उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि एक अर्ब ३७ करोड नौ लाख पाँच हजार २१२ रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ । मंगलबार सम्पन्न नगरपालिकाको २०औँ नगरसभा बैठकमा उपप्रमुख मणिकादेवी दुलालले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।
नगरपालिका प्रमुख कालुमान लामाको अध्यक्षतामा सम्पन्न नगरसभाले पूर्वाधार विकास, कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा विस्तार, शिक्षा सुधार, सामाजिक सुरक्षा तथा पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै बजेट ल्याएको छ ।
प्रस्तुत बजेटअनुसार कुल आय र व्यय दुवै एक अर्ब ३७ करोड नौ लाख पाँच हजार २१२ रुपैयाँ बराबर रहेको छ । कुल बजेटमध्ये चालू तथा प्रशासनिक खर्च तथा ससर्त अनुदानतर्फ ९१ करोड ८५ लाख रुपैयाँ विनियोजन गरिएको छ भने कार्यक्रम तथा पुँजीगत खर्चतर्फ ४५ करोड २४ लाख पाँच हजार दुई सय १२ रुपैयाँ छुट्याइएको छ ।
नगरपालिकाले आगामी वर्षलाई पूर्वाधार निर्माणको वर्षका रूपमा अघि बढाउने योजना अघि सारेको नगरप्रमुख लामाले जानकारी दिए । संघीय तथा प्रदेश सरकारले लगानी नगरेका नगरभित्रका सडकहरू बहुवर्षीय योजनाअन्तर्गत कालोपत्रे गरिने भएको छ । यस्तै, गत आर्थिक वर्षदेखि सञ्चालनमा रहेको सडक ग्राभेल तथा स्तरोन्नति कार्यक्रमलाई निरन्तरता दिँदै प्रत्येक वडामा १५ किलोमिटरका दरले कुल १५० किलोमिटर सडक ग्राभेल तथा स्तरोन्नति गरिने घोषणा गरिएको छ ।
खानेपानी क्षेत्रमा दुई करोड रुपैयाँ विनियोजन गरिएको छ भने चौदण्डीगढी आधारभूत नगर अस्पतालको १५ शय्याको भवन निर्माण आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य राखिएको छ । वडा नम्बर ५ स्थित सुन्दरपुर स्वास्थ्यचौकीका लागि एम्बुलेन्स खरिद गरिने बजेटमा उल्लेख छ ।
सामाजिक सुरक्षालाई समेत प्राथमिकता दिँदै नगरपालिकाले विपन्न मुसहर परिवारलाई प्रतिपरिवार तीन हजार रुपैयाँका दरले चाडपर्व खर्च उपलब्ध गराउने भएको छ । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई पाँच हजार रुपैयाँका दरले चाडपर्व खर्च उपलब्ध गराइनेछ । विपन्न नागरिकको सदगत तथा काजकिरिया खर्च व्यवस्थापनका लागि समेत बजेट विनियोजन गरिएको छ ।
स्वास्थ्यतर्फ मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी तथा मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचार खर्चबापत मासिक पाँच हजार रुपैयाँ उपलब्ध गराइने कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।
कृषि क्षेत्रलाई उत्पादनमुखी र व्यावसायिक बनाउन विभिन्न कार्यक्रम घोषणा गरिएको छ । कृषकहरूले प्रयोग गर्ने कृषि विद्युत् मिटरमा नेपाल विद्युत् प्राधिकरणले लिने पाँच प्रतिशत अतिरिक्त भ्याट नगरपालिकाले व्यहोर्ने भएको छ । कृषि हाटबजार पूर्वाधार निर्माण, खरबुजा खेती प्रवद्र्धन, धान तथा गहुँको बिउमा अनुदान, प्रांगारिक कृषि प्रवद्र्धन कार्यक्रम तथा कृषि मोटर, टनेल र च्यापकटर अनुदानमा वितरण गर्ने योजना छ ।
पशुपालन क्षेत्रको विकासका लागि पशु स्वास्थ्य घुम्ती शिविर सञ्चालन गरिने भएको छ भने नदीजन्य पदार्थ उत्खननबाट प्रभावित क्षेत्रको संरक्षणका कार्यक्रमसमेत सञ्चालन गरिनेछ । शिक्षा क्षेत्रतर्फ नगर बाल शिक्षक, संघीय बाल शिक्षक, लेखा कर्मचारी, विद्यालय सहयोगी तथा सामुदायिक कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराइने भएको छ । शिक्षा सुधारका लागि नगर शिक्षक नियुक्त गरिने, विद्यालय तथा क्याम्पसका विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने र विद्यालय भौतिक सुधार कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ । वडा नम्बर ५ र ९ का मदरसालाई अनुदान प्रदान गरिने व्यवस्था छ ।
पर्यटन तथा सांस्कृतिक क्षेत्रका कार्यक्रम, उज्यालो नगर अभियानसँगै बजेटले पूर्वाधार विकाससँगै कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन तथा सामाजिक सुरक्षालाई समानान्तर रूपमा अघि बढाउने प्रयास गरेको लामाको भनाइ छ ।
नगरपालिकाले सेवा प्रवाह, कृषि उत्पादन र विकास निर्माणमा उत्कृष्ट योगदान पु¥याउने कर्मचारी, कृषक तथा उपभोक्ता समितिलाई सम्मान गरेको छ । नगरसभाको अवसरमा आयोजित कार्यक्रममा आर्थिक सुशासन, पारदर्शिता र सेवाग्राहीमैत्री सेवा प्रवाहमा उल्लेखनीय भूमिका खेलेको भन्दै लेखा अधिकृत महेश रानामगरलाई सम्मान गरिएको हो ।
नगरपालिकाले शून्य बेरुजुतर्फ उन्मुख बनाउन, सहज र झन्झटरहित भुक्तानी प्रणाली विकास गर्न तथा आर्थिक अनुशासन कायम गर्न रानामगरले खेलेको भूमिकाको कदर गर्दै सम्मान गरेको जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत काजिमान राईका अनुसार नगरसभामार्फत १४ जना कर्मचारी, पाँच जना उत्कृष्ट कृषक तथा १० वटा उत्कृष्ट उपभोक्ता समितिलाई सम्मान गरिएको छ ।
सम्मानित कर्मचारीहरूमा प्रशासन शाखाका अधिकृत छैटौँ चक्रप्रसाद आचार्य, आन्तरिक लेखा परीक्षण शाखा प्रमुख दुर्गाप्रसाद आचार्य, महिला शाखा प्रमुख बबिता परियार, वडा सचिव जगदेव चौधरी, प्राविधिक शाखाकी अस्मिता राई, भूमि शाखाका यज्ञराज श्रेष्ठ, अहेव राजकुमार खड्का, नगर प्रहरी सावित्रा कटवाल र किशोर परियार, सवारी चालक रामकुमार चौधरी, कार्यालय सहयोगी रामकुमार रत्न, दिलु मगर तथा विद्युत कर्मचारी सुवास राई रहेका छन्।
कृषि क्षेत्रतर्फ फलफूल कृषक विक्रम वन, पशुपालक कृषक लोकबहादुर थापा, तरकारी कृषक सिताराम चौधरी, बाली कृषक डम्बर बस्नेत तथा उदयीमान युवा कृषक गंगा राई सम्मानित भएका छन्।
त्यसैगरी विकास निर्माणका योजना समयमै तथा गुणस्तरीय रूपमा सम्पन्न गर्ने १० वटा उपभोक्ता समितिलाई पनि नगरपालिकाले सम्मान गरेको छ। प्रत्येक वडाबाट एक–एक उत्कृष्ट उपभोक्ता समिति छनोट गरी सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिए।









