकतामा राखेको पाईदैन ।
२०५६÷०५७ बाट सिद्धिचरण राजर्माग संचालनमा आएको । त्यसपछि बर्सेनि वर्षातको समयमा सडक अवरुद्ध हुँदै आएको छ । कटारी नगरपालिका–११ का वडाध्यक्ष दीपक बुढाथोकीले प्रत्येक वर्ष करोड रुपैयाँका दरले ठाँटी भञ्ज्याङ मर्मत गरिंदै आउँदा पनि दिगो व्यवस्थापन नभएको बताउँछन् । पूर्वापश्चिम राजर्माको सिराहाको मिचैयादेखि सिद्धिचरण कटारी हुँदै ओखलढुङ्गा जोड्ने उक्त सडक सरकारको बेवास्तामा परेको उनको गुनासो छ । मिर्चैया–कटारी २६ किलोमिटर र कटारीदेखि घुर्मीसम्म ४६ किलोमिटर सडकमध्ये अधिकांश भाग कटारी नगरपालिका क्षेत्रमा पर्छ । चुरे पहाडदेखि सुनकोसी किनारको घुर्मीसम्म कटारी नगरपालिबाटै सिद्धिचरण राजर्माग विस्तार भएको छ । कटारी नगरपालिकाकाले सिद्धिचरण राजमामर्गको स्तरोन्नति र दिगो व्यवस्थापनका लागि संघीय सरकारलाई पटकपटक गुहार मागेको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ बताउँछन् । ‘नगरपालिकाबाट सम्भव छैन,’ उनले भने, ‘स्तरोन्नतिका लागि पटक–पटक संघीय सरकारसँग माग गरेको छौं, एसियाली विकास बैंकको सहयोगमा स्तरोन्नति गर्ने भनिएको थियो । अहिले त्यो चर्चा पनि सेलाएको छ ।’
प्रदेश सांसद कला घलेले सिद्धिचरण राजमार्ग प्रदेशको गौरवको योजनामा राखेर निर्माण गर्न प्रदेशको पुर्व बजेट छलफलमा माग गरेको थियो । उनले प्रदेशको वजेटमा सम्बोधन नभए आफु अनशन नै बस्ने बताए पनि अहिले त्यस्तो केही चर्चा छैन् ।
सम्बन्धित समाचार









